logo
२०८० चैत्र १५ बिहीवार

  दृश्य समाचार  



युनिफाइड अस्पतालमा निःशुल्क सेवा, एक हप्तामै १५० विरामी भर्ना

स्वास्थ्य |
पढ्नै पर्ने |
राष्ट्रिय |


युनिफाइड अस्पतालमा निःशुल्क सेवा,  एक हप्तामै १५० विरामी भर्ना


मुकुन्द गैरे, दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौँ, जेठ २५ गते । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना संक्रमित विरामी उपचार गराउन आउनेक्रम दैनिक रुपमा बढ्दो छ ।


युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले कोरोनाका विरामी नयाँ भवनमा उपचारको लागि आउनेक्रम बढिरहेको जानकारी दिनुभयो ।
निःशुल्क खाना र औषधीसहित कोरोना संक्रमित विरामीलाई उपचार सेवा दिएको उहाँले जानकारी दिनुभयो ।
जुन आर्थिक रुपमा कमजोर हुनुहुन्छ, संक्रमण भएर घरखेत बेचेर उपचार गराउन पर्ने डरमा हुनुहुन्छ, उहाँहरु यस वीर अस्पतालको युनिफाइड अस्पताल आउनुहोस् सरकारले निःशुल्क गरिरहेको डा. गौतम बताउनुहुन्छ ।
अक्सिजन सेवा सुविधासहित एक हप्ता अघि सञ्चालनमा आएको यस अस्पतालमा शुरुमा ५० बेड सञ्चालनमा आए पनि अहिले एक सय ५० भन्दा बढी विरामीले उपचार पाइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले विस्तारै बेडको संख्या र आइसीयूलगायत अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु थप्दै जान थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी गौतमले बताउनुभयो ।
तत्काल एक सय आइसीयू थप गर्न थालेको जानकारी दिँदै अक्सिजन टयाङक र प्लान्ट जडान पनि अबको केही दिनमै हुने भएको छ ।
वीरको अर्को भवनमा उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याउने र अरु भवनमा कोरोना बाहेकका विरामीलाई मात्रै उपचार गराउने र यो भवनमा कोरोना संक्रमितको मात्र कोभिड विशेष अस्पतालको रुपमा उपचार गराइनेछ ।
उहाँका अनुसार यस सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ ।
यो भवन खासगरी विरामीको शल्यक्रियाको लागि मात्र बनाएको भए तापनि अहिले देखिएको कारोनाको महामारीलाई मध्यनजर गरेर कोभिड अस्पताल बनाइएको हो ।
युनिफाइड अस्पतालबाट देशै भरका अस्पतालसँग समन्वय गरिने भएको छ । अन्य सरकारी, निजी र सामुदायिक अस्पतालमा कोभिडका विरामीको अवस्थाबारे यस अस्पतालबाट समन्वय गरी विरामीको उपचार गर्ने व्यवस्थासँगै दैनिक अस्पतालको रिपोर्टिङ वीरको युनिफाइट अस्पतालबाटै हुनेछ । कस्तो अवस्थाको विरामीलाई कुन अस्पतालमा रिफर गर्नेदेखि व्यवस्थापनको काम यहीँबाटै हुने उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप