logo
२०८० चैत्र १६ शुक्रवार

   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड   



कालोपत्रेसँगै व्यापक उत्साह

मुख्य समाचार |


कालोपत्रेसँगै व्यापक उत्साह


नवीनशिशिर विक

बागलुङ, पुस २८ गते । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डको कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडक यातायातमा आएको यो सुधारले यस क्षेत्रमा व्यापक उत्साह छाएको छ । अब आर्थिक विकासको बाटो खुल्ने स्थानीयमा विश्वास पलाएको छ ।
मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग १३७ किलोमिटर बागलुङ जिल्लामा पर्छ । यसले बागलुङका १० स्थानीय तहमध्ये सातवटालाई छुने र ठूलो जनसङ्ख्यालाई सुविधा पुग्ने भएकाले स्थानीयमा खुसी छाएको छ । साथै यो राजमार्गलाई जिल्लाकै महìवपूर्ण पूर्वाधार विकास आयोजना र समृद्धिको आधार मानिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो ।
यस जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको १३७ किलोमिटरमध्ये ९२ किलोमिटर कालोपत्रे भइसकेको हो भने ४० किलोमिटर खण्ड भने चाँडै नै कालोपत्रे हुने मध्यपहाडी लोकमार्ग कार्यालय, पर्वतका उज्ज्वल शर्माले बताउनुभयो । बागलुङ नगरपालिका–१, मालढुङ्गादेखि उपल्लाचौरसम्मको पाँच किलोमिटर खण्डमा भने ठेक्का पनि लागेको छैन । यो क्षेत्रको अधिकांश भागमा कडा चट्टान छ । कालोपत्रे गर्ने तयारी भइरहेको ४० किलोमिटरमध्ये सदरमुकाम बागलुङ बजारको उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–५, घोडाबाँधेसम्मको २५ किलोमिटर र बुर्तिवाङ–पातीहाल्ने सडक खण्डको १५ किलोमिटर सडकमा कालोपत्रेको तयारी भइरहेको हो । बुर्तिवाङ–निसी खण्डमा भने कालोपत्रे गर्न थालिएको छ । राजमार्गको त्यस खण्डमा पहरो काट्ने, नाली निर्माण, कालोपत्रेका लागि क्रसर सञ्चालन, कालोपत्रे गर्ने सामग्रीको तयारी, सडक चौडा पार्ने तथा बेस निर्माणको काम भइरहेको इन्जिनियर शर्माले जानकारी दिनुभयो । काम हुन नसकेको पाँच किलोमिटर क्षेत्रमा ठूलो र कडा चट्टान तथा चट्टानमाथि र तल मानवीय बस्ती भएको हुँदा स्रोत, साधन र जनशक्तिको सुनिश्चित भएपछि मात्र काम सुरु गरिने प्रमुख मरासिनीले बताउनुभयो । बुर्तिवाङ बजार क्षेत्रमा सडक विस्तारका लागि घरधनीलाई दिनुपर्ने क्षतिपूर्तिको काम अगाडि बढेको छ । बागलुङ उपल्लाचौरदेखि अक्षते खण्डको १३ किलोमिटरमा काठेखोला गाउँपालिका–१, खहरेको चट्टान काट्ने काम सुरु भएको छ भने बिहुँ–घोडाबाँधे खण्डको १२ किलोमिटर सडक खण्डमा नाली निर्माण, ग्राभेलका लागि आवश्यक सामग्री जोहो गर्न थालिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
उपल्लाचौर–घोडाबाँधे सडक निर्माणका दुई ठेकेदार कम्पनीले गत मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालयमा आउँदो जेठ महिनाभित्र कालेपत्रे सक्ने गरी काम गर्ने लिखित प्रतिबद्धता गरेपछि अलपत्र कामले गति पाएको हो ।
उपल्लाचौरदेखि अक्षते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससीएफ÷ईसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । पाँच वर्ष बित्नै लाग्दा आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भएको छ । आयोजना प्रमुख मरासिनीले भन्नुभयो, ‘‘बागलुङ खण्डमा कुल ७० प्रतिशत काम सम्पन्न भएको छ, बन्दाबन्दीका कारण ढिला भएको बाँकी खण्ड चालू आर्थिक वर्षभित्र सकिने छ ।’’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?