logo
२०७८ बैशाख ६ सोमवार



कोरोनासँगै स्वास्थ्य पूर्वाधारमा छलाङ

स्वास्थ्य |


कोरोनासँगै स्वास्थ्य पूर्वाधारमा छलाङ


सरोज ढुङ्गेल

एक वर्ष अघिदेखि नेपालमा मात्र होइन विश्वभर कोरोना भाइरस (कोभिड–१९) नयाँ रोगको रूपमा देखाप¥यो । पहिलोपटक चीनको वुहानमा देखापरेको कोरोनाले केही समयपछि विश्वव्यापी रूप लियो । यसले विश्वलाई सन्त्रस्त बनायो । विश्व अर्थतन्त्रमा ठूलो धक्का पु¥यायो । महिनौँ विश्वमा कडा बन्दाबन्दी भयो । नेपालमा पनि ९० दिनभन्दा बढी निरन्तर रूपमा बन्दाबन्दी भयो । बन्दाबन्दीले एकबाट अर्को व्यक्तिमा कोरोना भाइरस सर्नसक्ने सम्भावनालाई धेरै हदसम्म रोक्यो तर पनि कोरोना भाइरस फैलिने क्रम रोकिएन । नेपालमा गतवर्ष चैत ११ देखि लकडाउन सुरु भयो । चैत ७ मा फ्रान्सबाट नेपाल आएकी एक युवतीलाई कोरोना पोजेटिभ देखियो । त्यहाँदेखि कोरोना देखिन सुरु गरेको नेपालमा पहिलो चरणमा तराईमा दैनिक सयौँलाई कोरोना पुष्टि हँुदै गयो । त्यो बेला काठमाडौँ उपत्यकामा एकजना व्यक्तिलाई पनि कोरोना सङ्क्रमण भएको थिएन । काठमाडाँै सुरक्षित नै थियो । जब काठमाडौँमा कोरोना देखिन सुरु ग¥यो तब काठमाडौँ कोरोनाको केन्द्र बन्दै गयो । अहिले पनि धेरै सङ्क्रमण काठमाडौँमै छ । पछिल्लो समय समग्रमा देशभर नै कोरोना भाइरसको सङ्क्रमित सङ्ख्या कम भए पनि कुल सङ्ख्याको आधाभन्दा धेरै काठमाडौँमा देखापरेको छ ।
कोरोना भाइरसको सुरुवाती चरण नेपालीका लागि सुखद रहेन । देश बन्दाबन्दीमा थियो । चीनको वुहानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाल आउन उद्धारको माग गरे । उनीहरूका आफन्तजनले उद्धारका लागि दिनहुँ आवाज उठाए । नेपाल सरकारले उद्धार गर्ने भनेपछि १८० जना विद्यार्थीले नेपाल आउन फाराम भरे तर नेपालमा क्वारेनटाइन कहाँ बनाउने र कहाँ राख्ने विषयमा अन्योल छायो । नयाँ भाइरस, नयाँ रोग भएकोले विशेषज्ञहरू पनि अन्योलमै थिए । भक्तपुरस्थित खरिपाटीमा क्वारेनटाइन बनाउने तयारी भयो तर स्थानीय स्तरमै विरोध भयो । तैपनि सरकार पछि हटेन । उद्धार गरी ल्याइएका विद्यार्थीहरूलाई खरिपाटीमा राखियो । १७ दिन क्वारेनटाइनमा राखिसकेपछि दुईपटक उनीहरूको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । सबैजना खुसी भएर घर फर्के ।
कोरोना सङ्क्रमण सुरु भएपछि नेपालमा दिन दुईगुना र रात चौगुना कोरोना पुष्टि हुन थाल्यो । विस्तारै चिकित्सक र नर्स तथा अन्य स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुन थाले । सुरुमा त विदेशबाट आएकाहरूलाई मात्र देखा परेकोले दोस्रो चरणमा कोरोना प्रवेश भएको थिएन । विस्तारै स्थानीय स्तरमा कोरोना देखिन थाल्यो । कोरोनाले गर्दा गत जेठ महिनादेखि मानिसको मृत्यु हुन थाल्यो । दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित हुन थाले । नेपालमा सक्रिय सङ्क्रमित २५ हजारभन्दा माथि पुगेको अवस्थामा अस्पताल र बेड नपाइने भन्दै स्वास्थ्य मन्त्रालयले पुनः लकडाउन गर्न आग्रह ग¥यो । तर लकडाउनले गर्दा देशको अर्थतन्त्र धराशायी भएकोले सरकारले स्वास्थ्य मन्त्रालयको आग्रहलाई अस्वीकार ग¥यो । कोरोनाले गर्दा अस्पतालमा बेड पाउन कठिन भयो । सरकारले ठूला होटल, कलकारखाना, सङ्घसंस्थाका भवन लगायतलाई आइसोलेसन बनाएर बिरामीको उपचार गर्न सुरु ग¥यो । सामान्य बिरामीलाई आइसोलेसनमा र जटिल बिरामीलाई मात्र अस्पतालमा भर्ना गरियो । जटिल बिरामीले अस्पतालमा बेड पाउन पनि मुस्किल हुने अवस्था आयो । बेड पाउनकै लागि ठूलो पावर लगाउनुपर्ने स्थितिको सिर्जना भयो । स्वास्थ्य मन्त्रालयमा काम गर्ने कर्मचारी वा उनीहरूकै आफन्तले समेत कोरोना उपचारमा बेड नपाउने स्थिति पैदा भयो । स्थिति भयावह र जटिल बन्दै गएपछि सरकारले सबै अस्पताललाई कोरोनाको मात्र उपचार गर्न निर्देशन दियो । निजी अस्पतालले पनि कोरोना बिरामीलाई राखेर उपचार गर्नैपर्ने अवस्था आयो । सरकारले कोरोना बिरामीलाई उपचार गर्नकै लागि ननकोभिड बिरामी र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई तत्काललाई स्थगित गर्न निर्देशन दियो । विस्तारै देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गयो । २५ हजारलाई मात्र धान्ने अस्पतालले सक्रिय सङ्क्रमित नै ४७ हजारसम्म पुगे ।
पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या सत्र सय रहेको छ । हाल दैनिक ५० देखि सयको हाराहारीमा मात्र सङ्क्रमित थपिने गरेका छन् । पहिलेको तुलनामा यो सङ्ख्या धेरै कम हो । त्यसो त पछिल्लो समय कोरोनाविरुद्धको खोप पनि नेपालमा आइसकेको छ । दुई लाख हाराहारीको सङ्ख्यामा नेपालीले कोरोना खोप लगाइसकेका छन् । पहिलो प्राथमिकतामा पर्ने स्वास्थ्यकर्मी,पत्रकार,जनप्रतिनिधि,प्रहरी,सरकारी कर्मचारी,बैङ्कका कर्मचारीले खोप लगाउने कार्य जारी छ । क्रमशः सबै नेपाली जनतालाई खोप लगाउने सरकारी अभियान जारी छ । सरकारले २० लाख जनसङ्ख्यालाई पुग्ने खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ । नेपालले कोभ्याक्स सुविधाबाट पनि अनुदानमा खोप पाउनेछ । यसले पनि कोरोना नियन्त्रणमा धेरै मद्दत पु¥याउनेछ ।
नेपालमा कोरोना देखिएको एक वर्षभित्रै कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याइयो । कसैले पनि यति छिट्टै खोप आउँछ र लगाउन पाउनेछन् भनेर कल्पनासमेत गरेका थिएनन् । यसलाई नेपाल सरकारको ठूलो उपलब्धिका रूपमा लिनुपर्दछ । सुरुमा नेपालमा कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएर हङकङ पठाउने गरिन्थ्यो । अहिले नेपालमै ८५ वटा प्रयोगशालाबाट कोरोनाको परीक्षण हुन्छ । सरकारले कोरोनाको निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । परीक्षणसँगै उपचार पनि निःशुल्क गरिरहेको छ ।
समग्रमा नेपालले कोरोना नियन्त्रणमा गरेका काम धेरै राम्रा छन् । त्यस कारणले पनि ठूलो जोखिम हुनबाट हामी जोगिएका हौँ । आकस्मिक रूपमा महामारीमा त्यसले पु¥याउने क्षति, त्यसले दिने चोट एकातिर हुन्छ । आर्थिक,सामाजिक र स्वास्थ्य प्रणालीमा दिने चोट एकातिर हुन्छ । त्यो स्वाभाविक रूपमा नेपालमा पनि छ । कोरोनाले अर्थसामाजिक व्यवस्थामा पनि धेरै प्रभाव पारेको छ । तर राम्रो पक्ष नेपाल स्वास्थ्य प्रणालीमा कहाँ कहाँ कमजोर छ ? हामीले कहाँ कहाँ सुधार गर्नुपर्छ ? भन्ने विषय पनि प्रष्ट देखाइदिएको छ । अब कुनै पनि महामारी वा विपद् आउँदा कसरी अगाडि बढ्ने भन्ने कुराको पाठ पनि सिकाएको छ । हामी कहाँ कमजोर छौँ र कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनी स्वास्थ्य प्रणालीलाई सबलीकरण गर्न मार्गप्रशस्त छ । त्यही भएर महामारीलाई अवसरको रूपमा लिएर थप काम गर्दै जानुपर्छ । अहिले अस्पतालहरू सुदृढीकरण भएका छन् । कोरोना नियन्त्रणमा धेरै काम भएको छ । अन्तर संस्था समन्वय गर्नका लागि धेरै ठूला प्रयास भएका छन् । केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयमा काम भइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार
सरकारले तीन सयभन्दा बढी स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागेको छ । ठूला अस्पतालका पूर्वाधारमा पनि धेरै काम भएका छन् । नयाँ मेसिनदेखि लिएर भौतिक संरचनालाई अगाडि बढाइएको छ । ठूलो अस्पतालमा अक्सिजन प्लान्ट राख्ने कामदेखि अक्सिजन सिलिन्डर थप्ने काम भएका छन् । जनशक्तिको व्यवस्थापन र प्रणालीगत विषयमा पनि ठूला अस्पतालमा काम भएका छन् । सातवटै प्रदेशमा सरुवा रोग अस्पताल ५० बेडको बनाउन काम अगाडि बढेको छ । कुनै प्रदेशमा डीपीआर तयार हुँदैछ भने कुनै प्रदेशमा टेन्डर प्रक्रिया सुरु भइसकेको छ । चारवटा केन्द्रीय र प्रदेश अस्पतालमा ५० बेडको आकस्मिक बेड बनाउन थालिएको छ । नारायणी अस्पताल, कोशी अस्पताल, भरतपुर अस्पताल र पोखरा अस्पतालमा ५० बेडका आकस्मिक बेड बन्दैछन् । सातवटा प्रदेशमा भ्याक्सिन स्टोर हाउस बनाउने कार्य पनि तीव्र गतिका साथ भइरहेको छ । ६४९ वटा स्थानीय तहमा पाँच बेडको आधारभूत अस्पताल सञ्चालन गर्न जनशक्ति तयार गरिएको छ ।

स्वास्थ्यक्षेत्रको पूर्वाधारमा क्रान्ति
डा. गुणराज लोहनी, प्रमुख, नीति योजना महाशाखा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
जिल्ला तहका अस्पताललाई २५ र ५० बेडका अस्पताल बनाउन जनशक्ति र भवनबाहेक बेडहरू थप्न बजेट छुट्याइएको छ । प्रदेश तहको अस्पताललाई दुई सय बेड बनाउने र केन्द्रको अस्पताललाई पाँच सय बेडको अस्पताल बनाउने प्रक्रिया अगाडि बढेको छ । अस्पताल निर्माणको लागि आवश्यक सामग्री तथा बजेटको व्यवस्था भइसकेको छ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न १० स्थानमा ट्रमा युनिटको व्यवस्था गर्ने कार्य अगाडि बढाएको छ । बर्दिवास, सिरहा, भरतपुर अस्पताल, मलेखु, गण्डकी प्रदेशमा भानु नगरपालिका, लुम्बिनी प्रदेशको रिडी स्वास्थ्यकेन्द्र, कर्णाली प्रदेशको राकमकर्णाली स्वास्थ्यचौकी, सुदूरपश्चिम प्रदेशमा बैतडीमा ट्रमा युनिट सञ्चालन हुन लागेको छ । वीर अस्पताल लगायतका अस्पतालमा पहिलेकै योजना हुन् । पहिलेका योजनाहरू पूरा भइसकेका छन् । यी कोभिड अवधिभित्रैका पूर्वाधार निर्माणका योजना भएकोले स्वास्थ्य क्षेत्रमा तीव्र विकास भएको अनुमान सहजै लगाउन सकिन्छ । विकासको दृष्टिकोणबाट ठूलो छलाङ मारेको अवस्था छ । शिलान्यास भएका अस्पतालमा तीन सयमाथिका अस्पतालमा काम सुरु भइसकेको छ । स्वास्थ्यक्षेत्रमा अग्रगामी सफलताका रूपमा सरकारले नोभेम्बर २०२० मा हरेक स्थानीय तहमा ५ देखि १५ बेडको अस्पताल निर्माणको लागि शिलान्यास भएर काम अगाडि बढाएको छ । अस्पताल निर्माण अभियान स्वास्थ्य क्षेत्रमा अनुकरणीय छ । प्रत्येक स्थानीय तहमा अस्पतालहरूको स्थापना सङ्घीय प्रणालीको सफल कार्यान्वयन हो । यो प्रत्येक नागरिकका लागि ठूलो उपलब्धि हो । स्थानीयस्तरमा अस्पताल निर्माणले सानो रोगका बिरामीहरूको उपचारका लागि टाढासम्म धाइरहनुपर्ने बाध्यताको अन्त्य हुनेछ । राजनीतिक नेताहरूले सरकारको यो कदमलाई क्रान्तिकारी कदम भनेका छन् । जुन कार्यले सबै नागरिकलाई स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्नेछ । स्थानीय स्तरमा सुसज्जित पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको उपलब्धतालाई जनताको स्वस्थ जीवनको मौलिक हकको रूपमा लिइएको छ ।

कोरोना नियन्त्रणमा नेपालको ठूलो सफलता
डा. समीरकुमार अधिकारी,
सहप्रवक्ता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सुरुवाती दिनमा कोरोनामा धेरै गाह्रो भएको थियो । चीनबाट विद्यार्थी ल्याउँदासमेत क्वारेटाइनमा राख्न र व्यवस्थापन गर्न पनि गाह्रो भयो । समाज डराएको थियो । समाजले सामूहिक रूपमा प्रतिवाद गरेको थियो । समाज डराएको घटनाबाट कोरोनाबारे चर्चा भएको हो । त्यसपछि विस्तारै सङ्क्रमित हँुदै जाँदा होम आइसोलेसनमा पनि मानिसहरूलाई राख्न थालियो । होम आइसोलेसनमा मानिसलाई राख्नुपर्छ भन्दा पनि समाजले स्वीकारेको अवस्था थिएन । नयाँ रोग, नयाँ महामारी, विज्ञहरू पनि अन्योल हुने स्थितिमा समाज डराउनु स्वाभाविकै हो । त्यो बेला विज्ञान पनि अन्योल अवस्थामा थियो । विज्ञानका प्रमाणहरूको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि कोरोनाबारे जानकारी दिएको हो । पछि नियमित ढंगले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिन थालियो । जसले गर्दा सर्वसाधारणमा आधिकारिक निकाय र विज्ञानप्रति विश्वास बढ्यो । विज्ञानले यति छोटो समयमा यति धेरै प्रभावकारी खोपहरू संसारको इतिहासमै खोपको विकास भयो । तैपनि विज्ञानलाई समाजले चुनौती दिएको जस्तो, नमानेको जस्तो भ्रम बढी आउन थालेको छ । आधिकारिक निकायको कुरालाई पनि भ्रम पो हो कि भन्ने मानसिकता समाजमा छ । सबै अन्योलमा भएको बेला जान्दै नजानेको मानिस विज्ञ भनेर निस्केको अवस्था आयो । नेपालले कोरोना नियन्त्रणमा गरेको रेस्पोन्सलाई सर्सर्ती हेर्ने हो भने धेरै राम्रो मान्न सकिन्छ । प्रयोगशाला विस्तारमा धेरै काम भएका छन् । प्राविधिक हिसाबले नेपाल अगाडि बढेको देखिन्छ । प्रयोगशाला काम लाग्दैन, वातावरणीय प्रभाव पर्न सक्छ भनिरहेका थियौँ । त्यो बेला त्यस्ता भ्रम पनि आए ।