logo
२०८१ बैशाख ८ शनिवार



‘जनतामा निराशा हटाउन ताजा जनादेश’

मुख्य समाचार |


‘जनतामा निराशा हटाउन ताजा जनादेश’


शिवशङ्कर मिश्र

बारा, पुस २८ गते । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोज्नुभएको बताउनुभएको छ ।
नेकपा जिल्ला कमिटी बाराद्वारा सोमबार कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधान कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा सो षडयन्त्रविरुद्ध आफूहरू जनतासमक्ष जान तयार भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले मुलुकमा नयाँ नेतृत्व ल्याउन खोजेपछि नेकपाका केही नेतालाई सह्य नभएको स्पष्ट पार्नुभयो ।
उहाँले महामारीका कारण सीमा आसपासका जनता निराश बनेको चर्चा गर्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर बाराको मटिअर्वा र सिम्रौनगढको नाका खोल्ने बताउनुभयो ।
कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले अब निर्वाचन कसैले रोक्न नसक्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुभयो । कार्यक्रममा नेकपा प्रदेश २ का इन्चार्ज एवं नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेकपाका केही नेताले आफ्नो स्वार्थ र पदका लागि नेपाललाई असफल राष्ट्र बनाउन खोजेको आरोप लगाउनुभयो ।पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज बलवीर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सभा सदस्य ज्वालाकुमारी साह, त्रिलोकी चौधरी, महम्मद समीरलगायतका नेताले निर्वाचन नै अबको निकास भएको स्पष्ट पार्नुभयो ।

संसद् पुनस्र्थापनाको माग पश्चगामी सोच :रायमाझी
कावासोती समाचारदाताका अनुसार ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगामी सोच राखेर ताजा जनादेशमा जाने कदम उठाउनुभएको बताउनुभएको छ ।
पूर्वी नवलपरासी र तनहुँमा सोमबार आयोजित पार्टी कार्यक्रममा मन्त्री रायमाझीले संसद् पुनस्र्थापना गर्नुपर्छ भन्नु पश्चगामी सोच भएको धारणा व्यक्त गर्नुभयो । मन्त्री रायमाझीले भन्नुभयो, “निर्वाचनमा जाने कुरा अहिलेको व्यवस्था बचाउन चालिएको कदम भएकाले प्रधानमन्त्री ओलीको सोच अग्रगामी हो, संसद् पुनस्र्थापनाको माग पश्चगामी सोच हो ।”मन्त्री रायमाझीले आफ्नै पार्टीका सांसदले विपक्षीसँग मिलेर सरकार ढालेर देशमा अस्थिरता ल्याउन गरेको षडयन्त्रलाई परास्त गर्न प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो । प्रतिनिधि सभामा बहुमत दलका नेतालाई काम गर्न नदिने वातावरण तयार गर्ने समूहले भोलि अर्काे सरकार बन्नै नसक्ने अवस्था निर्माण गर्न खोजिरहेको भन्दै त्यस्तो अराजकतालाई रोक्न र ताजा जनादेशमा जान प्रतिनिधि सभाको विघटन गर्नुपरेको उहाँले बताउनुभयो।

जसपा चुनावमा जान तयार : ठाकुर
भैरहवा समाचारदाताका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावमा जानुपरे आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । प्रेस नेपालले सोमबार भैरहवामा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले आफ्नो पार्टी अदालतको नतिजा पर्ख र हेरको अवस्थामा रहेको भन्दै प्रतिनिधि सभा पुनस्र्थापना नभए चुनावका लागि तयार रहेको प्रस्ट पार्नुभएको हो ।

“अदालतबाट संसद् पुनस्र्थापना नभएर चुनावमा जानुपरे हाम्रो पार्टी तयार छ, हामी पर्ख र हेरको स्थितिमा छौँ,” ठाकुरले भन्नुभयो । उहाँले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको पनि बताउनुभयो ।

जनादेशमा जानु उत्तम : थापा
यसैबीच गोरखा समाचारदाताका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा सोमबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै चुनाव घोषणा भइसकेको अवस्थामा नयाँ जनादेशमा जानु नै उत्तम विकल्प भएको बताउनुभयो । उहाँले सरकार र नेकपाको आन्तरिक विवादले मुलुक बन्धक बन्न सक्दैन भन्दै त्यसैले नयाँ जनादेशमा जानु राम्रो विकल्प हो, राप्रपा चुनावको पक्षमा रहेको उहाँले
स्पष्ट गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?