logo
२०८१ बैशाख १२ बुधवार



‘उपचारमा कमी हुनुहुँदैन’

मुख्य समाचार |


‘उपचारमा कमी हुनुहुँदैन’


भउचप्रसाद यादव

काठमाडौँ, जेठ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको महामारी साझा समस्या रहेको बताउनुहुँदै यस लडाइँमा सक्रिय सहभागी हुन सबैसँग आग्रह गर्नुभएको छ ।
अहिलेको महामारीको सामना गर्न सकिने दृढता व्यक्त गर्नुहुँदै उहाँले महामारीको लडाइँमा सरकारले थुप्रै काम गरेको र आगामी दिनमा पनि गर्न उत्सुक रहेको बताउनुभयो । सरकारको प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायी, गैरसरकारी संस्था, गैरआवासीय नेपालीले सङ्गठित र एकद्वार प्रणालीमार्फत सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार जनस्वास्थ्यविद्, सुरक्षा निकायका प्रमुखहरू, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्सलगायतका सरोकारवालासँग सामूहिक छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले औषधि, भेन्टिलेटरलगायतका उपकरणमा कमी हुनुहुँदैन भन्नुभयो ।
“कोरोनाको रोकथामका लागि सामाजिक दूरी कायम गर्नु र यसको चैन छुटाउनु नै मुख्य कुरा हो,” उहाँले गल्ली–गल्लीमा अहिले पनि पसल खुलेको, दिनभरि मानिस हिँडडुल गरेको पाइएको छ, प्रहरी लगाएर सम्झाइबुझाई गरी रोक्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । अक्सिजनको आपूर्ति नै अहिले मुख्य काम रहेको बताउनुहुँदै उहाँले यसको आपूर्तिमा पर्याप्तता ल्याउन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।
अहिलेको होम आइसोलेसनमा पनि सङ्क्रमण बढेको हो कि भन्ने कुरा आइरहेकोमा होम आइसोलेसनलाई संस्थागत आइसोलेसनमा लैजानु राम्रो हुने उहाँले बताउनुभयो । फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई पीपीई, पञ्जालगायतका आवश्यक स्वास्थ्य सामग्रीको अभावमा सङ्क्रमणको खतरा हुने भएकाले त्यसमा कमी हुन नदिन उहाँले निर्देशनसमेत दिनुभयो ।
अहिले नउठ्नेजति फोनहरू हटलाइन भएको भन्ने आमनागरिकको गुनासो रहेको बताउनुहुँदै उहाँले हटलाइन फोनहरूमा पालो लगाएर भए पनि मानिस तयारी अवस्थामा हुनुपर्ने स्पष्ट पार्नुभयो । देशभरिको अस्पताल, प्रशासन, प्रहरी अधिकारीहरूसँग ‘हटलाइन’ हुनुपर्ने उहाँले बताउनुभयो । मानिस अप्ठ्यारोमा परेको बेला अस्पतालमा सम्पर्क मात्र भएमा पनि उपचार पाउने अपेक्षा र आशा बढ्ने उहाँले बताउनुभयो ।
“आमनागरिकलाई रेम्डेसिभिरको उपलब्धता र उचित मूल्यको प्रत्याभूति हामीले गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमितको उपचारका क्रममा प्रयोग भइरहेका रेम्डेसिभिरलगायतका औषधिको प्रयोगबारे आमनागरिकलाई सचेत गराउन आवश्यक छ । अहिले मानिसलाई रेम्डेसिभिर केके न हो भन्ने लागिरहेको अवस्थामा यो त्यस्तो खालको होइन भने विषयमा सजग गराउन आवश्यक छ । ” रेम्डेसिभिर पर्याप्त मात्रामा उपलब्ध छ र उचित मूल्यमा पाइन्छ भन्ने प्रत्याभूति हुने गरी काम गर्न उहाँले सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।
हाम्रो स्वास्थ्य प्रणाली नै खत्तम भयो भन्नेजस्ता नकारात्मक अभिव्यक्ति नदिनसमेत उहाँले आग्रह गर्नुभयो । “समस्या केही छन् होला तर खत्तम भएको होइन, एक वर्षमा मुलुकको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ,” उहाँले भन्नुभयो, “एक वर्षअघिसम्म पीसीआर परीक्षण गर्ने एउटा पनि प्रयोगशाला नभएको ठाउँमा अहिले ८६ वटा सञ्चालनमा आउनु स्वास्थ्य क्षेत्रको ठूलो उपलब्धि हो । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?