logo
२०८१ बैशाख ७ शुक्रवार



सिर्जनात्मक काममा स्थानीय तह

मुख्य समाचार |


सिर्जनात्मक काममा स्थानीय तह


नगेन्द्र सापकोटा

काठमाडौँ, फागुन १ गते । काठमाडौँ जिल्लाभित्रका स्थानीय तहले सिर्जनात्मक र नयाँ कार्य गर्न थालेका छन् ।
स्थानीय तहको निर्वाचन भएको करिब चार वर्ष पुग्न लाग्दा काठमाडौँभित्रका नगरपालिकाले फरक प्रकृतिका सिर्जनात्मक काम गर्ने सुरु गरेका हुन् । स्थानीय तहमा सरकार भएको महसुस गर्ने गरी यहाँका नगरपालिकाले नवीन कार्य गर्न लागेका हुन् ।
कुनै नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्न सुरु गरेका छन् भने कतै एक घर एक बिरुवा अनिवार्य रोप्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाएको छ । कुनै नगरपालिकाले शान्ति सुरक्षाका लागि नगरको चोक चोकमा सीसीटीभी जडान गरेका छन् । स्थानीय नागरिकका चाहना, आवश्यकताअनुसार विकास निर्माण र सुशासनका काम गर्ने योजना यहाँका नगरपालिकाले अगाडि बढाएका हुन् ।


नक्सा पास अनलाइनबाट
कीर्तिपुर नगरपालिकाले डिजिटल कीर्तिपुर बनाउने अभियानस्वरूप विद्युतीय हस्ताक्षर प्रणाली सुरु गर्ने अन्तिम तयारी गरेको छ । नगरपालिकाको सेवालाई प्रभावकारी र प्रविधिमैत्री बनाउने गरी डिजिटल हस्ताक्षर प्रक्रिया सुरु गर्न लागेको हो । नगरपालिकाका सबै वडाबाट सम्पत्ति कर विद्युतीय प्रणालीबाट सञ्चालन गर्दै आएको छ । नक्सापास प्रक्रिया अनलाइनबाट सञ्चालन गरिएको छ । डिजिटल बडापत्र निर्माण गरी विद्युतीय हाजिर प्रणालीलाई सञ्चालनमा ल्याएको कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता परियारले जानकारी दिनुभयो ।

नागार्जुन
नागार्जुनले विपत् व्यवस्थापनका लागि सबै वडामा अग्नि नियन्त्रण यन्त्र वितरण कार्यलाई अभियानको रूपमा अगाडि बढाइएको छ । किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको, नगरपालिकालाई नव सांस्कृतिक एवं पर्यटन क्षेत्रको रूपमा विकास र विस्तार गरिँदै लगिएको, घर घरबाट निस्कने फोहोरलाई मल बनाउनका लागि महिलालाई तालिम प्रदान गरी सफा, सुन्दर नगरपालिका निर्माण कार्य अभियानका रूपमा सञ्चालन गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो ।

शङ्खरापुर
शङ्खरापुर नगरले विकास निर्माणको काममा गुणस्तर कायम गर्न आफ्नै प्रयोगशालाको व्यस्वस्था गरेको छ । कर्मचारीलाई काममा उत्साह प्रदान गर्न १० प्रतिशतसम्म प्रोत्सान भत्ताको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पाँच लाखसम्मका योजना तथा कार्यक्रम वडा कार्यालयबाटै सम्झौता गर्ने अख्तियारी प्रदान गरेर वडा कार्यालयलाई बलियो बनाइएको छ ।

तारकेश्वर
तारकेश्वर नगरले गरेका विभिन्न गतिविधि आमनागरिकलाई जानकारी दिनका लागि चौमासिक रूपमा बुलेटिन प्रकाशन गर्न थालेको छ । नगरपालिकाले प्रसूतिसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको, आयुर्वेदिक अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाएको, सडकको सुरक्षाका लागि सीसीटीभी तथा सडक बत्ति जडान गरिएको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले बताउनुभयो । विकास निर्माणका काममा अनिवार्य रूपमा नागरिक सहभागिताको व्यवस्था गरिएको छ ।

