logo
२०८० चैत्र १६ शुक्रवार



प्रधानमन्त्रीद्वारा यांग्री र लार्के खोलाको तत्काल कार्य सुरु गर्न निर्देशन

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा यांग्री र लार्के खोलाको तत्काल कार्य सुरु गर्न निर्देशन


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न दिर्देशन दिनुभएको थियो ।  राजधानीबासिको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो  प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परिक्षणका लागि केही दिन र पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ ।

त्यसअवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिए । ’वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रै सँग चलाउन सकिन्छ’, बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?