logo
२०८१ बैशाख ७ शुक्रवार



एक अथक साक्षीको भोलिको यात्रा

मुख्य समाचार |


एक अथक साक्षीको भोलिको यात्रा


 डा. कुन्दन अर्याल

नेपालमा १२० वर्षअघि सुरु भएको अखवार आजसम्म निरन्तर चलिरहेको छ । पहिलो अखवारको यो निरन्तरता समग्र नेपाली पत्रकारिताका लागि गौरवको विषय हो किनकि यसले नेपाली पत्रकारिताको इतिहासलाई दिनहुँ वर्तमानसँग जोडिरहेको छ । तर आज अत्याधुनिक सूचना प्रविधिले मसी र कागजमा आधारित छापा माध्यमको प्रभावशाली विकल्प प्रस्तुत गरिसकेको छ । फलस्वरूप, अन्य ठूला–ठूला स्वदेशी वा विदेशी अखवारहरू झैँ गोरखापत्र पनि नितान्त नयाँ मोडमा आइपुगेको छ । त्यसैले यसको सुरुवात गरिएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाइँदै गरेको सन्दर्भमा नेपालमा छापा पत्रकारिताको भविष्यबारे चर्चा गर्नु वाञ्छनीय हुन्छ किनकि, आज पनि नेपालमा अखवारहरू आधिकारिक र प्रभावकारी सूचना र विश्लेषणका प्रमुख स्रोत मानिन्छन् । तर खासगरी संसारभर नै पत्रकारिताको विषयवस्तुको वितरणमा इन्टरनेटप्रतिको निर्भरता झन्झन् बढ्दै गएको छ । यस्तो अवस्थामा छापाको भविष्यसँग सम्बन्धित विमर्शलाई अघि बढाउन अत्यन्त जरुरी छ ।
कागजमा छापिएका अखवार वा म्यागेजिनलाई यातायातका साधनबाट ठाउँ–ठाउँ पु¥याउनुपर्ने समयमा सञ्चार र यातायात अन्योन्याश्रित रूपमा जोडिएका थिए । उन्नाइसौँ शताब्दीको मध्यदेखि टेलिग्राफको सहायताले सूचना सम्प्रेषण गर्न थालिएपछि सन्देशका लागि सन्देश–वाहक आवश्यक पर्ने मान्यता खण्डित हुन गयो । त्यसपछि, पत्रमा लेखिएको सन्देश एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पु¥याउने घोडचढी मानिस वा परेवा नचाहिने भयो । बीसौँ शताब्दीको अन्त्यदेखि त इन्टरनेटले अखवारका प्रतिनिधिलाई कार्यस्थलबाट ससानो सूचना मात्र होइन, ठूलो परिमाणमा शब्द, स्वर र दृश्यसमेत तत्काल सम्प्रेषण गर्न सकिने सुविधा प्रदान ग¥यो । त्यसपछि जहाँसुकैबाट जहाँसुकै रहेको समाचार–कक्षमा अप्रशोधित समाचार पठाउन सकिने भयो, वाहक वा हुलाकी नचाहिने भयो । छोटो अवधिमै मोबाइल, कम्प्युटरलगायतका डिजिटल पर्दामा पूरै अखवार, पुस्तक र म्यागेजिन पढ्न सकिने हुन थाल्यो । आज नेपालमा पनि अनलाइनमार्फत मात्र सामग्री पस्कने समाचार पोर्टलहरू लोकप्रिय भइरहेकै छन् । साथै, गोरखापत्रलगायत मूलतः छापाको पहिचानबाटै लोकप्रिय भएका सञ्चार माध्यमहरूले समेत अनलाइन माध्यमबाट सामग्रीहरू प्रस्तुत गरिरहेका छन् । गोरखापत्रलगायत कतिपय अखवारका कैयन् समाचार वा विचारप्रधान सामग्रीहरू क्षणभरमै अनलाइनकै कारण विश्वभर वितरण भइरहेका छन् । सोसल मिडियाले पनि अनलाइन समाचार