कागेश्वरी मनोहरा
कागेश्वरीले वडा १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिका वडा १, २ र ४ र शङ्खरापुर नगरपालिकाको वडा ९ को दुई हजार छ सय रोपनी क्षेत्रमा नयाँ सहर विकास आयोजना सञ्चालन गर्न लागिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको अगुवाइमा निर्माण गर्न लागिएको उक्त सहरी आयोजनाले आधुनिक, व्यवस्थित सहर निर्माण हुने मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

टोखा
टोखा नगरले एक घर एक कौसीखेतीका लागि जोड दिइएको छ । फोहोरबाट नगरपालिकाभित्रै कम्पोस्ट मल बनाउने कार्य अगाडि बढाइएको, एक वडा एक हरियाली पार्क निर्माण कार्य जारी राखिएको, सेवाग्राहीको बढी चाप हुने वडा कार्यालय २, ३, ९, १० र ११ वडा कार्यालयमा टोकनको व्यवस्था गरी पहिला आउने व्यक्तिलाई पहिला सहज र सरल तरिकाले सेवा प्रवाहको गरिएको नगरपालिका प्रमुख प्रकाश अधिकारीले बताउनुभयो । कोभिड–१९ बाट सङ्क्रमित व्यक्तिलाई पोषण भत्ता व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

गोकर्णेश्वर
गोकर्णेश्वर नगरपालिकाको वडा नं. ४ मा ई–भिलेज स्थापना गरिएको छ । नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको, कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको, नगरपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रको सहकार्यमा काम अगाडि बढाइएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।

दक्षिणकाली
दक्षिणकाली नगरपालिकाले घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्योपचार गर्ने गरिएको, कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको घरघरमा पुगेरको पीसीआर टेस्ट गर्ने गरिएको, महिला लक्षित मिनी उद्योग सञ्चालन गर्न लागिएको, नगरपालिकाको वडा नं. ४ मा मिनी हाइड्रोपावर सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताउनुभयो । कृषि पकेट क्षेत्रअन्तर्गत, नास्पाती, लप्सी र तरकारी पकेट क्षेत्र बनाउन कृषि नगरका रूपमा चिनाउन लागिएको दक्षिणकाली नगरपालिकाले जनाएको छ ।

बूढानीलकण्ठ
सार्वजनिक जग्गा संरक्षण कार्यलाई अभियानका रूपमा अगाडि बढाइएको, सहकारी, सुपथ मूल्य पसल उपभोक्ता सहकारी पसल खोली नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न नगरवासीलाई प्रोत्सान गरिएको पर्यटन प्रवद्र्धनका लागि नगरपालिका आफैले पर्यटन बोर्डको व्यवस्था गर्ने कार्य अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटले जानकारी दिनुभयो । कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रोत्सान प्रणाली कार्यान्वयमा ल्याइएको छ ।

चन्द्रागिरि
चन्द्रागिरि नपाले कलङ्की नागढुङ्गा सडकमा ६८ वटा सीसी क्यामरा जडान गरी आपराधिक क्रियाकलाप नियन्त्रण गरी शान्ति सुरक्षा कायम गरिएको, एक घर एक रुख, एक वडा एक पार्क निर्माणलाई अभियानका रूपमा अगाडि बढाइएको छ । विभिन्न प्रजातिका चरा र जैविक विविधताको अध्ययन सुरु गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताउनुयभो । नगरपालिका क्षेत्रमा वाटर रिचार्ज पोखरी निर्माण गरिएको छ । सम्पदा पुनर्निर्माण कार्यलाई पुराताìिवक शैलीमा नै निर्माण गरिएको छ ।
यसैबीच जिल्ला समन्वय समिति काठमाडौँले जिल्लाभित्रका स्थानीय तहले गर्ने विकास निर्माण, सुशासनका काममा सहजीकरण गर्दै आएको आएको जिल्ला समन्वय समितिले जनाएको छ ।
समन्वय समितिले जिल्लाभित्रका भएका ११ वटै नगरपालिकासँग स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न सरोकारवालासँग छलफल गरेको, स्थानीय तहले सञ्चालन गरेको कामको अनुगमन गरिएको र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजना कार्यान्वयमा सहजीकरण गरिरहेको जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?