logo
२०७८ असोज २ शनिवार

दैनिक अध्यावधिक

image
835

सङ्क्रमित

image
1234

निको भएका

image
16

मृत्यु भएका

मिति:आश्विन २, २०७८ (१७:०३)
स्राेत:https://covid19.mohp.gov.np/

    त्यो धरहरा यो धरहरा  



काठमाडौंमा त्यसबेला पनि दुईवटा थिए धरहरा

पढ्नै पर्ने |
राष्ट्रिय |


काठमाडौंमा त्यसबेला पनि दुईवटा थिए धरहरा


प्रकृति अधिकारी

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालासम्म काठमाडौँमा दुईवटा धरहरा थिए । एउटा भीमसेन थापाकै दरबारभित्र र अर्काे काठमाडौँ सहर प्रवेश गर्ने गल्छेडोको सामुन्ने । दिल्ली (भारत)को कुतुब मिनारको नक्कल गर्दै धरहरा बनाउन लगाएका थिए भनिन्छ । सुरुमा बाघदरबार (अचेल बागदरबार भन्ने गरिएको) परिसरमा नै बनाउन लगाएका थिए । अचेल जेल भएको ठाउँ आसपासमा थियो त्यो धरहरा । भीमसेनले निर्माण गर्न लगाएकाले नै भीमसेन स्तम्भ भन्न थालियो । लगत्तै सहर पस्ने गल्ली बाहिर पनि दुरुस्त धरहरा बनाउन लगाइयो । धरहरा वा रानीपोखरी सहर बाहिर नै निर्माण गरिएका थिए । १८८२ सालमा निर्माण गरिएको धरहरालाई ‘रानी धरहरा’ भन्न थालियो । तत्कालीन राजा रणबहादुर शाहकी पत्नी ललितत्रिपुरासुन्दरीले धरहरा निर्माण गर्न लगाएकी थिइन् त्यसैले ‘रानी धरहरा’ भन्ने गरिएको जनश्रुति छ । सँगै ढुङ्गेधारा पनि निर्माण गरियो । जुन सुन्धाराका नामले प्रख्यात छ ।

१८९० सालको भूकम्पले दुवै धरहरालाई पाताल पु¥याइदियो । त्यो धरहरा कति तले थियो भन्ने अभिलेख छैन । त्यस बखत भीमसेन जीवित थिए, तर ललितत्रिपुरासुन्दरीको निधन भइसकेको थियो । १८८८ चैत महिनामा काठमाडौँमा हैजाको महामारी फैलियो र त्यसले महारानी ललितत्रिपुरासुन्दरीलाई पनि बाँकी राखेन ।
भूकम्पले ध्वस्त भएको काठमाडौँ सहरको पुनर्निर्माण थालियो । पुनर्निर्माणका क्रममा एउटा धरहरालाई ठड्याइयो । अर्काे वास्ता गरिएन । किन गरिएन भन्ने लिखत फेला परेको छैन । त्यसैले यसै कारणले हो भन्न सकिने अवस्था छैन । इतिहासकार महेशराज पन्तले भन्नुभयो, “दुवै धरहरा भीमसेनको प्रधानमन्त्रीकालमा बनेको हो । १८९० सालको भूकम्पले भत्किएपछि निजी धरहरा भत्किएको भत्किएरै रह्यो । बागदरबारभित्रको धरहरा किन बनाइएन भन्न सकिदैन ।”

निजी धरहरा भत्किएपछि नयाँ बनाइएको दरबार बाहिरको धरहरालाई भीमसेन स्तम्भको नामबाट नै पुकार्न थालियो । “त्रिपुरासुन्दरीले बनाउन लगाएकोले भीमसेन स्तम्भ भन्न मिल्दैन” उहाँले थप्नुभयो, “तर प्रधानमन्त्री भीमसेन भएकाले उनकै नामबाट भीमसेन स्तम्भ भन्न थालिएको हुनुपर्दछ ।”

१८९० को भूकम्प असोज महिनामा गएको थियो । राजा राजेन्द्रविक्रम शाह, महारानी साम्राज्यलक्ष्मी देवी र मुख्तियार भीमसेन थापाको प्रयत्नबाट पुनर्निर्माणका कार्य असलीढङ्गले अगाडि बढे । नयाँ धरहरा तयार भयो– ११ तल्ले । संस्कृतको धरागृहबाट धरहरा भनी अपभ्रंस भएको कथन पनि छ । २०७२ सालको भूकम्प जाँदासम्म भीमसेन स्तम्भ नै भनिन्थ्यो । अब पनि भीमसेन स्तम्भको नामले पुकारिन्छ वा पुकारिँदैन भन्ने कुरा भविष्यमै थाहा होला ।

