logo
२०८१ बैशाख ७ शुक्रवार



विपद् र दुर्घटनामा परेकाको उद्धारमा उत्कृष्ट बन्दै सशस्त्र तालिम केन्द्र

पढ्नै पर्ने |
खुला |


विपद् र दुर्घटनामा परेकाको उद्धारमा उत्कृष्ट बन्दै सशस्त्र तालिम केन्द्र



देवबहादुर कुँवर
काठमाडौँ, माघ १७ गते । कुरिन्टार विपदव्यवस्थापन तालिम केन्द्र यो वर्ष उत्कृष्ट तालिम केन्द्रको रुपमा पुरस्कृत भएको छ । सशस्त्र प्रहरी वलका ११ वटा तालिम केन्द्रहरू मध्ये कुरिन्टार अघिल्लो वर्ष र यो वर्ष गरी दुई पटक उत्कृष्ट भएको हो । विपद व्यवस्थापन अभ्यासका लागि दक्षिण एसियाकै नमूना तालिम केन्द्रका रुपमा गणना हुने गरेको छ ।
करीव १८ विगाह १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो तालिम केन्द्रले २०५८ सालदेखि छ किसिमको विपद् सम्वन्धी आधारभूत र एडभान्स गरी दुई किसिमको प्रशिक्षण दिँदै आएको छ । गोता खोर उत्पादनका लागि सशस्त्र प्रहरी दक्षिण एसियामा नै अब्बल देखिएको छ ।
त्यस्तैं, मेडिकल फष्ट रेस्पन्स (एमएफआर), कोल्याप्स स्टक्चर सर्च एण्ड रेस्क्यू (सीएसएसआर), जल उद्धार (वाटर रेस्क्यू ), खोच, ईनार र खोल्सामा खसेकाहरूको उद्धार (रोप रेस्क्यू), अग्नी नियन्त्रण फायर फाइटीङ र अन्य गरी एक महिने एडभान्स तालिम सञ्चालन हुदै आएको छ ।
यो तालिममा महिनामा एकसय जना र आधारभूत तालिम अन्तरगत ७० दिने अभ्यासका क्रममा करीव एकहजार पाँचसय जनशक्ति उत्पादन भइसकेको केन्द्रका प्रमुख कालीदास धौवजीले बताउनुभयो । सशस्त्र प्रहरी वलले विपदव्यवस्थापन सम्वन्धी आधारभूत तालिम सशस्त्र प्रहरी कर्मचारीका लागि अनिवार्य गरेको छ ।
सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपदव्यवस्थापन तालिम केन्द्रले ‘हवाई उद्धार अभ्यास’ लाई व्यवस्थित र प्रभावकारी बनाउन हेलिप्याड निर्माण गरेको छ । तालिम केन्द्र परिसरमा एकैसाथ दुईवटा हेलिकप्टर अटाउने गरी हेलिप्याड निर्माण भएको हो ।
हेलिकोप्टरबाट हुने उद्धार तथा हेलिप्याड सञ्चालनका सम्वन्धमा नेपाली सेनाको हेलिकोप्टरबाट उडान परिक्षण अभ्यास समेत सम्पन्न भइसकेको सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजु अर्यालले जानकारी दिनुभएको छ ।
हेलिसेवा छिटो छरितोसँगै ज्यान जोगिन्छ
प्राकृतिक विपद तथा विभिन्न दुर्घटनाका कारण गम्भीर घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउन हेलिकोप्टरको प्रयोग उपलब्धी मूलक हुने देखिन्छ । समयमै उपचार नपाएर अकालमै ज्यान जाने खतरा कम हुन्छ ।
तालिम केन्द्र परिसरमा नै हेलिप्याड निर्माण हुँदा उद्धार कार्य छिटो छरितोका साथै थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । कुरिन्टारमा सशस्त्र प्रहरी बलको २५ शैय्याको ट्रमा सेन्टर अस्पताल सञ्चालन छ ।
तर, गम्भीर प्रकृतिका घाइतेलाई थप उपचारका लागि राजधानी काठमाडौँ वा चितवन लैजान नवनिर्मित हेलिप्याड बहुपयोगी हुने दावी सशस्त्र प्रहरीको छ । त्यस्तैं, राजमार्गमा ईआरटी (इमरजेन्सी रेष्क्यू टीम ) २४ घण्टा परिचालित हुन्छ ।
विभिन्न दुर्घटनाका कारण नदीमा फसेका, खोच, भीर तथा अफ्ठयारो स्थानमा अड्कीएकाहरूको उद्धारका लागि हवाई उद्धार अभ्यास प्रभावकारी बन्ने देखिन्छ । यसअघि घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग भएपनि हेलिप्याडको अभावमा वगर, खोला किनारा र राजमार्गक्षेत्रमा असुरक्षित अवतरण हुदै आएको थियो ।
तालिम केन्द्रमा घाइतेहरूका लागि सात वेड क्षमताको ‘मास हेल्थ सर्भिस र अर्को सानो गरी दुईटा एम्बुलेन्स सञ्चालनमा छ । एम्बुलेन्स भन्दा हेलिकोप्टरको प्रयोग सिघ्र उपचारका लागि प्रभावकारी हुने सो तालिम केन्द्र प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालीदास धौवजीले बताउनुभयो ।
सशस्त्र प्रहरीलाई हेलिकप्टर आवश्यक
प्राकृतिक विपद्मा परेकाहरूको उद्धार तथा उपचार लगायत अन्य मानवीय सेवा प्रयोजनका लागि सशस्त्र प्रहरीले हेलिकप्टर अनिवार्य भएको जनाएको छ ।
हवाई उद्धारका लागि संरचना निर्माण भयो, साधन छैन । प्रवक्ता अर्याल भन्नुहुन्छ– विपदव्यवस्थापन र सीमा सुरक्षा (विओपी ) मा खटिएका सुरक्षाकर्मीका लागि राशन, लुगाकपडा, औषधि उपपचार लगायत बन्दोवस्ती सामग्री ढुवानी गर्न हेलिकप्टर अनिवार्य भएकोछ ।
सशस्त्र प्रहरीबाट हेलिकोप्टरको माग लिखित रुपमै भएको छैन, तर छलफल जारी छ । सशस्त्र प्रहरीले विपदव्यवस्थापन अन्तरगत बाढीपहिरो, डुवान, खोच, भीर र नदीको बीच भागमा अड्किएका, दुर्घटनाका घाइते, सुत्केरी ब्याथामा छटपटाई रहेकाहरूको उद्धार र अग्नी नियन्त्रणमा हेलिकप्टर प्रयोग हुन सक्ने जनाएको छ ।
त्यस्तैं, भारत र चीनसँग सीमा जोडिएका अतिविकट, जोखिमस्थानमा रहेका सीमा सुरक्षा पोष्टमा आवश्यक सामग्री ढुवानी, सुरक्षा जनशक्ति फेर–बदली गर्न तथा हिम पहिरोमा परेका र हिमालीक्षेत्रमा हेलिकप्टर प्रयोग गर्न सकिने छ ।
कुरिन्टार तालिम केन्द्र विपद व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रका रुपमा सञ्चालन गर्ने अभियान पुरा हुने देखिन्छ । विपदमा परेकाहरूको खोज तथा उद्धार, उपचार सेवाका लागि एउटा हेलिकप्टर आवश्यक भएको भनाई सशस्त्र प्रहरी अधिकारीको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?