logo
२०८१ बैशाख १३ बिहीवार



साढे चार करोड भ्रष्टाचार दाबी

मुख्य समाचार |


साढे चार करोड भ्रष्टाचार दाबी



नारद गौतम

काठमाडौँ, पुस १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुखसहित पाँच जनाविरुद्ध साढे तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले आयोजनका प्रमुख राजकुमार श्रीवास्तवसहित अन्य पाँच जनाविरुद्ध पुस १ गते पनि ९६ लाख ६४ हजार २९६ रुपियाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । दुई भ्रष्टाचार प्रकरणमा श्रीवास्तव एक्लैलाई चार करोड ६१ लाख ७३ हजार ७५२ रुपियाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा परेको छ ।
एउटै आयोजनामा यति ठूलो रकम हिनामिना गर्दा पनि माथिल्लो निकायले अनुगमन, छानबिन ग¥यो कि गरेन भन्ने अख्तियारले खुलाएको छैन ।
आयोगले राजकुमार श्रीवास्तवसँगको मिलोमतो गर्ने अन्य चार जना इन्जिनियर पाण्डवप्रसाद देव तथा रवि सिंह, मदनकुमार अधिकारी र सन्तोष प्रधान (शाही)विरुद्ध जनही तीन करोड ६५ लाख नौ हजार ४५६ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
आयोजना प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवले स्टन्ट निर्माणमा प्रयोग भएको ग्याबियन तारको गुणस्तर परीक्षण गरी स्पेसिफिकेसन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्याबियन तार प्रयोग गराउनुपर्नेमा त्यसो गरेको पाइन ।
त्यतिमा होइन प्रथम रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मका सातवटा बिलको भुक्तानी गर्दा कुनै परीक्षण नै गरेको नपाइएको ठहर छ । त्यसरी परीक्षण नै नगरी स्टन्ट निर्माणमा प्रयोग भएको गुणस्तरहीन ग्याबियन तारलाई स्वीकृत स्पेसिफिकेसन बमोजिम गुणस्तरयुक्त भएको भनी इन्जिनियर पाण्डवप्रसाद देवले सिफारिस गरेको तथा आयोजना प्रमुख श्रीवास्तवले बिल स्वीकृत गरी भुक्तानी गराएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, निर्धारित सर्त र सम्झौताविपरीत कम गुणस्तरको स्टन्ट निर्माण गरी कम गुणस्तरको ग्याबियन तारबाट निर्मित संरचनालाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्ती र मैनाचुली जेभी पनि कारबाहीमा परेका छन्।
महादेव खिम्ती निर्माण सेवा प्रालिका मेनेजिङ डाइरेक्टर रवि सिंह र महादेव खिम्ती÷मैनाचुली जेभीका साझेदार मैनाचुली निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक मदनकुमार अधिकारीविरुद्ध जनही तीन करोड ६५ लाख नौ हजार ४५६ नै बिगो कायम गरिएको छ ।
साथै महादेव खिम्ती र मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधान (शाही)ले कम गुणस्तरको ग्याबियन तारबाट निर्मित स्टन्टलाई गुणस्तरयुक्त भनी महादेव खिम्ती र मैनाचुली जेभीका तर्फबाट तयार भएको बिलबमोजिमको रकम बुझ्नेलगायत सम्बद्ध कागजातमा दस्तखत गरेको पाइएको छ । अन्य सरहको बिगोसहित गलत कार्यमा मतियार बनेका प्रधानविरुद्ध पनि मुद्दा परेको छ ।
यसअघि पनि सोही आयोजनाका प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध ९६ लाख ६४ हजार २९६ रुपियाँ बिगो कायम गरी गैरकानुनी लाभ तथा सरकारी सम्पत्तिमा हानि पु¥याएकोमा मुद्दा दर्ता भएको हो । प्रमुख श्रीवास्तवले निर्माणमा प्रयोग भएको ग्याबियन तारको गुणस्तर परीक्षण नगरी प्रयोग गरेको तथा त्यसलाई गुणस्तरयुक्त भनी अन्तिम बिल र कार्यसम्पन्न प्रतिवेदन प्रमाणित गरी भुक्तानी गराएको अख्तियारको ठहर छ ।
सो कार्यमा मिलोमतो गर्ने आयोजनाका इन्जिनियर पाण्डवप्रसाद देव, निर्माण सेवाका ङबाङ क्षोदेन शेर्पा (एन.सी.शेर्पा), वैकुण्ठप्रसाद भण्डारी र शिवजी सापकोटाविरुद्ध पनि सोही बिगोबमोजिम असुलउपर गरी जफत गर्न आरोपपत्र दर्ता १२ दिन नुपुग्दै आयोगले अर्को मुद्दा दायर गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?