logo
२०८१ बैशाख १२ बुधवार



बालबालिकाको भविष्य जस्तो हुन्छ देशको भविष्य त्यस्तै हुन्छः प्रधानमन्त्री ओली

मुख्य समाचार |


बालबालिकाको भविष्य जस्तो हुन्छ देशको भविष्य त्यस्तै हुन्छः प्रधानमन्त्री ओली


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आर्थिक हिसावले अरुभन्दा तुलनात्मक केही गरिब भएपनि मन र मूल्य मान्यतामा गरिब नरहेको बताउनुभएको छ । बालबालिका भविष्यका नीधि भएकाले बालबालिकाको संरक्षणमा सबै अभिभावकको कर्तव्य भएको उहाँले चर्चा गर्नुभयो ।
आफ्नो ७० औं जन्मदिनको अवसरमा आज बालमन्दिरका बालबालिकासँगको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “बालबालिकाको भविष्य जस्तो हुन्छ, देशको भविष्य पनि त्यस्तै हुन्छ” उहाँले भन्नुभयो, “यो जनताको सरकार हो, जनताको समस्याहरु हेर्छ, भविष्यका लागि काम गर्दैछौं ।” बालबालिका देशका भविष्य भएकाले बालबालिकाको संरक्षण, उचित स्याहार तथा उचित शिक्षा आवश्यक रहेको बताउनुभयो ।
“देशका सबै बालबालिकाले अभिभाकत्व पाउनुपर्छ, बालसुलभ वातावरण पाउनुपर्छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “यदि कुनै बालबालिकाको अभिभावक छैनन्, भने सरकार अभिभावक हो, यथोचित व्यवस्था सरकारले गर्छ ।” कुनै बालबालिकालाई अवसरबाट बन्चित नगरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बाल मन्दिरको सुधार अझ आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले त्यसमा सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित सबैभन्दा सानो बालिका आरती उपाध्यायलाई केक काटेर खुवाउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री जुलीकुमारी महतोले बालबालिकाको अधिकार सुनिश्चित् गराउनमा मन्त्रालयको तर्फबाट हर प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा मन्त्री महतोले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना पनि दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?