logo
२०८० चैत्र १६ शुक्रवार

   नारायणगढ–बुटवल खण्ड   



सडक विस्तारले गति लिँदै

मुख्य समाचार |


सडक विस्तारले गति लिँदै


भउचप्रसाद यादव

काठमाडौँ, वैशाख २१ गते । विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ ।
वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको हो ।
नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य अगाडि बढाउन अब कुनै पनि कानुनी वा व्यावहारिक बाधा अड्चन नरहेको जानकारी दिनुभयो । उहाँले अवरोध हटिसकेकाले विस्तार कार्यले गति लिई काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति सात प्रतिशत छ । सरकारले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने काम यसै खण्डबाट सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते राजमार्गको सो खण्डको विस्तार कार्यको शिलान्यास गर्नुभएको थियो ।
आयोजनाका अनुसार अहिलेसम्म रुख कटानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रमा शतप्रतिशत रुख कटान सम्पन्न भइसकेको छ भने वन क्षेत्रमा १० प्रतिशत कटानको काम बाँकी छ । विस्तारका क्रममा झन्डै ११ हजार रुख काटिनेछ । यस क्षेत्रमा छवटा वन क्षेत्र छन् ।
कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड अपनाएर अहिले विस्तार कार्यमा दैनिक एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको प्रमुख दिष्टीको भनाइ छ । गैँडाकोट–दाउन्ने सडकखण्ड तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा कल्भर्ट निर्माणको काम सम्पन्न भएको जानकारी उहाँले दिनुभयो ।
प्रमुख दिष्टीका अनुसार अहिलेसम्म २२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी गैँडाकोट क्षेत्रका पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरी १२ वटा ठूला पुल निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।
निर्माणाधीन पुलहरूको ‘पाइलिङ’को काम सम्पन्न भई जग (फाउन्डेसन)को काम भइसकेको जानकारी उहाँले दिनुभयो । राजमार्ग विस्तारका क्रममा कुल १२ वटा ठूला पुल र २२ वटा साना पुल निर्माण गर्नुपर्ने देखिएको छ ।
त्यसैगरी अहिले सञ्चालनमा रहेको सडकको दायाँबायाँ माटो ‘फिलिङ’ र ‘कटिङ’को काम भइरहेको छ । गैँडाकोटदेखि चोरमारासम्म माटो भर्ने काम सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो । यो क्षेत्रमा रुख कटानको काम सम्पन्न भइकेको छ ।

दुई ‘प्याकेज’मा विस्तार
आयोजनाका निर्देशक सुशीलबाबु ढकालले गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार कार्य भइरहेको जानकारी दिनुभयो । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर छ ।
उहाँका अनुसार विस्तार भइरहेको यो सडकखण्डको ‘स्ट्यान्डर्ड’ चौडाइ चार लेन २४ मिटर हुन्छ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै सहायक मार्गसमेत निर्माण गरिनेछ । त्यसको चौडाइ तीन मिटर हुनेछ । विस्तार भइरहेको पूरै क्षेत्र ११३ किलोमिटरमा हरियाली रहनेछ । त्यसैगरी कठिन भूगोलका कारण दाउन्नेको उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने निर्देशक ढकालले जानकारी दिनुभयो । दाउन्ने क्षेत्रमा सवारी साधनले दुई लेन उकालो र एक लेन ओरालोमा गुड्नुपर्ने हुन्छ ।

चार स्थानमा जैविक मार्ग
केही समययता राजमार्गमा जङ्गली जनावरको हिँडडुल बढ्दै जाँदा मानवीय र जीवजनावरको समेत क्षति हुने गरेकाले विस्तार भइरहेको यस राजमार्ग खण्डको वन तथा निकुञ्ज क्षेत्रमा जङ्गली जनावर राजमार्गलाई वारपार गर्न चारवटा जैविक मार्ग निर्माण भइरहेको आयोजनाका निर्देशक ढकालले जानकारी दिनुभयो ।
गैँडाकोटदेखि दाउन्नेसम्मको जङ्गल क्षेत्रका चार ठाउँमा ‘अन्डर पास’ (जैविक मार्ग) निर्माण भइरहेको उहाँले बताउनुभयो ।

करिब १७ अर्ब रुपियाँ लागत
आयोजनाका अनुसार कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँको लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा विस्तार कार्य भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ ।
एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ छ ।
४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । दुइटै प्याकेज निर्माणको जिम्मा चिनियाँ कम्पनीले नै पाएको छ । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने सडक विभागको दाबी छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले यो राजमार्ग शिलान्यास गर्नुभएको थियो । शिलान्यासको झन्डै छ दशकपछि यो राजमार्गको विस्तार सुरु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?