माध्यमका सामग्रीहरूको द्रुत र व्यापक प्रसार गरिरहेका छन् ।
बीसौँ शताब्दीको प्रारम्भमा पनि त्यसबेलाको विकसित संसारमा उपलब्ध प्रविधिभन्दा पुरातन मुद्रण यन्त्रबाट गोरखापत्रको सुरुवात भएको थियो । संसारमा उन्नाइसौँ शताब्दीको सुरुवातमै वाष्प ऊर्जाबाट तुलनात्मक रूपमा छिटो चल्ने सिलिण्डर मुद्रण यन्त्र बनिसकेका थिए । तर नेपालमा त्यसबेला पनि गुटेनबर्गले पन्ध्रौँ शताब्दीको मध्यतिर आविष्कार गरेको ढाँचाकै मुद्रण यन्त्रको प्रयोग गरिएको थियो । यस अर्थमा गोरखापत्रले आज पाठकहरूको जीवनशैली र मिडियाका विषयवस्तुको उपभोगको ढाँचा र स्वादमा आएको व्यापक परिवर्तनसँग जम्काभेट गर्ने अवसर प्राप्त गरेको छ ।
संसारभरिको कुरा गर्ने हो भने गोरखापत्रभन्दा दुई सय वर्ष अघि बेलायतको पहिलो दैनिकको इतिहास बनाउने ‘डेली कुरान्ट’को नाम पैँतीस वर्षपछि नै बजारबाट मेटिएको थियो । सन् १८६८ मा सुरु भएको छिमेकी भारतको विश्वप्रसिद्ध अङ्ग्रेजी दैनिक ‘अमृतबजार’ पत्रिका १२३ वर्षको इतिहास बनाउँदा बनाउँदै पनि तीस वर्षअघि ऋणमा डुबेर बन्द भएको थियो । संसारका कैयन् नामी अखवारहरूको दृष्टान्त प्रस्तुत गर्न सकिन्छ, जसलाई गोरखापत्रले जस्तो पुरातन प्रविधिबाट सुरु भएर इन्टरनेटको युगसम्मको यात्रा तय गर्ने अवसर जुरेन । नेपालमा त झन् गोरखापत्रभन्दा धेरै कान्छा
‘हालखबर’, ‘कमनर’, ‘मदरल्याण्ड’, ‘समाज’, ‘नेपाल टाइम्स’, ‘नयाँ सन्देश’, ‘मातृभूमि’, ‘नयाँ करेण्ट’ लगायत कैयन् आफ्नो जमानाका चर्चित अखवार आज बजारमा छैनन् ।
एकछिन, कारण केलाउनपट्टि नलागौँ, यति मात्र उल्लेख गरौँ, गोरखापत्र आज पनि निरन्तर छ । त्यति मात्र होइन, अनलाइनमार्फत यसका अन्तर्वस्तु जुनसुकै क्षण पाठकसमक्ष पुगिरहेका छन् । यसको अनलाइन संस्करणमा यदाकदा दृश्य समाचार पनि हेर्न पाइन्छ, यसले मिडिया सम्मिलनको अत्याधुनिक उदाहरण प्रस्तुत गरिरहेको छ । आउने समयमा यस अनलाइनलाई अनुच्छेद पढ्न झर्को मान्ने पाठकहरूका लागि समेत सहुलियतपूर्ण, छरिता र आकर्षक सामग्री वा इन्फोग्राफिक्सहरूले अझ लोकप्रिय बनाउनेछन् भन्ने आशा गर्न सकिन्छ किनकि गोरखापत्र यसअघि पनि प्रविधि र बदलिएको समयलाई आत्मसात् गर्ने मामिलामा प्रगतिशील सावित भइसकेको छ ।
