logo
२०७८ असोज २ शनिवार

दैनिक अध्यावधिक

image
1086

सङ्क्रमित

image
1351

निको भएका

image
10

मृत्यु भएका

मिति:आश्विन १, २०७८ (१५:५९)
स्राेत:https://covid19.mohp.gov.np/



नेपाली सङ्गीतका जगपुस्ता : नातिकाजी

विचार/दृष्टिकोण |


नेपाली सङ्गीतका जगपुस्ता : नातिकाजी


दीपक श्रेष्ठ

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जूनकिरीझैँ ज्योति बाली अन्धकारमा चम्किन्छ
राष्ट्रिय भावना पोतिएको यो भाका विद्यालयको आँगनमा धेरैपटक गाइयो । भुलुक्क रगत उमाल्ने भूपि शेरचनका शब्दमा नातिकाजीले भरेको लयको लहरमा भाका हाल्नुभएको थियो, तारादेवी र प्रेमध्वज प्रधानले । जुन गीत पछिल्लो पुस्ताका सङ्गीत पारखीमाझ पनि उत्तिकै लोकप्रिय छ ।
नेपाली आधुनिक सङ्गीतको जग पुस्ता हुन्, नातिकाजी । २००७ सालको परिवर्तनपछि स्थापित रेडियो नेपालमा जागिरे बनेर पस्नुभएका नातिकाजीले नेपाली आधुनिक गीतको जगमात्र होइन, सुनौलो समय पस्किएर जानुभयो ।
बाल्यकालदेखि नै भजन सङ्गीतको सङ्गतमा चुर्लुम्म डुब्नुभएका नातिकाजीले जीवनका अधिकांश समय हार्मोनियमका पर्दा फिटेरै बिताउनुभयो । जीवनका आखिरी समयमा पार्किन्सन रोगले थलिएर बस्दासमेत सङ्गीतको सङ्गत छाड्नुभएन । जीवनको अम्मल बनेकै थियो, सङ्गीत ।
विक्रम संवत् १९८२ पुस ३ गते ललितपुर पुल्चोकमा जन्मिनुभएका अमृतलाल मलेकु मावलीघरतिरको मायामा हुर्किनेक्रममा नातिकाजी बन्नुभयो । नातिकाजीले मावली बाजेको पछि लागेर गुजेश्वरी र पशुपतितिर भजन गाउँदागाउँदै विसं २००४ सालतिरै साथीहरूसँग मिलेर ‘जीवनज्योति’ नाटक पनि तयार पार्नुभएको थियो । अर्थात् नातिकाजीमा कलाकारिताको लत बाल्यकालमै सुरु भएको थियो ।
२००७ सालमा मुक्तियोद्धाहरूले विराटनगरमा सुरु गरेको रेडियोलाई काठमाडौँबाट प्रसारण थालिएको थियो । लाइभ प्रसारण रेडियोमा बनाउने न रेकर्डिङ गीत थिए, न धुन । त्यो बेलामा रेडियो प्रवेश गर्नुभएका नातिकाजीले आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘जब प्रेम छुट्यो रोएर के गरौँ’ बोलको गीत प्रत्यक्ष प्रसारणमा गाउनुभएको थियो । रेडियो प्रवेश गरेको एक वर्षपछि विसं २००८ वैशाख १५ गतेदेखि रेडियोमा जागिर जीवन सुरु गर्नुभएका नातिकाजीले सुरुवाती दिनमा गीत लेखन र गायनमा बढी सक्रिय हुनुभयो । नातिकाजीले पुष्प नेपालीको शब्दमा अनि आफ्नै सङ्गीतमा ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ गीत भारतको कोलकातामा पुगेर २००९ सालमा डिस्क रेकर्ड गराउनुभएको थियो । उहाँले करिब दुई सयजति गीत आफ्नो स्वरमा रेकर्ड पनि गराउनुभए पनि औपचारिक गायन थालेको एक दशकपछिदेखि सङ्गीत सिर्जनामा नै बढी तल्लीन हुनुभयो ।