पुनर्निर्माण गरिएको धरहरासँग थुप्रै मिथक गाँसिएका छन् । कथा गाँसिएका छन् । इतिहास गाँसिएको छ । नरसंहार सिर्जना गरेर प्रधानमन्त्रीको खिताब हत्याउन सफल बनेका जङ्गबहादुरले धरहराबाट हाम फालेको मिथक सबैभन्दा चर्चित छ । सुरेन्द्रविक्रमको लहडमा हाम फालेको पङ्क्ति केही इतिहासकारले लेख्न बाँकी राखेका छैनन् । जङ्गबहादुरका छोरा पद्मजङ्ले आफ्ना पिताका बारेमा लेखेको ‘जङ्गबहादुरको जीवनयात्रा’मा यस प्रसङ्गलाई उल्लेख गरेका छन्, “युवराज (सुरेन्द्रविक्रम) आफ्ना अनुचर लिएर घुम्दै थिए । अचानक उनी २५० फिट अग्लो धरहरा पुगेर रोकिए । एक्सासि उनीभित्रको बौलाहापन पूर्णरुपमा जागृत भएर आयो । उनी तत्काल जङ्गबहादुरतर्फ फर्के र उनलाई त्यो धरहरा चढ्ने र टुप्पोबाट हाम फालेर तल भुईँमा बिछ्याइएको ढुङ्गाको पेटीमा झर्ने आदेश दिए ।...जङ्गबहादुरले धरहराको ढोकाको तालाकुची राख्ने जिम्मा भएका उनका भाइ बमबहादुरतर्फ पुलुक्क हेरे र ताला लुकाउने इसारा गरे । उनले युवराजतिर फर्केर ‘म दुइटा छाता लिएर धरहराबाट हामफाल्न सक्छु, ती छाता बनाउन कमसेकम १५÷२० दिन लाग्नेछ’ भने ।” जङ्गले युवराजलाई छाता बनाइसकेपछि ‘मौसुफका आँखा अगाडि यो काम गरेर देखाउँछु’ भने तर उनले छाता बनाएनन्, हाम पनि फाल्नु परेन, किनकी त्यो कुरालाई तत्कालीन युवराज सुरेन्द्रविक्रमले बिर्सिसकेका थिए ।
भारदार तथा सैनिकलाई सामेलीको बिगुल फुक्ने चलन भीमसेनले चलाएका थिए । बिगुल फुक्ने गरिएको त्यही धरहरा १९९० सालको भूकम्पले भत्काइदियो । भीमसेन स्तम्भको चार तलामात्र बाँकी रह्यो । त्यो बेलाको भूकम्पका बखत तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर सिकारका लागि महाकाली पुगेका थिए । भूकम्पले नेपाल राज्य ध्वस्त भयो भनेर खबर पाए लगत्तै नेपाल आइपुगे । सिकार टोलीमा खटिएका बालकृष्ण समले आफ्नो पुस्तक ‘मेरो कविताको आराधन’मा लेखेका छन्, “तल्लो चार तल्लामात्र बाँकी रहेको धरहरा ठुन्केको देख्दा कुनै वीर नेपालीको शीर नालापानीमा काटिएर पनि उ चाँहि मुर्कट्टा भएर भीमसेन थापाको ढोकामा पहरा दिइ उभिरहेको जस्तो लाग्यो ।”
ब्रम्हशमशेरले ‘नेपालको भूकम्प १९९०’ पुस्तकमा धरहरालाई करौँतीले काटेका रुखझैं चिराचिरा परेर ढलेको प्रसङ्ग उल्लेख गरेका छन् । नयाँ धरहरामा बारदली बनाइयो । पहिलेकोमा बारदली थिएन । ११ तलेबाट घटाएर नौ तलामा सीमित गरियो । उस्ताद बद्रीले ग्रामोफोन रेकर्ड गरेका बालकृष्ण समद्वारा रचित गीत–
“नेपाल, तँलाई भूकम्पज्वरले सताइ साह्रै दुःखी बनायो,
बिगारी मन्दिर र घर हजारौँ त्यो उच्च धरहरा पनि ढलायो !...”
धरहराबाट सिपाहीले बिगुल फुकेर सामेलीका लागि जानकारी दिएका प्रसङ्गलाई इतिहासका पानाहरुमा पढ्न पाइन्छन् । मुख्तियार माथवरसिंह मारिँदादेखि २००७ सालमा ज्ञानेन्द्र शाहलाई राजा बनाउने कार्य गरिँदासम्म धरहराबाट बिगुल फुकिएकै थिए । उपत्यकाका धेरै ज्येष्ठ नागरिकका कानमा अझै पनि २००७ साल कात्तिकमा फुकिएको बिगुलको ध्वनि कम्पन्न भइरहेका छन् । २००७ सालको प्रजातन्त्र प्राप्तिपछि बिगुल फुक्ने चलन हट्यो । त्यसपछि कहिल्यै धरहराबाट बिगुल फुकिएको आवाज सुनिएन ।
२०७२ सालको भूकम्पले झण्डै झण्डै पाताल नै पु¥याइदियो धरहरालाई । त्यतिञ्जेलसम्म धरहरामा उक्लिएर उपत्यकाको अवलोकन गर्ने चलन सुरु भइसकेको थियो । धरहराको टुप्पामा पुगेकाहरुले ज्यान गुमाए । पुनर्निर्माण गर्न भनियो । तर निर्माण भयो, पुनर्निर्माण गरिएन । पुरातत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालले त्यसबेला धेरैले धरहरा पुनर्निर्माण गर्नु आवश्यक छैन भनेको तर आफूहरुले निकै प्रयास गरेपछि निर्माणको योजना सम्भव बनेको सुनाउनुभयो ।
“धेरैको विरोध रह्यो । स्थानीयहरुसँग पनि शव लिएर जाने बाटो कायम गर्ने सहमति ग¥यौँ । टक्सारदेखि हुलाकसम्मका कार्यालयलाई सार्न सफल भयौँ । सुन्धारालाई नछोप्ने अडानमा सफल भयौँ” उहाँले भन्नुभयो, “धरहरा निर्माणको योजना पारित गराउन निकै सङ्घर्ष गर्नुपरेको थियो । नयाँ धरहरा बनेको देखेपछि सुखद् अनुभूति भएको छ ।”
तीन अर्ब ४८ करोड रुपियाँको लागतमा निर्माण गरियो । इतिहास साक्षी रहेको त्यो धरहरालाई जस्ताको तस्तै राखिएको छ । सँगै ठडिएको नयाँ धरहराले नयाँ इतिहासका पाना लेख्ने नै छ ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?