logo
२०८० चैत्र १६ शुक्रवार



चुनावमा जानु अस्थिरता होइन : प्रधानमन्त्री ओली

मुख्य समाचार |


चुनावमा जानु अस्थिरता होइन : प्रधानमन्त्री ओली
तस्बिर : शेखर चाैलागाइँ


लक्की चौधरी
काठमाडौं, पुस २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा सरकारले तीव्रताका साथ काम गर्न थालेपछि डाह गरेर सरकारलाई घेराबन्दी गरिएको बताउनुभएको छ ।
राष्ट्रियसभा बैठकमा आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “अरुलाई सिंह बनाइदिएपछि आफैलाई झम्टिने काम भयो उहाँले भन्नुभयो । “सरकार बनेन भने तत्काल निर्वाचनमा जान सकिन्छ, पाँच वर्ष कुर्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुयभो ।
“चुनावमा जानु अस्थिरता होइन, बाह्य शक्तिको स्वार्थमा जब देशका शक्ति गोटी बन्न थाल्छन्, विकासमा व्यवधान पुर्याउन थाल्छन्, त्यस्तो स्थिति स्थायित्व र स्थिरताको स्थिति होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको अवस्था स्थायित्व र स्थिरताको स्थिति हो ।”
“प्रधानमन्त्रीको पद मोहर सिक्का र दान दिने विषय होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्री पद जनताको मतले बनेको पद भएकाले जतिबेला मनलाग्यो त्यतिबेला दिन सकिदैन ।” केही मिडियाले मुलुकमा अस्थिरता ल्याउने प्रयासमा लागेको पनि उहाँले टिप्पणी गर्नुभयो । लोकतन्त्रलाई संस्थागत बनाउने अभ्यास गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
“गैर जिम्मेवार भनेको के हो ? के हुँदा त्यो हुन्छ ?” प्रधानमन्त्री ओलीले जिज्ञसा गर्नुहुँदै भन्नुभयो, “मैले जिम्मेवारीका साथ काम गरिरहेको छुँ, देशलाई गलत बाटोमा जान नदिन प्रतिनिधिसभा विघटन गरेको हुँ ।” कर्तव्यबोध र जिम्मेवारीका साथ काम गरेको छुँ उहाँले भन्नुभयो । “केपी ओलीको हैसियत कतिपयले शुन्यमा पुगेको टिप्पणी गर्छन्, निर्वाचनमा जाउँ न कसको हैसियत शुन्यमा पुग्यो थाहा भैहाल्छ” उहाँले भन्नुभयो ।
“मैदान घोषणा गरिएको छ, रिङ तयार छ आउनुस् भाग लिन खुट्टा किन कमाएको ? ताजा जनादेश लिने भन्ने वित्तिकै किन डराउनुप¥यो ?” प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “जनताको बीचमा जानु के गल्ती गर्नु हो ? जनताको बीचमा गएर दण्डित भइन्छ भने स्वीकार गरिन्छ ।” कुरा फिट्ने मित्रहरुलाई भन्न चाहन्छु काममा तुलना गरौं उहाँले भन्नुभयो ।
मुलुकमो कोभिडको संकट भएपनि भ्याक्सिन आउने तयारीमा रहेको र रोग नियन्त्रण हुने प्रधानमन्त्री ओलीले बताउनुयभो । जनताको सुरक्षालाई पहिलो प्राथमिकता दिएर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । जनताको सुरक्षा नै सरकारका लागि मूलमन्त्र हो उहाँले भन्नुभयो । “एकै दिन ३९६ अस्पताल सिलन्यास गर्ने कार्यक्रम राखेका थियौं तर विभिन्न कारणले ३०९ अस्पताल एकै दिन अस्पताल शिलन्यास भएको छ । अरु अर्को दिन भयो, यसअघि कहिल्यै यस्तो भएको छ ?” प्रधानमन्त्री ओलीले जिज्ञासा गर्नुभयो ।
माघ १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । माघे संक्रान्ति थारु जातिको विशेष पर्व भए पनि अन्य समुदायले पनि मनाउने हुनाले १ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
पूर्व प्रधानन्यायाधीशले अदालतलाई दवाव दिने, राजनीतिक पक्षधरताको मनसायले विज्ञप्ती जारी गरेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “आफ्नो समयमा उहाँहरुले कस्तो न्याय दिनुभएको होला ? न्यायालयलाई त्यसरी लल्कार्न पाइन्छ ?” न्यायलय स्वतन्त्र हुनुपर्छ, कसैको दवावमा पर्नुहुन्न उहाँले भन्नुभयो ।
पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउँदा नआउने माइतीघर मण्डलामा गएर हामी यता छौं भनेर तमासा गर्ने ? प्रधानमन्त्री ओलीले भन्नुभयो, “कार्की बैङ्क्वीटबाट ओलीलाई निष्काशन गरेको घोषणा सुन्छु, के हो त्यो ? पाँच जना भेला भएर निर्णय गर्ने ?”

