logo
२०८० चैत्र १६ शुक्रवार



अख्तियारले अलग्गै प्रयोगशाला बनाउने

राष्ट्रिय |


अख्तियारले अलग्गै प्रयोगशाला बनाउने


भउचप्रसाद यादव

काठमाडौँ, फागुन १५ गते । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।
आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै प्राविधिक प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार, काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालय परिसरसहित अयोगका अन्य छवटा कार्यालय इटहरी, बर्दिबास, हेटाँैडा, पोखरा, नेपालगञ्ज, कञ्चनपुरमा निर्माण कार्य भइरहेको छ ।
उहाँले भन्नुभयो, ‘‘केही समययता भौतिक पूर्वाधार निर्माणमा गुणस्तरीय काम नभएको, सम्झौता अनुसारको काम नभएको, व्यापक अनियमितता भएकालगायतका उजुरीहरू आयोगमा आउने क्रम बढेका छन्, त्यस्ता उजुरीहरूको अनुसन्धान गर्न निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका
भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्नुपर्ने हुन्छ । ’’ चालू आर्थिक वर्षभित्र प्रयोगशालाहरू सञ्चालनका लागि अन्य निकायबाट प्राविधिक कर्मचारीहरू सरुवा गराएर वा करारमा नियुक्ति गरिने उहाँले जानकारी दिनुभयो ।
अख्तियारले यसअघि भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्ने क्रममा सडक विभाग, इन्जिनियरिङ कलेजका प्रयोगशाला प्रयोग गर्दै आएको थियो । आफ्नै प्रयोगशाला भएको अवस्थामा अनुसन्धानको थप विश्वसनीयता, गोपनीयता तथा गुणस्तर कायम गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।
अख्तियारको प्राविधिक परीक्षण तथा मूल्याङ्कन महाशाखाका प्रमुख रामाकान्त दुवाडीले निर्माणका क्रममा कमसल सामग्रीको प्रयोग भएको वा निर्मित संरचनाहरूको गुणस्तर तोकेबमोजिमको निर्धारित मापदण्ड अनुसारको काम नभएको भन्दै परेका उजुरीको अनुसन्धानका लागि आयोगले आफ्नै प्रयोगशाला निर्माण गरिरहेको बताउँदै सोका लागि आयोगले निर्देशिका समेत तयारी गरिसकेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?