logo
२०८१ बैशाख ८ शनिवार



वैदेशिक रोजगारमा बेथिति : कतार पठाउन अवैध अन्तर्वार्ता

अर्थ |


वैदेशिक रोजगारमा बेथिति : कतार पठाउन अवैध अन्तर्वार्ता


सीता शर्मा

काठमाडौँ, मङ्सिर १० गते । कतारमा नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिना नै केही वैदेशिक रोजगार कम्पनीले विदेश पठाउने भन्दै सयौँ सङ्ख्याका युवालाई धमाधम अन्तर्वार्ता लिएको अवस्थामा वैदेशिक रोजगार विभागको अनुगमन टोलीले फेला पारेको छ । होप इन्टरनेसनल, एसओएस म्यानपावर सर्भिस र डीडी ह्युमन रिसोर्स कम्पनीले त्यसरी अन्तर्वार्ता लिएको पाइएको हो । यससँगै वैदेशिक रोजगारीका नाममा डरलाग्दो बेथिति रहेको उजागर भएको छ ।
विभागको टोलीले सोमबार धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा र मङ्गलबार रानीबारीस्थित होप इन्टरनेसनल म्यानपावरमा अनुगमन गर्ने क्रममा कतारमा सुरक्षा गार्डका लागि मागको पूर्वस्वीकृति बिना अन्तर्वार्ता लिएको अवस्थामा फेला पारेको हो ।
ती कम्पनीले सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोली आकस्मिक अनुगमनमा पुगेको थियो । विभागको टोली ती कम्पनीमा पुग्दा अन्तर्वार्ताका लागि सयौँ सङ्ख्याका युवालाई गेटबाहिर लाइनमा लामबद्ध गरेको फेला परेको विभागले जनाएको छ । अनुगमनपछि विभागको टोलीले आवश्यक कागजातसहित वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटेको जनाएको छ ।
विदेशबाट नेपाली श्रमिकको माग आएको हो भने त विभागबाट पूर्वस्वीकृति नै नलिइकन कसरी विदेश पठाउन सम्भव छ भन्ने प्रश्न गर्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।
उहाँका अनुसार विदेश जानका लागि त विदेशमा रहेका रोजगारदाताबाट माग आएपछि विभागले पूर्वस्वीकृति गर्नुपर्छ । त्यो स्वीकृति मागलाई सम्बन्धित देशमा रहेका दूतावासले प्रमाणीकरण गर्नुपर्छ र त्यो प्रमाणीकरण गरेको माग राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि मात्र उहाँहरूले अन्तर्वार्ता लिएर मान्छे छनोट गर्ने हो तर उहाँहरूले अहिले त कुनै पनि प्रक्रिया पूरा गरेको पाइँदैन । कतार पुलिसमा रोजगारीमा जानका लागि निःशुल्क भिसा र टिकट भने पनि म्यानपावरले १२ लाखसम्म असुली गर्ने गरेको गुनासो आएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कतार रोजगारीका नाममा सिन्डिकेट हुने समाचार आइरहँदा यस्ता कार्य हुनुले थप आशङ्का गर्ने ठाउँ देखिएको जनाएको छ । सङ्घका अध्यक्ष विष्णु गैरेले बजारमा कतार रोजगारीको नाममा १७ वटा म्यानपावरले सिन्डिकेट लाद्न खोजेको हल्ला भइरहँदा तिनै छानिएका म्यानपावरबाट नै यस्ता कार्य हुनुले आशङ्का अझै थपिएको बताउनुभयो ।
साथै उहाँले गैरकानुनी रूपमा गरिने यस्ता गतिविधि विरुद्धमा सङ्घले कडा प्रतिवाद गर्ने र यस व्यवसायलाई बदनाम हुनबाट जोगाउनुपर्ने बेला आएको पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?