प्रतिनिधिसभा पुनःस्र्थापना हुँदैन
संसद पुनःस्र्थापना हुन्छ कि भन्ने हल्ला चलाइएकाे छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “६४ प्रतिशत संसदको बहुमतप्राप्त प्रधानमन्त्रीको हैसियतमा मैले संसद विघटनको सिफारिस गरेको हुँ ।” अव पुनःस्र्थापनाको विकल्प कहाँ छ ? ३६ प्रतिशतले पुनःस्र्थापना हुन्छ र ! उहाँले भन्नुभयो, “बहुमत प्राप्त प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि पुनःस्र्थापनाको विकल्प छैन ।”
संविधानसम्मत विघटन गरिएकाले पुनःस्र्थापना हुँदैन भन्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुयभो, “के को लागि पुनःस्र्थापना ? फेरि अस्थिर सरकार बनाउनका लागि ? तमासाका लागि ? पुनःस्र्थापना कुनै हालतमा हुँदैन ।” संविधान सम्मत ढङ्गले, राजनीतिक अभ्यासका आधारमा विघटन गरिएको उहाँले बताउनुभयो ।
“संविधानको प्रस्तावनादेखि विभिन्न धारामा कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने र त्यसको नेतृत्व प्रधानमन्त्रीमा रहने व्यवस्था छ” उहाँले भन्नुभयो । मन्त्रिपरिषदको सर्बसम्मत सिफारिससहित विघटन भएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । राष्ट्रपतिमा धेरै अधिकार छैन, केही सीमित अधिकार मात्र छ प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारको सिफारिस गरेको काम राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ भन्नुभयो ।

दिमागमा सामन्तवाद छ
केही मानिसको दिमागमा सामन्तवाद रहेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । सानोमा गाई चराउन जान्थ्यो भनेर टिप्पणी गर्छन् प्रधानमन्त्री ओलीले भन्नुभयो, “गरिबका छोराछोरीलाई सम्माननीय, माननीय हुँदा उनीहरुको मन पोल्ने गर्छ ।” घाँस दाउरा गरेर, खेतबारी गरेर हुर्किएकाहरु माथिलो ओहाेदामा कहिल्यै जान नहुने हो र, प्रधानमन्त्री ओलीले जिज्ञासा गर्नुभयो ।
कसैलाई पनि अपमान गर्नु र गालीगलौज गर्नु हाम्रो सभ्यताभित्र पर्दैन प्रधानमन्त्री ओलीले थप्नुभयो, “नारीको सम्मान र पूजा गर्नु हाम्रो सभ्यता हो, मातृदेवो भवः को सभ्यता हो ।” त्यो सभ्यतामाथि हमला भइरहेको उहाँले बताउनुभयो । “केही हण्डीखोर तत्वहरुले हाम्रो सभ्यतामाथि हमला गरिरहेका छन्” उहाँले भन्नुभयो, “यो असहिष्णु समाज निर्माण गर्ने प्रयास भइरहेको छ, त्यसमा हामी सबै सजग हुनुपर्छ ।”
मित्रराष्ट्र देशबाट मानिस आउँदा पनि किन आत्तिनुपर्ने ? प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “छिमेकी देशबाट प्रतिनिधिहरु भ्रमण, भेटघाटमा आउनु स्वभाविक भएको बताउनुभयो । आवश्यक पर्दा हाम्रो देशबाट पनि सरकारी प्रतिनिधिहरु छिमेकी देश जानु सामान्य भएको उहाँले चर्चा गर्नुभयो । १४ तारेख (माघ १ गते) मा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जान लाग्नुभएको उहाँले बताउनुभयो । सो भ्रमणका बेला प्रकाशित नक्साका विषयमा केन्द्रित भएर छलफल गर्नुहुने पनि उहाँले बताउनुभयो ।
कुनै अन्याेल र भ्रममा पर्न आवश्यकता छैन प्रधानमन्त्री ओलीले भन्नुभयो, “संघीय लोकतन्त्रलाई व्यवस्थित ढङ्गले परिचालित गर्ने, संविधानको कार्यान्वयन गर्ने काम सरकारले गरिरहेको छ ।” हामीलाई हाम्रो स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित प्यारो छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान कायम राख्दै देशको विकास गर्ने अभियानमा अघि बढेको चर्चा गर्नुभयो ।
लोकतन्त्रको रक्षा, सुदृढीकरण गरी राष्ट्रिय विकास गर्न सरकार अघि बढेकाले समृद्ध नेपाल र सुखी नेपालीको नारा तय गरिएको बताउनुभयो । सबै किसिमको भ्रमबाट मुक्त भई देश विकास अभियानमा लाग्न पनि प्रधानमन्त्री ओलीले सबैमा आव्हान गर्नुभयो । आगामी निर्वाचनबाट नयाँ टर्निङपोइन्ट लिने दावी गर्नुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनले दलीय शुद्धीकरणको काम पनि गर्ने बताउनुभयो । जनतालाई गुमराहमा पार्ने खेल अब समाप्त गर्नुपर्छ उहाँले भन्नुभयो ।

