logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस गाउँ/नगर अधिवेशन हुन कठिन

राष्ट्रिय |


काँग्रेस गाउँ/नगर अधिवेशन हुन कठिन


नारद गौतम

काठमाडौँ, जेठ २३ गते । कोरोना भाइरस सङ्क्रमणको महामारी र उच्च नेतृत्वको गुटगत स्वार्थ बढी हावी हुँदा फेरि पनि नेपाली काँग्रेसको गाउँ/नगर अधिवेशन प्रभावित हुने देखिएको छ । फागुनको पहिलो साताबाटै हुने भनिएको १४औँ महाधिवेशन सरकारले गत पुसमा निर्वाचनको घोषणा गरेसँगै भदौको पहिलो साताका लागि सरेको थियो ।
संस्थापन पक्षले फागुनमा हुने भनिएको महाधिवेशनलाई पर धकेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाले राजनीतिमा नयाँ मोड दियो । महाधिवेशनको समय मात्र पर स-यो र अहिले फेरि कोरोनाको दोस्रो लहरले समयमा महाधिवेशन सम्पन्न गर्न कठिन हुने भएको छ । “नेतृत्वको स्वार्थ टकरावले काँग्रेस महाधिवेशन जटिल अवस्थामा पुगेको छ,” एक जना केन्द्रीय नेताको भनाइ छ ।
विसं २०७७ फागुन ६ गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०७८ असार ५ गते गाउँ/नगर वडा अधिवेशन र असार ७ गते गाउँ÷नगरपालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । सोही बैठकले साउन १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने र क्रमशः निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन गर्दै २०७८ भदौको ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौँमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
असार ५ र ७ गते वडा र गाउँ/नगरपालिकाको अधिवेशन गराउन जेठ २४ गते केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यता नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकिएको छ तर कोरोनाकै कारण गाउँ/नगर अधिवेशनका लागि प्रतिकूल समय देखिन थालेको छ ।

आठ लाख क्रियाशील सदस्य
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालले जेठ १६ गते एउटा परिपत्र जारी गर्दै १०६ स्थानमा बाँकी रहेका नामावली अद्यावधिक गर्न २०७८ जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको जानकारी दिनुभयो । शनिबारसम्म करिब आठ लाख क्रियाशील सदस्यताको विवरण कम्प्युटर सफ्टवेयरमा अद्यावधिक भएको सो समितिले जनाएको छ । जिल्ला कार्यसमितिले क्रियाशील सदस्यतासम्बन्धी केन्द्रबाट पठाइएको परिपत्रबमोजिमको सम्पूर्ण प्रक्रिया पु-याई उल्लिखित सबै कागजात विवरण तत्काल केन्द्रमा पठाउन भनिए पनि कोरोना महामारीका कारण समस्या उत्पन्न भएको छ । क्रियाशील सदस्यतासँगै त्यसको शुल्क पनि केन्द्रमा पठाउनुपर्नेमा कतिपय जिल्लाले अझै पठाएका छैनन् । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले विविध कारणले असार ५ र ७ गते तय भएका वडा, गाउँ र नगरपालिकाका अधिवेशनहरूको मिति परिवर्तन हुने अवस्था आएको स्वीकार गर्नुभयो ।
नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गर्न पनि समय लाग्ने देखिन्छ । क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक रमेश लेखक, सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ, योगेन्द्र चौधरी हुनुहुन्छ । यस समितिमा अनुभवी र परिपक्व नेतादेखि युवा पुस्ताका उदीयमान नेता पनि छन् ।
युवा नेता भाषण ठोक्नेमा तगडा भए पनि समस्या समाधानमा गुटगत स्वार्थमा बढी लाग्ने सम्भावना रहेकाले काँग्रेस महाधिवेशनका लागि आवश्यक पर्ने प्रारम्भिक मतदाता (क्रियाशील सदस्यता)को अन्तिम सूची तयार कहिले हुने हो ? कुनै टुङ्गो छैन । यो समितिले तयार पारेको क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउनुपर्छ । यस विवरणलाई केन्द्रीय समितिमा लैजान भने पर्दैन । सभापतिले क्रियाशील सदस्यता विवरणलाई जिल्ला हुँदै वडामा पठाएपछि त्यसकै आधारमा वडा, गाउँ र नगरपालिकाको अधिवेशनको प्रक्रिया सुरु हुन्छ ।
वरिष्ठ नेताको विकल्प महाधिवेशन छिटो हुनुप-यो भन्दै आवाज घन्काउनुहुने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघिसम्म विकल्पको कुरा उठाउँदै १३आँैं महाधिवेशनका क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधिबाटै नयाँ महाधिवेशन गराउन सकिने खालको विचार व्यक्त गर्नुभएको छ । उहाँका अनुसार नयाँ क्रियाशीलताबाट अहिलेको जटिल अवस्थामा व्यवस्थापन गर्न कठिन छ ।
काँग्रेसको १३औँ महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्य करिब चार लाख ७० हजार र विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार जना थिए । त्यसैगरी नेता विजयकुमार गच्छदार काँग्रेसमा प्रवेश गरेपछि उहाँको पार्टीका २५ हजार जनालाई क्रियाशील सदस्यता दिने सहमति पार्टीमा भइसकेको छ । यसरी क्रियाशील सदस्यको सङ्ख्या करिब पाँच लाख १५ हजार त पुरानै हुन्छ । काँग्रेसले नै क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशत वृद्धि गर्ने निर्णय गरिसकेको छ ।
त्यति मात्र होइन, केही महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नुभएका सुनीलबहादुर थापालगायतका नेता तथा कार्यकर्ता पनि थपिने हुँदा वरिष्ठ नेता पौडेलको विकल्प सान्दर्भिक नभएको भनाइ एक सदस्यको छ । वैधानिकताको पनि प्रश्न उठ्ने छ । केन्द्रीय महाधिवेशनको तयारीलाई केन्द्रीय सभापति देउवा, उपसभापति, महामन्त्रीलगायतका शीर्ष नेतृत्वबाट जुन उच्च तहको पहल र तयारीलाई केन्द्रमा राखेर काम हुनुपर्ने थियो, त्यो नभएको गुनासो पनि पार्टीभित्र चुलिँदै छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल भने सभापति देउवासहितका नेताहरू तोकिएकै समयमा महाधिवेशन गर्न प्रतिबद्ध रहेको दाबी गर्नुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?