logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै

मुख्य समाचार |


कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै
फाइल तस्बिर


देवबहादुर कुँवर

काठमाडौँ, जेठ २५ गते । कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन ओरालो लाग्न थालेको छ तर अझै जोखिम भने कम भइनसकेको अधिकारीहरूको भनाइ छ । मुलुकका ७५ जिल्लामा जारी निषेधाज्ञासँगै सरसफाइ, सचेतना, स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन र आवश्यक सतर्कताका कारण सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो । देशभर दैनिक नौ हजारको हाराहारीसम्म पुगेको सङ्क्रमण अहिले तीन हजारको हाराहारीमा छ ।
गृह मन्त्रालयले कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गए पनि जोखिम भने यथावत् रहेको स्पष्ट पारेको छ । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण बस्तीमा कोरोना सङ्क्रमण फैलिन थालेको छ । ती बस्तीमा पीसीआर परीक्षण पनि कम हुने गरेको पाइएको छ ।
कोरोना सङ्क्रमणको ‘हब’ मानिएको काठमाडौँ उपत्यकालगायत बाँके, सुर्खेत, कैलाली, पर्सा र कास्की जिल्लामा सङ्क्रमण दर केही घटेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सङ्क्रमण दर घटे पनि कोरोना महामारीको जोखिम टरिनसकेको बताउनुभयो ।
“सुरुसुरुमा बाँकेमा सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारसम्म पुग्थ्यो, मृत्यु दैनिक १८ देखि २० जनासम्म रह्यो”, उहाँले भन्नुभयो, “तुलनात्मक रूपमा केही घटे पनि जोखिम यथावत् छ । छ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । डेढ सयको पीसीआर गर्दा ९० जनामा सङ्क्रमण देखिने गरेको छ ।”
वैशाख १३ गते पहिलो पटक बाँकेमा र दोस्रो दिन १४ गते सुर्खेत जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएकाले पनि जिल्लाभित्रको भन्दा बाहिरबाट उपचार गर्न आउनेको सङ्ख्या धेरै छ । यी जिल्लामा पनि सङ्क्रमण दर घटेको छ । सहरबजारको तुलनामा ग्रामीण क्षेत्रमा सङ्क्रमणको जोखिम बढेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । विशेष गरी बाक्लो बस्तीसँगै स्वास्थ्य सरसफाइ र मापदण्ड पालना नहुने भएकाले ग्रामीण क्षेत्रमा जोखिम बढ्ने सम्भावना छ ।
उहाँका अनुसार सुर्खेतमा दैनिक आठ सयदेखि एक हजारमा कोरोना सङ्क्रमण देखिन्थ्यो । मृत्यु सङ्ख्या दैनिक १० सम्म पुग्यो । हाल सङ्क्रमितको सङ्ख्या दैनिक एक सयको हाराहारीमा छ । द्दयो सङ्ख्या पीसीआर परीक्षणको ५० प्रतिशत हो ।
सहरी क्षेत्रभन्दा ग्रामीण बस्तीमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय सचेत नागरिक र गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिँदै आएको छ । त्यस्तै काठमाडौँ जिल्लामा पनि सङ्क्रमण दर दैनिक नौ सयको हाराहारीमा झरेको छ । कास्की, ललितपुर, पर्सा, चितवन, रुपन्देहीमा दैनिक एक सयदेखि ३५० जनासम्म सङ्क्रमित भेटिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयका अनुसार बागमती प्रदेशमा कोरोनाको उच्च जोखिम यथावत् छ । लुम्बिनी, प्रदेश १, गण्डकी, सुदूरपश्चिम, कर्णाली, प्रदेश २ मा पनि जोखिम अपेक्षित रूपमा घटेको छैन । निको हुनेको दर ८४ प्रतिशतको हाराहारीमा पुगेको छ । पीसीआर तथा एन्टिजेन परीक्षणको तुलनामा १५.१७ प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ ।
दोस्रो लहरका कारण प्रभावित जिल्लामा जारी निषेधाज्ञासँगै सामाजिक सुरक्षासम्बन्धी मापदण्डको सफल कार्यान्वयन, सरसफाइ–जनचेतना र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको अथक प्रयासबाट केही नियन्त्रणमा आएको भनाइ सरकारी अधिकारीको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको जोखिम सहरदेखि गाउँसम्म रहेको बताउनुभयो । यसको नियन्त्रणका लागि सरकारले हर प्रयास जारी राखेकाले असारको दोस्रो हप्तासम्ममा केही सुधार आउने अपेक्षा गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अनुभवमा कोरोनाविरुद्धको खोप लगाएका सङ्क्रमितमा स्वास्थ्य खतरा, पीडा र क्षति कम देखिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?