logo
२०८१ बैशाख ७ शुक्रवार



निषेधाज्ञामा सवारी चाप घटेन

पूर्ण रोक लगाउने विषयमा छलफल

खुला |


निषेधाज्ञामा सवारी चाप घटेन



देवबहादुर कुँवर

काठमाडौँ, वैशाख २१ गते । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडकचोक तथा सुरक्षा चेकजाँच स्थलमा ‘ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।
कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । अत्यावश्यक कामका लागि सवारी पास लिएकाभन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ ।
काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोडगेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज दाहालले अत्यावश्यकबाहेकका सवारीसाधनलाई समेत सञ्चालन गर्न दिँदा समस्या आएको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्था, विवाह, अस्पताल, खाद्य र तरकारी बोक्ने नाममा धेरै गाडी गुड्ने गरेका छन् । सोमबार बिहानदेखि साँझसम्म दुई हजार ६३ वटा सवारी नियन्त्रणमा लिइएको छ । तीमध्ये दुईपाङ्ग्रे एक हजार ४९३ छन् । कार–जिपहरू ४५०, मिनीबस र मिनी ट्रकलगायतका सवारी १२० छन् । दुई सय सर्वसाधारण बटुवालाई होल्डमा राखी सम्झाइबुझाई गरी गन्तव्य फर्काइएको छ ।
यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताउनुभयो । यही १६ गतेबाट जारी एक हप्ता लामो निषेधाज्ञा २२ गते राति १२ बजेपछि पुनः थप गरी वैशाख मसान्तसम्म पु¥याइने भएको छ । “निषेधाज्ञा एक साता लम्ब्याएर मात्र भएन । थप व्यवस्थित र कडाइ गर्ने विषयमा पनि निर्णय हुनेछ,” उहाँले भन्नुभयो ।
नेपाल सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ, काठमाडौँ महानगरपालिका, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा सामाखुसीको राधास्वामी भवनमा दुई सय शøयाको आइसोलेसन वार्ड बनिरहेको छ । त्यस्तै बालाजुस्थित एक सय शøयाको जनमैत्री अस्पताललाई विस्तार गरी तीन सय शøया, कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा ५० श-या थप्नका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
त्यस्तै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागिबाहेक अन्यका लागि सवारी पासको व्यवस्था हटाइएको जानकारी दिनुभयो । अत्यावश्यक काम परेमा प्रहरी कन्ट्रोल १०० र ट्राफिक प्रहरी कन्ट्रोल १०३ को व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?