logo
२०८० चैत्र १६ शुक्रवार



निषेधाज्ञा लगाइए पनि कोरोना सङ्क्रमण दर उच्च

स्वास्थ्य |
मुख्य समाचार |


निषेधाज्ञा लगाइए पनि कोरोना सङ्क्रमण दर उच्च


सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख २३ गते । नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन् भने ५८ जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
नेपालमा एकै दिन आठ हजार ६५९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यो एकै दिनमा सङ्क्रमित हुने सबैभन्दा बढी हो । एक दिनअघि मङ्गलबार सात हजार ६६० जनामा कोरोना सङ्क्रमण भएको थियो । मन्त्रालयले एक महिनाअघि प्रक्षेपण गरेको दैनिक ११ हजारसम्म सङ्क्रमितको सङ्ख्या हुने अनुमान थियो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार आठ हजार ६०५ जनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभयो । यस्तै ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । थप सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । डा. गौतमका अनुसार क्वारेन्टाइनमा ३१८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ सङ्क्रमितको मृत्यु भएको हो । यो सङ्ख्या हालसम्म नेपालमा कोरोनाले मृत्यु हुने सङ्ख्याभन्दा धेरै हो । अघिल्लो दिन मङ्गलबार ५५ जना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । यस्तै एक हजार ९९३ जना सङ्क्रमित निको भएका छन् । हाल नेपालमा निको हुने दर ८० दशमलव ६ प्रतिशतमा झरेको छ ।

बालबालिकामा चाप
कोरोनाको यो दोस्रो लहरले बालबालिका र युवालाई समेत बढी प्रभावित गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार बुधबार ७३७ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नौ वर्षसम्म उमेर समूहका २१३ जना सङ्क्रमित छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५२४ जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिलाई सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ । ती समूहमा दुई हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै २० देखि २९ वर्षका दुई हजार ५१ जना, ४० देखि ४९ वर्ष उमेर समूहमा एक हजार ५५३ जना, ५० देखि ५९ वर्षका एक हजार १७३ जना, ६० देखि ६९ वर्षका ५९० जना, ७० देखि ७९ वर्षका २३७, ८० देखि ८९ वर्षका ८६ जना, ९० देखि १०० वर्षका नौ जना र उमेर अज्ञात ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्ख्या थपिँदै
देशभर कोरोनाबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या बढिरहँदा काठमाडाँै उपत्यकामा पनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका तीन जिल्लामा चार हजार ८२५ जनामा व्यक्ति सङ्क्रमित हुन पुगेका छन् । यो सङ्ख्या देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ५६ प्रतिशत हो ।

कारबाही गरिने
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि तोकिएको शुल्कभन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ । मन्त्रालयले बुधबार वक्तव्य जारी गर्दै केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेको भन्दै बढी शुल्क लिनेलाई कारबाही गर्ने चेतावनी दिएको हो । सङ्क्रमणपछि भर्ना हुने बिरामीलाई सुविधा दिने नाममा केही निजी अस्पतालले एउटा बिरामीबाट प्रतिदिन ३५ हजार रुपियाँसम्म लिइरहेको भन्दै त्यसको आलोचना भइरहेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?