logo
२०८० चैत्र १६ शुक्रवार



क्यान्सरबाट जोगिन सचेत रहौँ

स्वास्थ्य |


क्यान्सरबाट जोगिन सचेत रहौँ



सरोज ढुङ्गेल

काठमाडौँ, माघ २३ गते । काठमाडौँकी अनिता श्रेष्ठ स्तन क्यान्सर रोगी हुनुहुन्छ । पाँच वर्ष पहिले उहाँको स्तनमा सानो गिर्खा देखाप¥यो । त्यसको पाँच छ महिनासम्म त्यत्तिकै बस्नुभयो । अस्पताल उपचार गराउन जाँदा डेढ महिनासम्म एक वरिष्ठ चिकित्सकले यो केही होइन भन्दै एन्टिबायोटिक औषधि दिएर पठाए । त्यस औषधिले समेत काम नगरेपछि नेपाल क्यान्सर अस्पतालमा गई परीक्षण गराउँदा उहाँलाई स्तन क्यान्सर भएकोपुष्टि भयो ।
सुरुमा त धेरै डर लागेको थियो भन्दै श्रेष्ठले थप्नुभयो, “अस्पतालमा चिकित्सकलाई भेटेपछि उहाँहरूलाई जीवन सुम्पिएँ । त्यसैले अहिलेसम्म बाँचिरहेकी छु । ”
मनवानपुरका जगन्नाथ ढकाललाई तीन वर्ष पहिले क्यान्सर भएको थियो । आफूलाई क्यान्सर हुँदा गलत उपचारका कारण आफ्नो ज्यान झन्डै गएको सुनाउँदै उहाँले एक जना आयुर्वेदिक चिकित्सकले पायल्स भन्दै शल्यक्रिया गर्नका लागि ठीक पारेर पनि शल्यक्रिया नगरेकाले आफ्नो ज्यान जोगिएको बताउनुभयो ।
उहाँहरू क्यान्सर रोगका प्रतिनिधि मात्र हुनुहुन्छ । यस्ता हजारौँ व्यक्तिले क्यान्सरसँंग जुध्दै सही उपचार पाउन समेत कठिन छ । चिकित्सकका अनुसार क्यान्सरबाट जोखिन रोग लाग्नुअघि नै सचेतना जरुरी छ र रोग लागेपछि आत्तिनुभन्दा समयमै सही उपचारतिर जानुपर्छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा उत्कृष्ट उपचार हुने भन्दै सुरुमै पहिचान भएको अवस्थामा क्यान्सर पूर्ण रूपमा ठीक हुने बताउनुभयो । उहाँले क्यान्सरमा नयाँ नयाँ प्रविधि आएको भन्दै अत्यन्त महँगा उपकरण नेपालमा खरिद गरेर ल्याउन र बिरामीसँंग शुल्क लिन नसकिने बताउनुभयो ।
पाटन अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोग जटिल अवस्थामा पुगेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको सचेतनामूलक भूमिका रहने बताउनुभयो । चिकित्सकले उपचार गरेर मात्र क्यान्सर रोक्न सकिँदैन भन्दै उहाँले थप्नुभयो, “क्यान्सरबारे व्यापक जनचेतनासँंगै यसलाई रोक्नका लागि राज्यले योगदान गर्नुपर्छ । ” उहाँले पुरुषको फोक्सोको क्यान्सर तथा महिलामा पाठेघरको मुखको क्यान्सर बढी हुने गरेको जानकारी दिनुभयो ।
उहाँले यसबाहेक विद्यालय पढ्ने युवामा मुखको क्यान्सर देखिन थालेको जानकारी दिँदै सानै कक्षा पढ्दादेखि नै पुकार, गुट्खा खाने बानीले गर्दा क्यान्सरको जोखिम बढेको बताउनुभयो ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बरालले नेपालमा हरेक दिन क्यान्सरका कारण ४५ जनाको मृत्यु हुने गरेको बताउनुभयो । उहाँले नेपालमा हुने कुल मृत्युको नौ प्रतिशत कारण क्यान्सर पाइएको भन्दै नेपालमा वार्षिक २६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको जानकारी दिनुभयो । नेपालमा वार्षिक १७ हजार जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।
सरकारले २०७१ सालमा नै सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने कानुन बनाए पनि कार्यान्वयन हुनसकेको छैन । जसका कारण बर्सेनि क्यान्सरका नयाँ बिरामी थपिँदै गएका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सफल भए मात्र वार्षिक २७ हजारभन्दा बढीको ज्यान जोगाउन सकिने चिकित्सकको भनाइ छ ।
यसैबीच बिहीबार विश्व क्यान्सर दिवस मनाइएको छ । हरेक वर्ष फ्रेबुअरी ४ तारिखका दिन मनाइने विश्व क्यान्सर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । ‘म हुँ र म गर्छु’ नाराका साथ दिवस मनाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?