logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना परीक्षणको घट्यो शुल्क

स्वास्थ्य |


कोरोना परीक्षणको घट्यो शुल्क


सरोज ढङ्गेल

सरोज ढुङ्गेल काठमाडौँ, माघ २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ । निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ ।
सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने स्पष्ट पारेको हो । ‘‘अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन । ’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिनुभयो ।
गौतमका अनुसार मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पु¥याएको छ । अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार
तिर्दा हुन्छ ।
यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरूमा भर्ना भई उपचार गरेकाहरूको हकमा बुधबारबाट १० दिनसम्मको मात्रै सोधभर्ना गर्नेछ । प्रवक्ता गौतमका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेको आईसीएस कमाण्ड बैठकले कोरोनाको उपचारका लागि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रियासमेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसविरुद्धको दोस्रो अभियानअन्तर्गत बुधबार २६९ जना पत्रकार र १४० जना कूटनीतिक नियोगका कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिभिल अस्पतालमा २२७ जना पुरुष र ४२ जना महिला गरी कुल २६९ जना पत्रकारले खोप लगाएका छन् । यस्तै बुधबार त्रिवि शिक्षण अस्पतालमा १४० जना कूटनीतिक नियोगका कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसअघि सोमबार र मङ्गलबार क्रमशः २२६ र ३२० जना पत्रकारले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. झलक गौतमले यूएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा पहिलो दिन आठ जनाले कोरोना खोप लगाएका थिए । हालसम्म पाटन अस्पतलामा ११ जनाले मात्र खोप लगाएका छन् । सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई खोप लगाएपछि दोस्रो चरणमा पत्रकार, यूएन एजेन्सीका कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, दूतावासका कर्मचारीलाई खोप लगाउन सुरु गरेको हो । दोस्रो चरणको अभियान शुक्रबारसम्म सञ्चालन हुनेछ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । यो अवधिमा काठमाडौँ उपत्यकामा ६५ जनासहित देशभर थप १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै बुधबार ११८ जना सङ्क्रमित निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?