logo
२०८० चैत्र १५ बिहीवार

  सरोकारवाला र विज्ञ भन्छन्  



जारी निषेधाज्ञा अझै कडा गरौं, असारदेखि खोलौं

स्वास्थ्य |
पढ्नै पर्ने |


जारी निषेधाज्ञा अझै कडा गरौं, असारदेखि खोलौं


मुकुन्द गैरे
काठमाडौं, जेठ २४ गते । नेपालमा कोरोनाको दोस्रो लहर देखिएसँगै निषेधाज्ञा जारी भएको डेढ महिना पुग्दै छ । सङ्क्रमणदर अपेक्षित रुपमा नघटेको कारण विनाकाम बाहिर हिड्डुल गर्न कडाइ गरिएको छ ।छिमेकी देश भारतको नयाँ दिल्ली लगायत शहरमा कोरोनाको दर ओरालो लागेसँगै निषेधाज्ञा खोल्ने बताइएको छ । यसैबीच नेपालमा निषेधाज्ञा कहिले खुल्छ भन्ने आममानिसको चासो बढेको छ ।
जनस्वास्थ्य विज्ञ र सरोकारवाला निकायहरुले निषेधाज्ञालाई धेरै लामो समयसम्म लैजान नहुने बताएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुन जारी निषेधाज्ञालाई केही हप्ता कडा गर्ने र मापदण्ड अपनाएर खुला गर्नुपर्ने बताउनुहुन्छ ।
सरकारले सुरुको चरणमा निषेधाज्ञा लगाउन अलि ढिला र कोरोना परीक्षणदर कमी गरेकोले पनि अपेक्षित नतिजा आउँन नसकेको उहाँ बताउनुहुन्छ ।
विगतको समीक्षा गर्दै कोरोना परीक्षण दर बढाउने र जारी निषेधाज्ञालाई केही समय कडाई गरेमा कोरोनाको सङ्क्रमणदर घट्ने उहाँको विश्वास छ ।
अव कोरोनाको दर विस्तारै ओरोलो लागेकोले आममानिसले पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सङ्क्रमण हवात्तै कमी आउने जनस्वास्थ्य विज्ञ पुन बताउनुुहुन्छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जिडी ठाकुर पनि जारी निषेधाज्ञालाई कडाइ गर्ने र सङ्क्रमितको सम्पर्कमा आएकाको कन्टयाक टेसिङलाई प्राथमिकताका साथ गरियो भने अवको तीन हप्तामा कोरोना सङ्क्रमणदर हवात्तै तल झर्ने बताउनुहुन्छ ।
कोरोनाको सङ्क्रमण आइसकेको पछि त्यसको लहरको समय तीन महिना हुन्छ, बैशाखमा सुरुवातमा नेपालमा दाेस्रो लहर सुरु भएको हो, असारको महिना भरमा दोेस्रो लहर हटेर जाने उहाँको बुझाइ छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नभएमा फेरि ६ महिनापछि तेस्रो लहर आउने खतरा पनि त्यतिकै रहेको जनस्वास्थ्य विज्ञ ठाकुर बताउनुहुन्छ ।
सहरी क्षेत्रमा विस्तारै सङ्क्रमणदर कमी हुँदै गए पनि ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिदैँ गएकोले त्यहाँका स्थानीय तहले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालनामा काम गर्ने बेला आएको उहाँको आग्रह छ ।
कोरोना सङ्क्रमणको दर देखिँदा देखिदै पनि ग्रामीण क्षेत्रमा ९० प्रतिशत मानिसले मास्क प्रयोग नगरेको पाइएको डा.ठाकुर बताउनुहुन्छ । उक्त क्षेत्रमा जनचेतनाको कमी र बिबाह, पूजा लगायतका गतिविधिले सङ्क्रमण फैलिएको उहाँ बताउनुहुन्छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन पछिल्लो समय निषेधाज्ञा कडा गरिए संगै कोरोना संक्रमणमा कमी आएको बताउनुहुन्छ । अहिलेको कडाईले चेनब्रेक गर्न सहयोग पु¥याएको बताउँदै उहाँले अझै केही समय कडा गरियो भने कोरोनाको चेनब्रेक हुँने महानगर प्रमुख महर्जन दावी छ ।
काठमाडौं उपत्यका भित्र ठाउँ–ठाउँमा एन्टीजेनबाट पनि कोरोना परीक्षण भइरहेको र महानगरले कोरोना सङ्क्रमण नियन्त्रण गर्न तीव्रताका साथ लागि परेको बताउनुहुन्छ । पछिल्लो समय कोरोनाका संक्रमतिको संख्या घट्दै जाँदा अस्पतालका बेडहरु पनि खाली हुँदै गएको उहाँको भनाई छ ।
धेरै समय निषेधाज्ञा गर्दा आममानिसको जनजिविकामा प्रभाव पार्ने भएकोले असारको पहिलो हप्ताबाट निषेधाज्ञा खोल्नुपर्छ भन्ने मान्यता रहेको उहाँले बताउनुभयो ।
औपचारिक रुपमा निषेधाज्ञा खोल्ने विषयमा छलफल गर्ने तयारी समेत गरेको नगरप्रमुख महर्जनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला पछिल्लो समय कोरोना निषेधाज्ञालाई कडाइ गरे संगै सङ्क्रमणदर घट्दै गएको र आशालाग्दो नतिजा आएको बताउनुहुन्छ ।
अहिले अस्पतालमा बेड खाली हुँदै गएको, अक्सिजनको कुनै समस्या नरहेको देखिएको पाइएकोले अव कोरोनाको सङ्क्रमणको दर घटदै गएको छ भन्ने पाउन सकिने उहाँको भनाइ छ । तत्काल निषेज्ञाज्ञा खोल्ने अहिले भन्न नसकिए पनि कोरोना सङ्क्रमणदर हेरेर मिडिया लगायत सरोकारवाला निकायसँग छलफल गरेर असारबाट निषेधाज्ञा खोल्न सक्ने सम्भावना पनि रहेको प्रजिअ निरौला बताउनुहुन्छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई कडाइ गर्ने र सङ्क्रमणदर घटाएर निषेधाज्ञा जतिसक्दो चाँडो खोल्ने गरि आफूहरुले काम गरिरहेको उहाँको भनाइ छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ ३१ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप