logo
२०८० चैत्र १६ शुक्रवार



साथ छुटेका बालबालिका

विचार/दृष्टिकोण |


साथ छुटेका बालबालिका


सीता शर्मा
स्याङ्जा जिल्ला स्थायी घर भई हाल कीर्तिपुरमा बस्दै आएकी कल्पना ठकुरीको १३ वर्षीय छोरा हराएको आउने माघमा दुई वर्ष पुग्छ । छोरा कहाँ गए, के अवस्थामा छन्, उहाँलाई अत्तोपत्तो छैन । एक्लैले तीन छोराछोरीको लालनपालन र पढाउन नसकेपछि साँझ–बिहान काम सघाएर पढाउने सर्तमा गाउँकै बहिनी पर्नेको घरमा पठाउनुभएको थियो । ‘ती बहिनीले राम्रै विद्यालयमा पढाएको र लाउन, खान पनि मसँग भन्दा त्यहाँ धेरै राम्रो थियो तर एक्कासि हरायो ।’ तिनै बहिनीको सहयोगमा छोराको खोजी गरेको बताउने कल्पनाले इष्टमित्रदेखि प्रहरी सबैतिर हारगुहार गर्नुभयो तर पत्तो लागेको छैन । तैपनि छोरा आउने आस मरेको छैन ।
बर्दिया स्थायी घर भई काठमाडौँको बालाजुमा बस्ने हिमा कठायतकी १४ वर्षीया भतिजी हराएको डेढ वर्ष भयो । आफू गलैँचा कारखानामा काम गरेर भए पनि काठमाडौँमा पढाउने भन्दै आठ वर्षअघि छ वर्षीया भतिजी ल्याउनुभएको थियो उहाँले । हिमालाई भतिजी हराउँदाको पीडा त छ नै दाजुभाउजू र आफूबीचको सम्बन्धमा समेत दरार उत्पन्न भएको छ । आफूले पढ्न नपाएकी हिमाले भतिजीलाई दुःख गरेरै भए पनि पढेजति पढाइदिने भनेर दाजुलाई दिएको वचन चकनाचुर भयो । भतिजी हराएदेखि हिमाको माइतीमा आउजाउसमेत बन्द भएको छ । कक्षा ८ मा पढ्दै गरेकी भतिजीको खोजी गर्नका लागि प्रहरीकहाँ उजुरी दर्ता गराएर हिमा धेरैपटक धाउनुभयो तर अहँ अत्तोपत्तो छैन तिनको । बाबुआमा चाहिने बेलामा बाबुआमाको साथ छुटाएर पढाउँछु भनेर ल्याएर गल्ती गरेँ कि भन्ने पछुतो हिमालाई लाग्न थालेको छ । यस्तै, काठमाडौँको सीतापाइलाका रमेशप्रसाद काफ्लेको घरमा काम गर्ने १३ वर्षीया बालिका तीन वर्षपहिले हराइन् । ती बालिकाको खोजीका लागि उहाँले प्रहरीमा उजुरी गर्नुभयो र हराएको एक महिनाको बीचमा दुई÷तीनपटक बालिकाको खबर बुझ्न प्रहरीकहाँ पुग्नु पनि भयो, केही पत्तो लागेन । मगर थरकी ती बालिकालाई उहाँका साथीले चितवनबाट पाँच वर्षपहिले ल्याइदिएका थिए । ती बालिका भेटिए वा नभेटिएको उहाँलाई अहिलेसम्म कुनै जानकारी छैन । उहाँले खोजी पनि गर्नुभएको छैन ।
यी तीनवटा प्रतिनिधिमूलक घटनाले आमाबाबुको साथमा चाहिने उमेरमा साथ नपाएका बालबालिका हराउने र बेपत्ता हुने गरेको देखिन्छ । यसरी हराउने बालबालिकाको सङ्ख्या प्रहरीकोमा ठूलो छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्रमा आएका उजुरी हेर्दा पनि अभिभावकको साथ छुटेका र घरमा काम गर्ने बालबालिका बढी हराउने गरेको पाइन्छ । केन्द्रका अनुसार अरूको घरमा काम गर्न बस्ने, अभिभावक नभएका बालबालिका घरधनीले नराम्रो व्यवहार गरेपछि घर छाडेर हिँड्दा हराउने गरेका छन् । हराएका बालबालिकामध्ये अधिकांश अभिभावकविहीन हुने हुनाले खोजतलासका लागि चासो देखाउने पनि कोही हुँदैनन् । प्रहरीले पनि आफन्त नभेट्दा खोजी गर्न कठिन हुने बताउँछ ।
आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै दुई हजार ७२९ जना बालबालिका हराएकोमा दुई हजार २१९ जना फेलापरे भने बाँकी ५१० जना बेपत्ता छन् । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३÷०६४ देखि आर्थिक वर्ष २०७६÷०७७ सम्म २८ हजार बालबालिका हराएकोमा १६ हजार फेलापरेका छन् भने १२ हजार अहिलेसम्म भेटिएका छैनन् । यो तथ्याङ्क हेर्दा हराएका बालबालिकामध्ये करिब ४३ प्रतिशत बालबालिका भेटिएका छैनन् । ती बालबालिका कहाँ गए, के प्रयोजनका लागि हराए र कस्तो अवस्थामा छन्, कसैलाई थाहा छैन । हराएका बालबालिका खोज्ने जिम्मा पाएको बालबालिका खोजतलास समन्वय केन्द्रले हराएका ती बालबालिकाको खोजी जारी रहेको जनाएको छ । सो केन्द्रका अनुसार अधिकांश बालबालिका आमाबाबु दुवै नभएका, बाबुआमा भएका तर साथमा नभएका, बाबुआमामध्ये एकजनामात्रै भएका, बाबुआमा भएर पनि गरिबीका कारण हेरचाह नभएका, बाबुआमाको दैनिक झगडालगायतका कारण बालबालिका हराउने गरेका छन् ।
हराउनेमा बालिकाको सङ्ख्या उच्च