औद्योगिक क्षेत्र विकास
कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह शुरु गर्ने, दैजी, बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र विस्तार र निर्माण गर्ने सरकारले तयारी गरको बताउनुभएको छ । पिछडिएका जाति समुदायका बालबालिकाको पढाइमा सरकारले काम गरेको बताउनुभयो । सरकारले काम गरेको तर देख्न नचाहेका तत्वले गलत प्रचार गरेको बताउनुयभो । यसअघि यस ढङ्गले काम कहिल्यै नभएको चर्चा गर्नुहुँदै उहाँले सरकारले राम्रो काम गरेको प्रष्ट पार्नुभयो ।
पञ्चेश्वर सिंचाइ परियोजनाको काम अघि बढेको, शिक्षामा उपलब्धीपूर्ण काम भएको पनि उहाँले चर्चा गर्नुभयो । छिमेकी मुलुक भारतसँग साँचो अर्थमा मित्रता बढाउन खोजेको तर दुई देशको बीचको मित्रता सार्वभौमिकताका आधारमा हुने उहाँले प्रष्ट पार्नुभयो । जहाँनिर समस्या छ, त्यहा खुलस्त छलफल र परामर्शमार्फत समस्या समाधान गर्ने काम सरकारले गरेको बताउनुभयो ।
हाम्रो खोलाबाट पानी लगिएको छ, तर हाम्रो भूमि बाँझै छ, यस्तो बेला नबोलेर कहिले बोल्ने प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो खेतको सिरानबाट पानी भारतले लग्दा हाम्रो खेतमा पानी चाहियो पनि भन्न नसक्नेहरुकै कारण विगतमा समस्या भयो, तर हामीले मित्रतापूर्ण ढंगले काम अगाडि बढाएर सफलता प्राप्त गरेका छौं ।”
हाम्रो भूमि दावी गरेर नयाँ नक्सा प्रकाशन गरेर सम्बन्ध विग्रन्छ भनेर डराउने होइन, हामीले अरुको भूमि लिने कुरा गरेका छौं र ! प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “नक्सामा मात्र होइन, व्यवहारमा हामी हाम्रो भूमि फिर्ता लिन्छौं ।” वास्तविक भूमि सामेल गरेर नक्सा छापिँदा पनि कोही मानिसलाई छटपटि भएको उहाँले टिप्पणी गर्नुभयो । नाकाबन्दीको दृढतापूर्वक सामना गरे बापत, अर्को मित्रराष्ट्रसँग पारवाहनको सन्धि गरे बापत पनि सरकारको आलोचना भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको हितमा काम गर्दा किन आलोचना ? जिज्ञासा गर्नुभयो ।
लुम्बिनीमा पाँच हजार मानिस अट्ने ध्यानकेन्द्र र सभाहल निर्माण गर्छुभन्दा, लुम्बिनीको विमानस्थल शीघ्रातिशीघ्र बनाएपछि, ६ लेनका बाटाहरु निर्माण गर्ने भनेपछि, शहरीकरणको अभियान तीव्रसाथ अघि बढाएपछि, जनताको काम तीव्रगतिमा गरेपछि आँत्तिएर सरकार ढाल्नतिर लागे प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकासमा देशले छलाङ मारेका कारण यसअघिको मेरो नेतृत्वको सरकार ढालिएको थियो, यसबेला पनि विकासले तीव्रता लिएपछि घेराबन्दी गरियो ।”

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?