त्यो समय अर्थात् रेडियो स्थापनापछिका केही समय रेडियोमा नेपाली गीतको अभाव थियो । हिन्दी गीतको हुबहु नक्कल गरेर त्यसमा नेपाली शब्दहरू राखी गाउने गरिन्थ्यो । त्यसबीचमा नेपाली मौलिक सङ्गीतको खोजी थालियो । यहीक्रममा नातिकाजीले नेपाली लोकभाका, नेवारी लोकलय र शास्त्रीय सङ्गीतलाई आधार बनाएर लय सिर्जना गर्न थाल्नुभयो । हिन्दी सङ्गीतको धारभन्दा पृथक मौलिक धारको खोजी थालियो । नेपाली सङ्गीतको मौलिक बाटो पहिचानमा नातिकाजीले हार्मोनियमका पर्दा धेरै फिट्नुभयो । हिन्दुस्तानी सङ्गीतको धार त्याग्दै नेपाली शैलीको आधुनिक सङ्गीतको मूलधार पहिल्याउन नातिकाजीले भङ्गालोको नेतृत्व गर्नुभयो । जसलाई नातिकाजी शैलीको साङ्गीतिक धार भन्न
पनि सकिन्छ ।
खासमा नेपाली आधुनिक सङ्गीतमा एउटा शैलीकै विकास भयो, नातिकाजी शैलीको सङ्गीत । नेपाली रैथाने लोकलयमा पाइने मिठासको धरातलमा टेकेर नातिकाजीले नेपाली शैलीको आधुनिक गीत–सङ्गीतको प्रारम्भ थाल्नुभयो । जुन शैलीका गीत गाए पनि त्यसमा नेपालीपन हुनुपर्छ भन्ने मान्यता राख्नुहुने नातिकाजीले युवा पुस्तासँग पनि उत्तिकै रमेर काम गर्नुभएको पाइन्छ । यसै प्रसङ्गमा वरिष्ठ गीतकार यादव खरेलले भन्नुभएको छ, “यतिसम्म कि त्यो बेला (रेडियो स्थापनाको समय) शास्त्रीय गीतहरू गाउँदा जम्मै हिन्दीमा गाइन्थ्यो, नेपालीमा शास्त्रीय गायन हुँदैनथ्यो । विस्तारै ‘रिभ्युलाराइज्ड’ हुँदै गयो । नाति दाइले त्यस अवस्थामा नेपालीको लोकलयहरूलाई आत्मसात् गर्दै जानुभयो, जसमा उहाँले नेपालीपनकै आधुनिकता र शास्त्रीयलाई जोड्दै जानुभयो । यसरी नेपाली लोक, आधुनिक र शास्त्रीय तीनवटै पक्षलाई एकाकार गर्दै नेपाली सुगम सङ्गीतलाई छुट्टै ‘आइडेन्टिटी’ दिनेमा सर्वश्रेष्ठ हात नाति
दाइको रह्यो ।”
नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जुन स्थान छ, नेपाली सङ्गीतमा नातिकाजीले त्यो स्थान ओगटेको धारणा यादव खरेलको छ । उहाँले भन्नुभएको छ, “देवकोटाको लेखाइमा नदीको जस्तो जुन प्रभाव छ, जुन वेग छ, जुन स्वच्छता र सरलता छ, त्यही चरित्र नाति दाइ र उहाँको सङ्गीतमा छ ।”
त्यस्ता व्यक्तित्व, जसको खोजी, अध्ययन र अनुसन्धान आजसम्म पनि अर्थपूर्ण रूपमा हुन सकेको छैन । उहाँको व्यक्तित्व, कृतित्व र समग्र साङ्गीतिक जीवनको समालोचना र अध्ययन भएकै छैन । यसतर्फ नेपाली नाट्य कला, सङ्गीतको संरक्षण र विकासको जिम्मेवारी बोकेका सरकारी निकायले ध्यान दिनुपर्दैन ? भन्ने प्रश्न पनि ज्वलन्त रूपमा उठ्ने गरेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले एक भेटमा यी पङ्तिकारसँग भन्नुभएको थियो, “मलाई गीतकारका रूपमा परिचित गराउने मानिस नै नातिकाजी हुन् ।”