लैङ्गिक रूपमा हेर्दा बालिकाको हराउने दर चिन्ताजनक छ । गएको १४ वर्षको बीचमा हराएका १२ हजार बालबालिकामा ७० प्रतिशत बालिका छन् । हराएका बालिकाको उमेरगत रूपमा हेर्दा ११ देखि १५ वर्ष उमेर समूहका बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा दुई हजार ७२९ जना बालबालिका हराएकोमा एक हजार ८९८ बालिका र ८३१ बालक छन् । यो तथ्याङ्कले पनि ७० प्रतिशत बालिका हराउने गरेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा तीन हजार ४२२ जना बालबालिका हराएकोमा दुई हजार ३८१ बालिका र एक हजार ५१ बालक छन् । यो तथ्याङ्क हेर्दा पनि ७० प्रतिशत बालिका हराएको देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५ मा हराएका दुई हजार ३३० बालबालिकामध्ये बालक ९२३ र बालिका एक हजार ४०७
जना थिए ।
तरिका फेरियो
पहिले–पहिले बाबुआमासँगै घुम्न जाँदा छलिएका वा आमाबाबु नभएकाहरू घरबाट निस्किएपछि घर जान नसकेर हराउने बालबालिका धेरै हुने गरे पनि अचेल यसका अनेक रूप देखिन थालेका छन् । बाबुआमा नभएका कारण, साथीको लहैलहैमा र फेसबुक, मोबाइलको प्रयोगले घर छाड्नेक्रम बढेको खोजतलास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार फेसबुक र मोबाइलबाट सम्पर्क भएका साथी भेट्न जाँदा हराउने घटना पछिल्लो समयमा बढेका छन् । पछिल्लो समयमा विभिन्न गुम्बा, विहार र होस्टेल
(छात्रावास)मा बस्ने बालबालिका समेत हराउन थालेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
कारणको खोजी
बर्सेनि यति ठूलो सङ्ख्यामा बालबालिका हराउँछन्, ती के प्रयोजनका लागि कहाँ पुग्छन् ? प्रहरीले विभिन्न समयमा सार्वजनिक गरेको विवरणअनुसार बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन शोषणका लागि भारतका विभिन्न सहर र पछिल्लो समयमा तेस्रो मुलुकका सहरसम्म पु¥याउने गरेको पाइन्छ । पछिल्लो समयमा बालिकालाई यौनशोषण, श्रमशोषण र बालकलाई मिर्गौला, मुटु, कलेजो निकाल्ने प्रयोजनका लागि पैसाको लोभ देखाएर लैजाने गरेको पाइन्छ । खुला सिमानाका कारणले विनाअनुमति, विनायोग्यता, उमेर, समय केही नभए पनि कामका लागि भारत जान रोकावट नभएकाले गरिबी, अभाव, अशिक्षा, प्रलोभनमा पर्ने लगायतका कारण पनि हराउनेक्रम नियन्त्रण हुन सकेको छैन ।
खोजतलासलाई प्रभावकारी गराउन निर्देशिका
बालबालिका हराउने तर नभेटिने समस्या नियन्त्रण हुन नसकेपछि सरकारले बालबालिका खोजतलास केन्द्रको कार्यलाई व्यवस्थित र प्रभावकारी गराउने उद्देश्यले यससम्बन्धी निर्देशिका जारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका खोजतलास नम्बर १०४ (टोल फ्री) सञ्चालन निर्देशका–२०७६ जारी गरी यसको प्रभावकारी कार्यान्वयनका लागि प्रहरीमार्फत गृहकार्य सुरू गरेको छ । निर्देशिकाले केन्द्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा महानगरीय प्रहरीको नेतृत्वमा राष्ट्रिय समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ भने प्रदेशमा प्रादेशिक सरकारको समन्वयमा प्रादेशिक प्रहरीको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिनेछ । जिल्लास्थित स्थानीय सरकारसँग समेत समन्वय गरी जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा समन्वय समिति गठन गर्ने व्यवस्था छ । तीनै तहको सरकारमा यी संरचनाको विस्तार गरी यसको उद्देश्यअनुरूप कार्यान्वयनमा गएमा हराउने वा बेपत्ता हुने, अपहरणमा पर्ने, बेचविखन तथा ओसारपसारका कारण जोखिममा पर्ने बालबालिकाको सङ्ख्या पूर्ण रूपमा नभए पनि केही हदसम्म नियन्त्रण हुने विश्वास गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनका लागि विशेषगरी स्थानीय सरकारले बालबालिका हराउने वा बेपत्ता हुने कार्य रोकथाम तथा नियन्त्रण गर्न १०४ नम्बरको सेवाबारे तल्लो तहसम्म सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । केन्द्र र प्रादेशिक सरकारले स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्छ । कानुन बन्ने तर कार्यान्वयन नहुने समस्या दोहोरिएमा बालबालिका हराउने र नभेटिने सङ्ख्या अझै बढ्ने पक्का छ । त्यसैले कानुन कार्यान्वयन गर्ने निकाय र कार्यान्वयनमा सहयोग गर्ने सरोकारवाला सङ्घ संस्था जिम्मेवार र जवाफदेही हुनैपर्छ ।
(लेखक गोरखापत्रका समाचारदाता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?