logo
२०८० चैत्र १६ शुक्रवार



घट्दै छ सरकारको खर्च

अर्थ |


घट्दै छ सरकारको खर्च



विश्वास रेग्मी

काठमाडौँ, मङ्सिर १३ गते । चार वर्षअघि अर्थात् आर्थिक वर्ष २०७३/७४ मा एक हजार रुपियाँ कर सङ्कलन गर्दा आन्तरिक राजस्व विभागको खर्च पाँच रुपियाँ ८८ पैसा हुन्थ्यो । गत आर्थिक वर्ष २०७६/७७ मा यस्तो खर्च त्यसको तुलनामा दुई रुपियाँभन्दा बढीले घटेर प्रतिहजार राजस्व सङ्कलनमा तीन रुपियाँ ६२ पैसा मात्र पुगेको छ । यसको अर्थ हो कर सङ्कलन गर्दा राज्यलाई जोगिने रकम बढेको छ ।
विभागका अनुसार कार्य क्षमतामा भएको सुधारले विगत केही वर्षयता कर सङ्कलन लागत निरन्तर घटिरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा प्रतिहजार लागत पाँच रुपियाँ २० पैसा रहेकामा लगत्तै २०७५/७६ मा चार रुपियाँ २१ पैसामा झरेको छ । कर सङ्कलन लागत घट्नुले विभागले लिएका सुधारका रणनीति सफल हुँदै गएको प्रमाणित हुने उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डे बताउनु हुन्छ । कर सङ्कलनमा प्रयोग भएको डिजिटल प्रविधिलगायत अन्य आन्तरिक सुधारका कामले लागत घटेको देखिन्छ, उहाँले भन्नुभयो । यद्यपि विकास खर्च नहुँदा गत आर्थिक वर्षमा भने एकैपटक लागत धेरै घटेको देखिएको उहाँले बताउनुभयो । विकास खर्चको मात्राअनुसार पनि कर सङ्कलन लागत घटबढ हुने गर्छ तर पछिल्लो समय निरन्तर घट्नुमा विभागले गरेको सुधार नै प्रमुख कारण रहेको पाण्डेको दाबी छ ।
विभागले कर्मचारीको तलब भत्तासहितका दीर्घकालीन खर्चबाहेक अल्पकालीन खर्चलाई आधार मानेर यस्तो लागत गणना गर्छ । सम्बन्धित आर्थिक वर्षमा विभागले सङ्कलन गरेको राजस्व र सोही आवका अल्पकालीन किसिमका खर्चलाई जोडेर यस्तो लागत निकालिने पाण्डेले जानकारी दिनुभयो ।
लागत घट्दा राज्यको राजस्वको आकार बढ्छ । विभागले पछिल्लो समय आफ्नो कार्यप्रणालीलाई अनलाइनबाटै उपलब्ध गराउने गरी सुविधा थप्दै आएको छ । कर कार्यालयमा करदाताको उपस्थिति न्यून बनाउँदै ‘फेसलेस’को अवस्थामा पु¥याउने विभागको योजना छ ।
कोरोना सङ्क्रमणका कारण बन्दाबन्दीका बीचमा पनि विभागले कर प्रक्रियाका धेरै पक्षलाई अनलाइनमै उपलब्ध गराएर करदातालाई कार्यालयसम्म धाउनुपर्ने अवस्था अन्त्य गरेको थियो । विभागका अनुसार अहिले करदाताले अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर लिने, कर विवरण बुझाउने र अद्यावधिक गर्ने, डे वान प्रकृतिका ग्राहकले अनलाइनबाटै कर चुक्ता गर्नसक्ने, आय विवरण बुझाउने र म्याद थपको विवरण लिने, करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र आफ्नो विवरण आफैँ अद्यावधिक गर्न सक्नेलगायतका सुविधा उपलब्ध गराएको छ । विभागको वेबसाइटबाटै यस्तो सुविधा
करदाताले लिन सक्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?