आजै र राति के देखँे सपना मै मरी गएको
बतासविना हाँगाको फूल भुँइ झरी गएको
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको जादुमयी स्वरमा रहेको यो गीतबाटै आफू गीतकारका रूपमा परिचित भएको राष्ट्रकविले बताउनुभएको थियो । जुन गीत नातिकाजी र राष्ट्रकवि घिमिरेलाई समेत अति नै मन पर्ने कोटिका गीत हुन् । शब्दको मर्मलाई टपक्क सङ्गीतमा खिप्न सक्ने खुबी नातिकाजीमा थियो । गीतकार रत्नशमशेर थापाले एक प्रसङ्गमा भन्नुभएको थियो, “गीति शब्दहरूमा बेजोड ट्युन गर्न सक्ने खुबी भएका एक प्रतिभाशाली मान्छे, नातिकाजी ।”
गायक योगेश वैद्य भन्नुहुन्छ, “नाति दाइका गीत लयप्रधान हुन्थ्यो, स्वरप्रधान हुन्थ्यो, शब्दप्रधान हुन्थ्यो । उहाँको सङ्गीतमा शब्दहरूले अभिव्यक्ति पाउँथ्यो ।”
नातिकाजीका सङ्गीतमा नारायणगोपाल, प्रेमध्वज प्रधान, तारादेवी, योगेश वैद्य, रुवि जोशी, फत्तेमान, उदितनारायण झादेखि रामकृष्ण ढकाल, यम बरालसम्मका पुस्ताले गाउने अवसर पाएका थिए । उहाँले नेपाल भाषाका गीतमा पनि सङ्गीत दिनुभएको छ । चलचित्र, राष्ट्रिय, लोक, भक्ति सङ्गीत सबै प्रकारका गीतमा रमाएका नातिकाजीले पिँजराको सुँगा, कुञ्जिनी, हामी आफ्नै भरमा ज्युँदै छौँ, भक्त प्रह्लाद, पृथ्वीनारायण शाहका चार पक्ष लगायतका २२ वटा जति गीतिनाटकमा समेत सङ्गीत दिनुभएको थियो । उहाँका सपना भुलाई सारा.., एउटा तारा झर्दा पनि..., यस्तो पनि हुँदोरै’छ.., पर लैजाऊ फूलहरू..., उकाली ओरालीहरूमा..., आमा भएर बोकी हेर सन्तानका पिरहरू...लगायत दर्जनौँ भाका आज पनि उत्तिकै कर्णप्रिय छन् । उहाँको करिब चार हजार गीत रेकर्डमा रहेको अनुमान गरिन्छ । यद्यपि, सङ्गीत सेवामा जीवन बिताएको रेडियो नेपालमा समेत उहाँका गीतको यकिन तथ्याङ्क छैन । कतिपय गीत निजी क्षेत्रका व्यवसायीको हातमा पु¥याइएको छ । तिनको खोजी, अध्ययन र एकत्रित पारी पछिल्ला पुस्ताका सङ्गीत पारखीमाझ पु¥याउन गम्भीर पहल आवश्यक छ ।
यो एउटा प्रश्न गर्नैैपर्छ, देशमा जब सङ्कट आइपर्छ, त्यो बेला हरेक नेपालीको मन, मुटु र मुखमा गुञ्जिन्छ, राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द अनि नातिकाजीको सङ्गीत र स्वरको यो भाका । नेपालीको मनमा आशा जगाउने, विश्वास र हिम्मत उठाउने यो भाका दिने सङ्गीत महर्षि नातिकाजीलाई के राज्यले चाहिँ सम्झनुपर्दैन ?
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे,
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
(लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।)
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?