logo
२०८१ बैशाख १३ बिहीवार



महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : तिमिल्सिना

मुख्य समाचार |


महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : तिमिल्सिना


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ६ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सचेतना फैलाउन जनप्रतिनिधि घरघरमा पुग्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित कोभिड १९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको हो ।

कोरोना महामारीको हालसम्म कुनै उपचार नरहेकाले नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने उहाँले बताउनुभयो । जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्, बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, “आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो ।”

कोरोना महामारी सुरु हुँदा र अहिले लाखौंको संख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भन्दै उहाँले परिस्थितिअनुसार सरकारले योजना बनाउनुपर्ने बताउनुभयो । त्यसैगरी जनप्रतिनिधिले विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यन्वयनमा साथ दिनुपर्ने सुझाव दिनुभयो ।

कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्ने आग्रह गरौंं, उहाँले भन्नुभयो, “अहिले संक्रमण लाखौंमा पुगिसकेको छ, उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घरघरमा जनचेताना फैलाउन पुग्न जरुरी छ ।”

महामारी नियन्त्रण सम्बन्धी सचेता फैलाउन राजनीतिक दलले आफ्ना संगठनलाई गाउँ गाउँमा परिचालित गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । आपत परेकाबेला हामी जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्छौं उहाँले थप्नुभयो, “राजनीतिक दलसँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्नुपर्छ ।”

कोरोना विकसित मुलुकमा समेत भयावह भैरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताउनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभयो । कोरोना नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मी सँगै सांसद, स्थानीय जनप्रतिनिधि र जनताको भूमिका जरुरी हुने उहाँले बताउनुभयो ।

सरकारले सुरुमा जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको थियो, मन्त्री ढकालले भन्नुभयो, “नेपालमा हालसम्म १६ लाख ५० हजारको कोरोना परीक्षण भइसकेको छ । अहिलेको अवस्थालाई हेर्दा करिब दुई प्रतिशत नेपाली संक्रमित हुनसक्ने अनुमान गरेर सरकारले तयारी गरिरहेको छ ।” उहाँले संघ, प्रदेशस्तरीय अस्पतालको स्तरोन्नती र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका स्वास्थ्य विज्ञ डाक्टर विनोदप्रसाद गुप्ताले कोभिड १९ पछाडिको विज्ञानबारे सांसदहरूबीचमा धारणा राख्नुभयो । त्यसैगरी स्वास्थ्य संगठनका रणनीतिक, जोखिम तथा संकट सञ्चारविज्ञ डा। सुनुर वर्माले कोभिड जोखिम सञ्चार तथा समुदायको संलग्नताको महत्व र कोभिड सम्बन्धी अफवाह तथा गलत सूचनाले समस्या पार्नसक्ने बताउनुभयो ।

स्वास्थय संगठनका विज्ञहरूले सरकारले बिरामीको परिक्षण, आइसोलेसन व्यवस्थापन, उपचार तथा सम्पर्कमा आएका व्यक्तिहरुको खोजतलास, क्वारेन्टाइनको व्यवस्थापन गर्न र जनतालाई सूचित गर्नुपर्ने सुझाव दिनुभयो । सबै व्यक्तिको दायित्वका रुपमा भौतिक दूरी कामय गर्ने, मास्कको उचित प्रयोग गर्ने र बेला बेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाको वर्तमान अवस्था र सरकारले गरिरहेको तयारी बारे जानकारी गराउनुभएको थियो । संघीय संसद राष्ट्रिय सभाको संयोजन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमलाई विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?