logo
२०८० चैत्र १६ शुक्रवार



जनगणना कार्यमा महिलाको आकर्षण बढी

खुला |


जनगणना कार्यमा महिलाको आकर्षण बढी


नगेन्द्र सापकोटा

काठमाडौँ, फागुन १७ गते । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक पदमा गरेको विज्ञापनमा महिलाको आवेदन बढी परेको छ ।
विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञान गरेको थियो । दुवै पदमा पुरुषको तुलनामा महिलाको आकर्षण बढी देखिएको छ । आगामी चैत ११ गतेसम्ममा आवेदन दिन सकिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
आइतबारसम्ममा ८४ हजार २८० जना आवेदकले अनलाइन माध्यमबाट दिएको आवेदनमा महिला ४६ हजार ३२४, पुरुष ३७ हजार ९०२ जना र तेस्रो लिङ्गी ५४ जनाले आवेदन दिएका छन् । त्यस क्रममा २९ हजार २३२ जनाले दिएको आवेदनको रुजु गर्न बाँकी छ ।
उक्त सङ्ख्यामध्ये गणक पदमा महिला ३४ हजार ८१८ र पुरुष २७ हजार १०५ जना र सुपरिवेक्षक पदमा महिला तीन हजार १५४ र पुरुष तीन हजार ७९२ जनाले आवेदन दिएका छन् । गणक र सुपरिवेक्षक दुवै पदमा आवेदन दिनेमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । दुवै पदमा आवेदन दिने महिला आठ हजार ३५२ र पुरुष सात हजार पाँच जना छन् ।
विभागका निर्देशक ढुङ्डीराज लामिछानेले समयावधि सकिँदासम्म करिब दुई लाख जनाको आवेदन पर्न सक्ने अनुमान गरिएको बताउनुभयो । आवेदन दिएकामध्ये मेरिटका आधारमा सूची तयार गरी स्थानीयलाई प्राथमिकतामा राखेर छनोट गरिने छ । विभागले तथ्याङ्क र जनसङ्ख्यासम्बन्धी विषय लिएर अध्ययन गरेका आवेदकलाई प्राथमिकतामा राखेर छनोट गर्ने जनाइएको छ ।
उहाँले भन्नुभयो, “बेरोजगारको सङ्ख्या बढ्दै गएकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएको हुन सक्छ । ” आगामी २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणनाका लागि उक्त जनशक्ति करार सेवामा लिन लागिएको हो ।
चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्लामा जनगणना कार्यालय खोलिने, चैत ५ देखि ११ गतेसम्म दरखास्त फाराम सम्बन्धित प्रदेश र जिल्ला कार्यालयमा पनि बुझाउन सकिने व्यवस्था गरिएको छ । आगामी वर्ष गरिने जनगणनाका लागि ‘मेरो गणना मेरो सहभागिता’भन्ने नारा तय गरिएको छ । आगामी असार ८ गतेलाई सरकारले जनगणना दिवसका रूपमा मनाउँदै छ । नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना
गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?