logo
२०८० चैत्र १६ शुक्रवार



पर्वका विविधता बहुमूल्य सम्पत्ति

मुख्य समाचार |


पर्वका विविधता बहुमूल्य सम्पत्ति



गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रको सुदृढ एकताको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको चर्चा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् ।” उहाँले माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने चर्चा गर्नुभएको छ ।
उहाँले थारू जातिमा पुस मसान्तमा घरघरमा माछा, मासु र ढिकरी (पिठोको एक परिकार) खाई रातभर ‘मघौटा’ नाच नाच्ने चलनसमेत रहेको बताउनुभएको छ ।

योगलाई दैनिकीमा जोड्नु जरुरी
यसैबीच प्रधानमन्त्री ओलीले योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाएर जनताको जीवनमा सुख ल्याउनकै लागि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरिएको चर्चा गर्नुभएको छ ।
उहाँले राष्ट्रिय योग दिवस–२०७७ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ, “शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक यसको आधारभूमि हो । ”
उहाँले भन्नुभएको छ, “तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महŒवपूर्ण भूमिका हुन्छ । ” उहाँले योग, ध्यान र प्राणायामलाई हाम्रो जीवनकला, जीवनशैली वा जीवनपद्धति बनाउन सक्यौँ भने महामारी र तनाव सामना गर्न सहज हुने बताउनुभएको छ ।
उहाँले प्राचीन योगी, ऋषि, महर्षिहरूले विश्वको सर्वाेच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत्खण्डमा बसेर दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योग विधा अहिले पनि उत्तिकै नवीन, सान्दर्भिक र जीवन जगत्का लागि ऊर्जाप्रदायक रहेको चर्चा गर्नुभएको छ ।
सभापति देउवाद्वारा शुभकामना
यसैगरी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले सबैलाई अभिप्रेरित गर्ने बताउनुभयो । उहाँले नेपाल प्राचीन कालदेखि नै विभिन्न जातजातिको बसोबास भएको सङ्गम स्थल भएकाले यहाँका चाडपर्वको आफ्नै विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?