logo
२०८१ बैशाख ११ मंगलवार



अक्सिजन आपूर्तिको प्रयास जारी

मुख्य समाचार |


अक्सिजन आपूर्तिको प्रयास जारी


सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख २६ गते । कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास अगाडि बढाएको छ ।
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शøया आईसीयूमध्ये १४ शøया भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उहाँले बताउनुभयो ।
“एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा. राजभण्डारीले भन्नुभयो । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ । “अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ,” अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भन्नुभयो । अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उहाँको भनाइ छ । पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन आपूर्ति गर्नेहरूलाई हारगुहार गर्दासमेत अक्सिजन ल्याउन नसकेको बताउनुभयो । निजी अस्पतालको छाता सङ्गठन प्राइभेट अस्पताल एसोसिएसनका उपाध्यक्षसमेत रहनुभएका थापाले अल्कालगायत अन्य निजी अस्पतालमा अक्सिजनका कारण थप सङ्क्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
नेपाल अक्सिजन उत्पादक सङ्घले अक्सिजन आपूर्तिमा प्रयास गरिरहेको छ । सङ्घका अध्यक्ष गौरव शारडाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै पनि व्यक्ति, संस्था वा अस्पताललाई मन्त्रालयको अनुमतिमा मात्र अक्सिजन दिनुपर्ने निर्देशन भएकाले पनि व्यवस्थापनमा केही ढिला हुने गरेको जानकारी दिनुभयो । “अक्सिजनको अभाव त छ तर व्यवस्थापनको प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आवश्यक भएजति अक्सिजन नपाएको तर व्यवस्थापनका लागि प्रयास भइरहेको बताउनुभयो । यही अवस्था रहे स्थिति भयावह हुने भन्दै यसअघि अक्सिजन उत्पादन सङ्घले अक्सिजनको अभाव नहुने प्रतिबद्धता दिएको जानकारी दिनुभयो । अस्पतालमा अक्सिजन नभएको भन्दै उहाँले बिरामीको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताउनुभयो ।
थप भर्ना नलिँदा धेरै बिरामी घरमै हुने र अवस्था जटिल आउन सक्ने उहाँको भनाइ छ । अक्सिजन नपाएको विषय स्वास्थ्यसँग सम्बन्धित नरहेको भन्दै उहाँले उद्योग आपूर्तिसँग जोडिएको विषय हो भन्नुभयो । अक्सिजन अभाव उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका धेरै अस्पतालमा छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज, बुटवलका अस्पतालहरूले थप बिरामी भर्ना लिन सक्ने अवस्था छैन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?