logo
२०८० चैत्र १५ बिहीवार



श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी

मुख्य समाचार |


श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी


यलु जोशी

काठमाडौँ, जेठ १९ गते । कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उहाँहरूको भनाइ छ ।
धुलिखेल अस्पतालका फिजियोथेरापिस्ट काजल कुँवरले सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी समस्या भए फिजियोथेरापी गर्न सुझाव दिनुभयो । सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने हुन्छ । व्यायाम वा मेसिनको माध्यमबाट उपचार गर्नु फिजियोथेरापी हो । यो कसरत नै हो । यसो गर्दा फोक्सोले राम्रो काम गर्नुका साथै श्वासप्रश्वासमा पनि सजिलो हुने उहाँले जानकारी दिनुभयो । फिजियोथेरापीले श्वास फेर्न सजिलो हुने मात्र नभई तनावबाट पनि आराम पाउन सकिने उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो, “सङ्क्रमित व्यक्ति आत्तिने हुनसक्छ, यसले शरीरमा अक्सिजनको मात्रा कमी गराउँछ । सङ्क्रमित भइहालेमा ध्यान गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्छ जसले शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्न सहयोग पु¥याउँछ ।”
अस्पतालमा रहेका सङ्क्रमितलाई नियमित व्यायाम गराउने गरेको उहाँले बताउनुभयो । “नाकबाट लामो सास तान्ने, केही सेकेन्ड रोकेर मैनबत्ती फुकेको जसरी विस्तारै श्वास बाहिर फाल्नुपर्छ । यसो गर्दा फोक्सोमा बढी अक्सिजन पुग्छ र सजिलो महसुस हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो । एउटा हात छातीमा र अर्को हात पेटमाथि राखेर पेट फुल्ने गरी लामो श्वास तान्ने र केही सेकेन्ड रोकेर मुखबाट फाल्ने गर्दा पनि राम्रो हुने उहाँले बताउनुभयो । फोक्सोमा जम्मा भएको खकार निकाल्ने कसरत पनि गर्न आवश्यक भएको फिजियोथेरापिस्ट कुँवरले बताउनुभयो । उहाँका अनुसार यो अभ्यासलाई तीन तरिकाले गर्न सकिन्छ ।
आरामले बसेर लामो श्वास तान्दै फाल्नुपर्छ । त्यसपछि श्वास तान्दा हात माथि लैजाने र फाल्दा तल झार्नुपर्छ । मुख र घाँटी खुला राखेर दुईपटक श्वास फाल्नुपर्छ । यस्तै टाउकोमा हात राखेर पुतलीले जस्तो बन्द र खोल्ने गर्नुपर्छ ।
कार्डियो रेस्पिरेटोरी फिजियोथेरापिस्ट मनमोहन कार्डियोगोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फिजियोथेरापिस्ट डा. ऋचा वज्राचार्यले पनि कोरोना सङ्क्रमितलाई विभिन्न कसरत गराउने गरेको जानकारी दिनुभयो । यो सबै वैज्ञानिक रूपमा मान्यता पाएको र यसले श्वासप्रश्वास प्रणालीको क्षमता बढाउन मद्दत गर्ने उहाँले बताउनुभयो । इन्सेन्टिभ स्पाइरोमिटर प्रयोग गर्न पनि सकिने उहाँको भनाइ छ । घोप्टो परेर सुत्नु (प्रोनिङ) गर्दा श्वास फेर्न सजिलो हुने र श्वासप्रश्वास प्रणालीको बोझ कम गर्ने विधि पनि अपनाउनुपर्ने उहाँको सुझाव छ ।
“सजिलो कुर्सीमा बस्ने र आफ्नो अगाडि एउटा टेबुलमाथि सिरानी राखेर त्यसमा अडेस लिने । घाँटी एकापट्टि फर्काएर टाउको बिसाउने । आफूलाई सहज भएसम्म यो अवस्थामा बस्ने र श्वास भित्र–बाहिर गरिराख्ने । यसले श्वासप्रश्वासको कार्यबोझलाई घटाउँछ,” उहाँले स्पष्ट पार्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?