logo
२०८१ बैशाख १२ बुधवार



एकीकरण अभियानमा सङ्कल्प

विचार/दृष्टिकोण |


एकीकरण अभियानमा सङ्कल्प


केपी शर्मा ओली

जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि यही दिन रहस्यमय दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज मनीषीहरू जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको दुःखद निधन भएको थियो । २८ औंँ स्मृति दिवसको सन्दर्भमा म नेकपा (एमाले)को सम्पूर्ण पार्टी पङ्क्तिका तर्फबाट दिवङ्गत नेताहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।
नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरू दूरगामी महŒवका र अतुलनीय छन् । मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक हुनुहुन्थ्यो । नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरूको गहन अध्ययन एवं समीक्षामाथि आधारित भएर उहाँले जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभयो । माक्र्सवादका विश्वव्यापी सच्चाइलाई नेपाली क्रान्तिको ठोस व्यवहारमा लागू गर्ने क्रममा आविर्भाव भएको जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित भएको छ । यसले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ । विगत दशकहरूमा नेपाली समाजमा देखा परेको हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरण, एकदलीय शासन व्यवस्थाका पक्षधरहरू लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता स्वीकार्न तयार भएको अवस्था र नवउदारवादका पक्षधरहरू समेत सामाजिक न्याय र लोककल्याणकारी समाज व्यवस्थाका पक्षमा उभिन वाध्य भएको स्थितिले जबजको सहीपना अकाट्य ढङ्गले पुष्टि भएको छ । समाजवाद निर्माणको हाम्रो आगामी यात्रामा पनि जबजले निरन्तर मार्गदर्शन गरिरहनेछ ।
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महŒवपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो । संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । नेपाली काँ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो । पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो । उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित दायराबाट बाहिर निकालेर सामाजिक जीवनका समग्र पक्ष एवं मानवीय आकाङ्क्षाको समष्टिका रूपमा नयाँ उचाइबाट परिभाषित गर्नुभयो । जनताको जीवनसँग जोडिन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुन सक्ने कुरामा उहाँले विशेष जोड दिनुहुन्थ्यो ।
मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक हुनुहुन्थ्यो । नेपालको राष्ट्रिय हित रक्षाका लागि अविचलित अडान राख्दै उहाँले राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित समेत गर्नुभयो । ती मान्यताहरू राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेका छन् ।
सिद्धान्तको निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने मान्यता राख्नु हुने, राष्ट्र र जनताको हितमा अविचलित ढङ्गले उभिने र अत्यन्त प्रभावकारी भाषामा जनतालाई सम्बोधन गर्न सक्ने मदन भण्डारी भूमिगत जीवनबाट सार्वजनिक भएको छोटो समयमै जनतामाझ अत्यन्त लोकप्रिय हुनुभयो । सार्वजनिक सर्वेक्षणमा शताब्दी नायकका रूपमा चयन हुनुभएका मदन भण्डारी नेपाली जनताको मनमा ‘जननेता’का रूपमा स्थापित हुनुभएको छ ।
तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनका एक जना भरोसायोग्य नेता हुनुहुन्थ्यो । आधारभूत वर्गबाट उठेर पार्टी नेतृत्वमा पुग्न सफल उहाँ पार्टीको बलियो सङ्गठनात्मक आधार निर्माणका अग्रणी हुनुहुन्थ्यो । उहाँले हुर्काउनु भएका सयौँ कार्यकर्ता आज आन्दोलनको अग्रमोर्चामा स्थापित छन् ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन नेपालको कम्युनिस्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय थियो । कतिपय विरोधीहरूले उहाँहरूको निधनसँगै नेपाली कम्युनिस्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणीसमेत गरेका थिए । तर ती सबै अनुमान र भविष्यवाणीहरू व्यर्थ साबित भएका छन् । निश्चय नै, यस अवधिमा हामीले गम्भीर धक्का बेहोरेका छौँ । विभाजन, एकीकरण र पुनः विभाजनको प्रक्रियाबाट गुज्रेका छौँ । प्रतिगमन र हिंसाका दुष्चक्रको सामना गर्न बाध्य भएका छौँ । यी सबका बावजुद कम्युनिस्ट आन्दोलन निरन्तर नयाँ उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाँहरूले हामीलाई सही विचार र सुदृर सङ्गठन छाडेर जानुभएको थियो । आज कम्युनिस्ट आन्दोेलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका प्रतिनिधिहरूबाट निर्मित प्रगतिशील संविधान जारी भएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रूपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रूपमा सरकारको नेतृत्व गरिरहेको छ ।
तीन वर्ष अगाडि यही दिन (जेठ ३) हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौँ । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमानदार प्रयास थियो । तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा (एमाले) उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको छ । हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौँ ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औँ स्मृति दिवसका सन्दर्भमा हामीले सङ्कल्प गर्नुपर्छ ः हामी जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जानेछौँ । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानता सुनिश्चित भएको समाज निर्माण गरिछाड्नेछौँ । राष्ट्रियताको संवद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रूपमा क्रियाशील रहनेछौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्नेछौँ । फेरि एकपल्ट, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जलि !

(प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओलीले मदन–आश्रित स्मृति दिवस (जेठ ३ गते) मा दिनुभएको वक्तव्यको सम्पादित अंश ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?