logo
२०८१ बैशाख ५ बुधवार



माघे सङ्क्रान्ति मनाइँदै

मुख्य समाचार |


माघे सङ्क्रान्ति मनाइँदै


गोरखापत्र समाचारदाता

काठमाडौँँ, माघ १ गते । माघ महिनाको सुरु दिन बिहीबार घिउ, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ ।
बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार जाडोयामको मध्यमा यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिन्छ । उहाँले भन्नुभयो, ‘‘ताप सन्तुलनमा राख्छ र चिसोबाट जोगाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शरीरलाई निरोगी राख्छ । चर्म रोग हुनबाट जोगाउँछ । ’’
कन्दमूलले पाचनशक्ति बलियो बनाउँछ । उहाँले सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता छ ।
भक्तपुरको तौमढीमा रहेको तिल माधवनारायणमा यो दिन मेला लाग्छ । रुरु क्षेत्र, काठमाडौँको गौरीघाट, सुनसरीकाे वराहक्षेत्र देवघाटलगायतका त्रिवेणीमा स्नान गरेर पवित्र हुने र यी परिकार भोजन गरिन्छ ।
उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले यो दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर यी परिकार भोजन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।
संस्कृतिविद् चुन्दा वज्राचार्यले काठमाडौंँ उपत्यकालगायत नेवार समुदायमा घिउ, चाकु खाने सङ्क्रान्ति भएर घिउ, चाकु सलहुँ भनिएको बताउनुभयो । उहाँले यस दिनबाट सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति भनिने बताउनुभयो । पोषणविद् डा. अरुणा उपे्रतीले घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त गर्ने जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?