logo
२०८१ बैशाख ८ शनिवार

   सन्दर्भ विश्व मिर्गौला दिवस   



स्वदेशमै परीक्षण र उपचार सम्भव

मुख्य समाचार |


स्वदेशमै परीक्षण र उपचार सम्भव


सरोज ढुङ्गेल
काठमाडाँैं, फागुन २७ गते । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहँु बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो । नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताउनुभयो । डा. श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिनुभयो । तर मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मृर्गौला रोगको उपचारमा आउने गरेको उहाँको भनाइ छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठले बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताउनुभयो ।
सिन्धुपाल्चोककी सुनिता केसी (नाम परिवर्तन) भक्तपुरको क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्नुहुन्थ्यो । बुबा एक विद्यालयमा सुरक्षा गार्डको जागिर गर्ने भएकोले आर्थिक अवस्था त्यति राम्रो थिएन । त्यसैले उहाँले साना कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाएर आफ्नो कलेज खर्च धान्नु भएको थियो । २२ वर्षीया सुनितालाई केही महिना अघि मात्र अत्याधिक टाउको दुख्ने, आँखा दुख्ने समस्या देखाप¥यो । खप्न नसकेपछि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला खराब भएको पाइयो । केही दिन त उहाँले आँखा पनि देख्नु भएन । अहिले उहाँ नियमित डाइलासिसमै हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण ट्युसन पढाएर पढाइखर्च धान्नुभएकी सुनितालाई डायलासिस धान्न पनि कठिन छ ।
सुनिता जस्ता सानै उमेरमा धेरै मानिसको यसरी नै मिर्गौला खराब भइरहेको छ । रक्तचाप मात्र नियमित परीक्षण गरिदिएको भए पनि मिर्गौला बचाउन सकिने चिकित्सकहरुको भनाइ छ । नियमित मिर्गौलाको परीक्षण गर्न पिसाबमा क्रिटिनाईनको मात्रा हेरे पुग्छ । त्यसको लागि सरकारी अस्पतालमा एकसयदेखि १५० सम्म रुपियाँ खर्च हुन्छ । पछिल्लो केही वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । उक्त बीमा कार्यक्रम अहिले देशभर ५० जिल्लाभन्दा बढी जिल्लामा कार्यान्वयनमा आइसकेको हुनाले मानिसलाई उपचार गर्न र नियमित स्वास्थ्य परीक्षण गर्न सम्भव छ ।
मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठले वर्षमा एक पटक पिसाबको परीक्षण गरे मात्र पनि मिर्गौैला रोगबारे थाहा हुने भन्दै सबैलाई वर्षमा एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिनुभयो ।
खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय यसका रोगी बढेको भन्दै डा. श्रेष्ठले मानिसले आफ्नो स्वास्थ्यको हेरचाह आफै गरे रोगबाट बच्न सकिने बताउनुभयो ।
डा. श्रेष्ठले नेपालमा मृर्गौला रोगी बढेसँगै उपचार विधिमा पनि सहज र सुधार आएको जानकारी दिनुभयो । केही वर्ष अघिसम्म नेपालमा मृर्गौला रोगको उपचार तथा प्रत्यारोपण गर्न भारत लगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँचसय भन्दा बढीको प्रत्यारोपण गर्दै आएको छ । केन्द्र बाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मृर्गौला प्रत्यारोपण हुने गरेकोमा हाल स्थगित भएको छ ।
मानिसहरु विदेश गएर मिर्गाैलाको उपचार गर्दथे डा. श्रेष्ठले भन्नुभयो,“अहिले नेपालमा मिर्गौला उपचार सहज भएपछि मिर्गाैला रोगको उपचार सहज बनेको छ ।”
नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो भने अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो ।
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गाैला रोग लाग्ने गरेको बताउनुभयो ।
डा. काफ्लेले उच्च रक्तचाप तथा मधुमेह भएका बिरामीहरुको मिर्गौला फेल हुने गरेको जानकारी दिँदै सामान्य मानिसले पनि आफ्नो स्वास्थ्यको हेरचाह गरे यसबााट बच्न सकिने बताउनुभयो । डा. काफ्लेका अनुसार नेपालमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ ।
यसैबीच बिहीबार विश्व मिर्गौला दिवस मनाउन लागिएको छ । ‘मिर्गाैला रोग लागे पनि राम्ररी जीउँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?