logo
२०८० चैत्र १६ शुक्रवार



बाढी, पहिरो र डुबानबाट क्षति

मुख्य समाचार |


बाढी, पहिरो र डुबानबाट क्षति



चाँदनी हमाल

काठमाडौँ, असार २ गते । नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु-याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको हो । बाजुराकै त्रिवेणाी नगरपालिकाका १२ वर्षीय बालक कमल बुढालाई किन्नी खोलाले बगाउँदा बेपत्ता छन् । यस्तै गोरखाको स्थानीय खोला तर्न खोज्दा एक मजदुरलाई बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, सल्यानमा खहरे खोलाले बगाएको अवस्थामा दुई जनाको शव भेटिएको डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो । दाम्ना गाउँपालिका वडा नम्बर ५ को ठूलो खोलाले बगाएको अवस्थामा ३० वर्षीय गीता खड्काको शव फेला परेको हो । त्यस्तै दाम्ना–४ का ४५ वर्षीय वीरमान विकको शव खानीखोलाले बगाएको अवस्थामा फेला परेको हो ।

मनाङमा पाँच सय विस्थापित
गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका छन् ।”
उहाँका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित हुन पुगेको तामाङले बताउनुभयो । चामेका चार घर पूर्ण रूपमा भत्केका छन् भने पाँचवटा घर डुबाएको छ । बाँकी घर सबै डुबानमा परेका छन् । चामेका विस्थापित परिवारलाई उद्धार गरेर नवनिर्मित जिल्ला कारागारमा सुरक्षित राखिएको छ । ताल गाउँका ६० मध्ये ४८ घरका दुई सय विस्थापित गाउँ छाडेर अलिक माथि डाँडामा नेपाल प्रहरीको चौकीमा बसेका छन् । मनाङको विद्युत् गृह, पाँचवटा काठेपुल र बेलिब्रिज बाढीले बगाएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, ‘‘यस्तो उर्लेर बाढी आएको पहिलो पटक होला, तहसनहस पारेको छ, उद्धारमा जान छ घण्टा लाग्छ, सकिएको छैन ।” मस्र्याङ्दी नदी, स्थानीय घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले जिल्ला हुलाक कार्यालय, स्थानीय आमा समूहले बनाएको सामुदायिक भवन, जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरमा पनि क्षति पु¥याएको छ । लमजुङका केही विद्युत् गृहमा पनि बाढीले क्षति पु-याएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बाढीबाट एक दर्जनभन्दा बढी घर जोखिममा परेको बताउँदै सडक अवरुद्ध छन् भन्नुभयो । सल्यान र पर्सामा बाढी पसेर धान खेत डुबाएको छ ।

राहत र उद्धारमा कठिनाइ
विपत्मा परेकालाई राहत र उद्धारमा सक्रियता जनाउन सरकारले आफ्ना मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, प्रदेश र जिल्लास्थित विपत् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकाय विपत्को विश्लेषण, उद्धार र राहतका लागि जुटेका छन् ।
गृहसचिव जनकराज दाहालले ठाउँठाउँमा बाढीले सडक अवरुद्ध बनेपछि राहत र उद्धार गर्न कठिनाइ भएकोे बताउनुभयो । मङ्गलबार मौसम प्रतिकूल भएकाले हेलिकप्टर मनाङ जान सकेन । त्रिपाल, राहतका सामग्री तयारी अवस्थामा राखिएकाले बुधबार मौसम खुल्नासाथ त्यसतर्फ जाने जानकारी दिँदै उहाँले भन्नुभयो, “हामी हाइ एलर्टमा छौँ, सबै निकाय र स्थानीय तहलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएका छौँ, पहिलेभन्दा यस वर्ष सरकारको तयारी राम्रो छ ।” राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिसँगको समन्वयमा विस्थापितको उद्धार र बेपत्ताको खोजी कार्य भइरहेको बताउनुभयो ।
बाढी र पहिरोका कारण सडक अवरुद्ध भएकाले बुधबार हेलिकप्टरमार्फत राहत र उद्धारका लागि सरकारको टोली त्यस क्षेत्रमा पुग्ने तयारीमा रहेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख तामाङले बताउनुभयो ।

मनसुन अझ कडा
विभागअन्तर्गत रहेको जलवायु विश्लेषण शाखाका मौसमविद् इन्दिरा कँडेलका अनुसार नेपालको गण्डकी प्रदेशमा सोमबारदेखि नै वर्षा भइरहेकाले विपत्को जोखिम बढेको हो । त्यस क्षेत्रका विभिन्न भूभागमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ । मनसुनी न्यून चापीय रेखा बङ्गालको खाडीबाट नजिक सर्ने क्रम जारी रहेकाले पनि अझै एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने सम्भावना रहेको जल तथा विभागले जनाएको छ ।

ठूला नदीमा खतराको तह
बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव निरन्तर बढोत्तरीतर्फ उन्मुख छ । मनसुनको सुरुवात नै पूर्व र मध्यक्षेत्रमा भएकाले सबैभन्दा बढी मध्यक्षेत्रको नारायणी नदीमा अत्यधिक बाढी उर्लिएको बाढी पूर्वानुमान शाखाका प्रखुम विक्रम श्रेष्ठ जुवाले बताउनुभयो । नारायणी जलाधार क्षेत्रमा वर्षा अझै निरन्तर छ । नदीको बाढीले मङ्गलबार बिहानै सतर्कता तह पार गर्दै साँझ खतराको तहको मापन नौ मिटरमाथिको उकालो पार गरिसकेको छ । नारायणगढ र गैँडाकोटको तटीय क्षेत्र डुबानमा परेको छ । नारायणीको बाढीले उग्र रूप लिएपछि त्रिवेणीको गण्डक बाँधको सबै ढोका खोलिएका छन् ।
नारायणीको तटीय क्षेत्र त्रिवेणी, गैँडाकोट, सुस्तालगायतका क्षेत्रका बासिन्दालाई बस्तीबाट अन्य सुरक्षित स्थानमा जान सन्देश पठाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, पाल्पाको रुद्रबेनीको बहाव पनि उच्च रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।
सोमबारदेखि सिङ्गो गण्डकी प्रदेशको आकाशमा कालो बादल मडारिँदै पानी परिरहेको छ । पहाडी इलाका रहेकाले पहिरो जाने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन भनिएको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायतका सहायक नदीमा बहाव बढिरहेको छ । कर्णाली प्रदेशका भेरी क्षेत्रमा पानी परिरहेको छ । उहाँका अनुसार कास्की, लमजुङ पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, त्रिवेणी, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ लगायतका जिल्ला प्रभावित बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?