आधुनिक कालमा लामो बौद्धिक परम्परा नभएको हाम्रो जस्तो देश र विकसित देशको इतिहासमा अखवारहरूको सुनौलो काल फरक–फरक अवधिमा अनुभूत गरिएको पाइन्छ । नेपालमा सन् १९९० पछि व्यापक वितरणका समाचारपत्रहरूको उदय भयो । तर संयुक्त राज्य अमेरिकामा सन् १९८४ मा अखवारहरूको वितरण उत्कर्षमा पुगेको मानिन्छ । त्यसपछिका दिनमा अखवारहरूको वितरण सङ्ख्या अमेरिकालगायतका विकसित देशहरूमा लगातार ओरालो लाग्दैछ । नयाँ शताब्दीको सुरुवातदेखि डेढ दशकको अवधिमा विश्वभर छापा माध्यमको प्रसार प्रष्ट देखिने गरी लगातार घट्दै गयो । त्यो क्रम त्यसपछि पनि जारी रह्यो र समयक्रममा कैयन् अखवारका अनलाइन संस्करण मात्र निस्कन थाले । नेपालमा पनि सन् २०१३÷१४ यता छापा माध्यमहरूको तुलनामा अनलाइन समाचार माध्यमहरूको बढोत्तरी हुँदै गएको छ । सूचना विभाग र प्रेस काउन्सिलमा रहेका छापा र अनलाइन समाचार माध्यमका वार्षिक अभिलेखहरूले पनि यो कुराको पुष्टि गर्छन् । गोरखापत्र बाहेक अहिलेका सबै नाम चलेका छापा माध्यमको उदय सन् १९९० देखि सन् २०१३ सम्म भएको हो र नेपाली छापाको उत्कर्षको अवधि पनि यही हो । त्यसैले गोरखापत्र निरङ्कुश कालको कठोर बन्देजदेखि व्यापारिक स्वार्थ सतहमै सादृश्य भइरहेको खुलापनको वर्तमान कालखण्डसम्मको एक मात्र जीवित साक्षी हो, नेपाली पत्रकारिताको अथक वाहक हो ।
कुनै पनि अखवारको लोकप्रियता प्रविधि र अन्तर्वस्तु दुवै पक्षमा उत्तिकै निर्भर रहँदै आएको छ । गोरखापत्रको उज्ज्वल भविष्यको कल्पना गर्दैगर्दा समयानुकूल प्रविधिको प्रयोग र पाठकको सन्तुष्टि दुवै पक्षमा ध्यान दिनैपर्ने अपेक्षा पनि गर्नैपर्छ । प्रविधिको कुरा गर्दा, पहिले–पहिले पनि विद्यार्थीकाल, खासगरी स्कुल तहमा नियमित रूपमा अखवार पढ्ने विरलै हुन्थे । तर व्यावसायिक जीवनमा प्रवेश गरेपछि मानिस, खासगरी व्यावसायिक बुद्धिजीवी, नियमित रूपमा अखवार पढ्ने गर्थे । आजका किशोर जीवनभर अखवार नहेर्ने भइसकेका छन् । उनीहरू जुनसुकै बेला, जहाँसुकै पनि अपडेट हुन डिजिटल कन्टेन्टमा अभ्यस्त भइरहेका छन् । अहिलेको संसारमा संक्षिप्त वा पढ्नै नपर्ने एकपटक हेरे मात्र पुग्ने खालका सामग्रीलाई बहुसङ्ख्यकले रुचाउने गरेका छन् । तर चलनचल्तीका त्यस्ता मिडिया उत्पादन, दक्ष पत्रकारहरूको गहन अध्ययन र मेहनतबाट तयार भएका हुन्छन् । गोरखापत्र अनलाइन’लाई पनि अब निरन्तर क्षण–क्षणको सूचना उपलब्ध गराउने प्रभावकारी माध्यमका रूपमा ब्रान्डिङ गर्न अबेर गर्नुहुँदैन ।
