logo
२०८१ बैशाख ७ शुक्रवार

  फाेटाे फिचर सहित  



राष्ट्रपति भण्डारीबाट मेलम्चीको पानी वितरण शुभारम्भ

मुख्य समाचार |


राष्ट्रपति भण्डारीबाट मेलम्चीको पानी वितरण शुभारम्भ
तस्बिर: सुजन गुरूङ्ग


सपना थामी

काठमाडाैं, चैत २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट चैत १५ गते उपत्यकाबासीको धारामा झरेको मेलम्चीको पानीको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीद्वारा तीनवटा ढुंगेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएकाे हो । अब सो सार्वजनिक ढुंगेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । ढुंगेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपति भण्डारीले स्वीच थिची औपचारिक उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी राजधानीबासीका लागि नयाँ उपहार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्याका कारण खानेपानी समस्या देखिदै आएकोमा मेलम्चीको पानीले नागरिकलाई खुशी प्रदान गरेको बताउनुभयो ।
उहाँले विकास निर्माणमा यदाकदा अवरोध सिर्जना हुनु चिन्ताको विषय भएपनि सरकार र सम्बन्धित सबैले देश विकासको विषयमा सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले भने स्वास्थ्य प्रतिकूलताका कारण कार्यक्रममा उपस्थिति हुनुभएकाे छैन । खानेपानी मन्त्रीमार्फत दृश्य सन्देश भने प्रवाह भएकाे छ ।

काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न हुनु काठमाडौ उपत्यकाबासीको लागि एक पर्व भएको बताउनुभएको छ । पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी आएसँगै वर्तमान सरकारकै पालामा याङ्ग्री र लार्केको पानी काठमाडौ आउनुपर्ने अपेक्षा पनि काठमाडौबासीको रहेको उहाँले बताउनुभयो ।

मेयर शाक्यले आफूले आफ्नो नेतृत्वमा मेलम्चीको पानी काठमाडौं आउने प्रतिबद्धता जाहेर गरेको ४ वर्षपछि काठमाडौंमा मलम्चीको पानी आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्छ र जे गर्नुहुन्छ, त्यो बोल्नुहुन्छ भन्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम पनि छिटोभन्दा छिटो सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत अधिकांश मन्त्रीहरुको उपस्थिति रहेको छ । सरकारका विभिन्न ओहोदाका प्रमुखहरुको सहभागिता छ । कार्यक्रममा मेलम्ची र राष्ट्रियता सम्बन्धित विभिन्न साँस्कृतिक झाँकीहरुको प्रस्तुती देखाइएकाे छ ।

तस्बिर: सुजन गुरूङ्ग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?