logo
२०७८ जेष्ठ ५ बुधवार



समस्या बन्दै अटिज्म

खुला |


समस्या बन्दै अटिज्म


सरोज ढुङ्गेल

काठमाडौँ, चैत २२ गते । डा. सुनीता मलेकू अमात्य पेसाले चिकित्सक हुनुहुन्छ । उहाँ ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा एनेस्थोलोजिस्ट (बेहोस बनाउने डाक्टर)का रूपमा कार्यरत हुनुहुन्छ तर अप्रिल महिना अटिज्म सचेतना मनाउने महिना भएकाले उहाँ अटिज्मबारे जनचेतना जगाउन व्यस्त हुनुहुन्छ ।
सन् २००८ मा उहाँको छोरालाई अटिज्म भएको पुष्टि भइसकेपछि डा. सुनीता भारतमा गएर अटिज्म केयरसम्बन्धी तालिम लिएर नेपाल आउनुभयो । त्यसपछि उहाँले अटिज्म भएका बालबालिकाका लागि अटिज्म केयर नेपाल सोसाइटी नामक संस्था सञ्चालन गरेर जनचेतना, बहस र पैरवी चलाउन थाल्नुभयो । उहाँले नेतृत्व गर्नुभएको संस्थामा एक हजारभन्दा बढी अटिज्म भएका बालबालिकाका अभिभावक छन् ।
उहाँ तिनै अटिज्म भएका बालबालिकाको हेरचाहमा खटिरहनुभएको छ । अटिज्म भएका १६० जना बालबालिका अटिज्म केयर नेपाल सोसाइटीमा रहेको डा. सुनीताले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको सम्पर्कमा आएका अटिज्म भएका बालबालिकाको सङ्ख्या मात्र एक हजारभन्दा बढी छ । नेपालमा कति बालबालिका यस रोगबाट पीडित छन् भन्नेतर्फ कुनै अध्ययन नभएको उहाँको भनाइ छ ।
डा. सुनीताका अनुसार अटिज्मबारे देशव्यापी रूपमा कुनै तथ्याङ्क नभए पनि कुल जनसङ्ख्याको एक प्रतिशतमा अटिज्म भएको अवस्थामा पनि झन्डै तीन लाख व्यक्ति अटिज्मबाट पीडित रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पनि जनसङ्ख्याको एक प्रतिशतमा अटिज्म हुने गर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार पनि ५४ जनामध्ये दुई व्यक्तिलाई अटिज्म भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अटिज्म रोग नभई अपाङ्गता हो । अटिज्मलाई पूर्ण रूपमा निको गर्न नसकिने भएकाले रोगका रूपमा मानिँदैन । यस्तै कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतका अस्पतालमा अटिज्म भएका बालबालिका धेरै छन् । अटिज्म हुनुका कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण पत्ता लाग्न सकेको छैन ।
अटिज्मको लक्षणमा बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहो¥याउने र फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रिया देखाउने, खेलौना नखेलाई बस्ने, साना बच्चासँग नखेल्ने, एकोहोरो हुनेजस्ता लक्षण देखिन्छन् । उहाँले ‘अटिज्म भएका बालबालिकाका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्ष अर्थात् सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु हो ।
अटिज्मका लागि औषधि उपचार नभए पनि उनीहरूमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी गर्ने गरिन्छ । अटिज्म भएका बालबालिकालाई ‘बिहेबियर एन्ड कम्युनिकेसन थेरापी’ र ‘अकुपेसन थेरापी’का माध्यमबाट मात्र उपचार गर्न सकिन्छ । उनीहरूलाई खेलको माध्यमबाट धेरै कुरा सिकाउनुपर्ने हुन्छ ।
अटिज्म भएका बालबालिकामा सामाजिकीकरण र व्यवहारमा समस्या हुने गरेको डा. सुनीताले जानकारी दिनुभयो । उनीहरूलाई तालिम दिएर क्षमताअनुसारको काम दियो भने गर्न सक्ने उहाँको भनाइ छ । डा. सुनीताले अटिज्म छोरा मानिसलाई धेरै हुने बताउनुभयो । छोरी मानिसमा भने चारमध्ये एकमा मात्र अटिज्म हुने गरेको छ ।
डा. सुनीताका अनुसार अटिज्म एक प्रकारको ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ हो । अटिज्ममा बालबालिका सामान्य बालबालिकासरह गतिविधि देखाउन सक्दैनन् । बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास हँुदैन । छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिँडेको वा अटिज्म लक्षण भएको अवस्थामा पनि यस्तै हो भन्ने गर्छन् । अटिज्म भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गर्छ ।
डा. सुनीताले सामान्यतः दुईदेखि अढाई वर्षको अन्तरमा अटिज्म हो भनेर पत्ता लागिसक्ने बताउनुभयो । बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ । यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथीभाइसँग इशाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, एकोहोरो हुने, साथीभाइ बनाउने र मिलेर खेल्ने गर्दैनन् ।
डा. सुनीताका अनुसार बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिज्मका लक्षण तथा चिह्न देखा परिसक्छन् । अटिज्म भएका बालबालिकाले साथीभाइलाई धकेल्ने, कुटपिट गर्ने, एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने वा खेलौनालाई खेलौनाअनुसार नखेल्ने, कुनै क्रियाकलाप गर्दा एकोहोरिने, आफूलाई चोटपटक लागेको थाहा नपाउने, पढाइलेखाइमा ध्यान केन्द्रित नहुने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, मनमा लागेको कुरा भन्न नसक्ने, साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने खालको लक्षण हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?