logo
२०८१ बैशाख ७ शुक्रवार



इतिहास झल्किने, आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी छुः प्रधानमन्त्री

मुख्य समाचार |


इतिहास झल्किने, आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा  खुशी छुः प्रधानमन्त्री
तस्विरः सुजन गुरुङ


सपना थामी
काठमाडौं,वैशाख ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित धरहराको औपचारिक उद्घाटन गर्दै इतिहास झल्किने आधुनिकता टल्किने ऐतिहासिक धरहराको औपचारिक उद्घाटन गर्न पाउँदा खुशी लागेकोे बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक धरहरा देशकोे अतित, इतिहास र जनभावनासँग जोडिएको बताउनुभयो । धरहरा भाँचिदा हाम्रो मन भाँचिएको र इतिहास नै भाँचिएको जस्तो किन हुन्छ ? र धरहरा उठ्दा आफ्नो मन नै उठेजस्तो किन हुन्छ ? किनकी, धरहरा हाम्रो जनजीविका र इतिहाससँग जोडिएको छ, प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सो अवसरमा धरहराको २० तला माथिबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नुभयो । धरहरा पुनर्निर्माणमा सर्वसाधारण जनताले गरेको २४ करोड सहयोग समेत यसमा सामावेश भएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

ऐतिहासिक धरहरा २०७२ को भुकम्प्ले क्षतिग्रस्त बनाएको थियो । प्रधानमन्त्री ओलीले म बनाउँछु मेरो धरहरा भन्दै धरहरा पुननिर्माणको औपचारिक शिलान्यास गर्नुभएको थियो । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको जस्तो देखिए पनि भित्री संरचना भने सुविधा सम्पन्न २२ तलाको छ । 

 यो जमिनबाट ८३.८५ मिटर अग्लाे छ । योभन्दा पहिले ६१.८८ मिटरको  थियो । १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । अहिले धरहरामा दुई वटा लिफ्ट जडान गरिएको छ । पार्किङ क्षेत्र, २४ सै घण्टा पानी झर्ने व्यावस्था, सङ्गीतमय बगैंचा बनाइएको छ ।

प्रधानमनत्री ओलीले भन्नुभयो,“इतिहास झल्किने आधुनिकता टल्किने धरहरा निर्माणका लागि जगदेखि संरक्षणको कुरालाई ध्यानमा राखेर भव्य, सुन्दर र मजबुट धरहरा बनेको छ ।” २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राखेर संरक्षित गर्ने योजना छ ।

महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए । २०७२ सालको भूकम्पमा पुनः भत्किएपछि आर्थिक कोष निर्माण गरी ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?