आठ वर्षअघिको कुरा हो, बेलायतमा ‘लोइड्स लिस्ट’ नामक अखवारको २८० वर्ष पछि छपाइ बन्द भयो । तर त्यसको रूप मात्र बदलिएको थियो, तत्कालै अनलाइन संस्करण सुरु भयो । आज समुद्री मार्गबाट हुने ढुवानीसम्बन्धी समाचार, नीति र विश्लेषण लगायत विज्ञ–धारणाका लागि त्यो अनलाइन संस्करण विख्यात छ । लन्डनको एक कफी पसलमा सन् १७३४ को एक दिन टाँसिएको एउटा सूचनाबाट सुरु भएको अखवार अब अनलाइन संस्करणमा बाँचिरहेको छ । विगतमा अखवार किन छापिन्थे भने त्यसबेला इन्टरनेट थिएन । परिवर्तनलाई यसरी सहजताका साथ आत्मसात्र गर्ने हो भने समयक्रममा छापाहरू बन्द हुनेछन् भन्ने भविष्यवाणी सुन्दा दुःख मान्नुपर्दैन । एक सय वर्षअघि बेलायती पत्रकार सी. पी. स्कटले भनेजस्तै पत्रपत्रिकाको भौतिकभन्दा पनि नैतिक अस्तित्व महत्वपूर्ण हो । कागज र मसी भौतिक अस्तित्वका परिचायक हुन्, अनलाइनबाट सामग्री निरन्तर भएपछि नैतिक उपस्थितिमा पूर्णविराम लाग्ने कुरै भएन ।
एउटा कुरा अहिले नै गोरखापत्रले स्वीकार गरिसकेको छ, केवल मुद्रणप्रतिबाट आजका पाठकको रुचि पूरा हुनसक्दैन । अलिपरको भविष्यमा निःशुल्क वितरण वा प्रदेशगत रूपमा केन्द्रीकृत संस्करणहरूको प्रारम्भबाट छापा संस्करणलाई सान्दर्भिक तुल्याइरहन सकिने देखिन्छ । विज्ञापनदातालाई पत्रपत्रिकाको वितरण सङ्ख्याभन्दा पनि पाठक सङ्ख्या बताएर प्रभावबारे आश्वस्त पार्ने चलन छ । आजका अखवारहरूका सामु प्रभाव बढाउने एउटा बाध्यकारी उपाय अनलाइन संस्करण नै हो । प्रभाव पाठकको सङ्ख्याका आधारमा बढ्ने भएकाले उपलब्ध सबै साधनमा आफ्ना अन्तर्वस्तु प्रस्तुत गर्नु आजका अखवारहरूको बाध्यता हो । त्यसैले लामो इतिहास भएका अखवारहरू पनि अनलाइन संस्करणको प्रारम्भका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना सामग्रीहरूको प्रसार गरिरहेका छन् । तर गोरखापत्रले भने पाठकको ध्यानाकर्षण गर्नसक्ने गतिला सामग्रीहरूको व्यापक प्रसारका लागि पनि सामाजिक सञ्जालहरूको सदुपयोग गर्न बाँकी नै
रहेको देखिन्छ ।
उपलब्ध प्रविधि र समयसँगै परिवर्तित पाठकको रुचि वा सन्तुष्टिको आधार, दुवै पक्षमा संसारका कैयन् अखवारहरूले कुशलतापूर्वक ध्यान पु¥याएका छन् । ती अखवारहरू दीर्घजीवी भएका छन्, जोे राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनले पाठकवर्गमा पारेको प्रभावको सूक्ष्म अध्ययन गरी नीति र अभ्यासमा सुधार गर्न सफल भएका छन् । त्यस्तै सफल अखवारहरू झैँ शताब्दी नाघेको गोरखापत्रले पनि विगतदेखिको निरन्तरतामा गौरव गर्दै वर्तमानका चुनौतीहरूको सफलतापूर्वक सामना गर्नुपर्छ । खासगरी प्रविधिले ल्याएको चुनौतीको सामना गर्न गोरखापत्रले पाउने त्यस्तो सफलताले नेपालका अन्य अखवारहरूका लागि पनि सफलताको बाटो देखाउनेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?