logo
२०८१ बैशाख ४ मंगलवार



एमाले शीर्ष बैठक सम्पन्न, कार्यदल बनाउने जिम्मा दुई नेतालाई

मुख्य समाचार |


एमाले शीर्ष बैठक सम्पन्न, कार्यदल बनाउने जिम्मा दुई नेतालाई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । नेकपा (एमाले) का नेताहरुको बैठक सकिएको छ । सिंहदरवारमा करिब दुई घण्टा लामो भएको छलफलमा पार्टी एकतालाई बलियो बनाउनेगरी गम्भीर छलफल भएको नेताहरुले बताउनुभयो ।

बैठकपछि गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकताबद्ध बनाउने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच थप एक्लाएक्लै छलफल गरेर सहमतिको खाका तयार गर्ने जिम्मेवारी बैठकले दिएको उहाँले बताउनुभयो । भोली शनिबार पुनः दुबै नेताहरु बसेर कार्यदल गठनको गृहकार्य गर्ने उहाँले जानकारी दिनुभयो ।

नेता भीमबहादुर रावलले समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताउनुभयो । कार्यदलले आवश्यक गृहकार्य गरी समस्या समाधानको पहल लिने उहाँले जानकारी दिनुभयो ।

नेता रघुजी पन्तले पार्टीलाई एकताबद्ध बनाउने विषयमा सौहार्दतापूर्ण ढङ्गले छलफल भएको जानकारी दिनुभयो । बैठकपछि बाहिरिनेक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै नेता पन्तले कार्यदल बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको बताउनुभयो ।

आजको बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता नेपाल, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल, भीमबहादुर रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्त लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?