logo
२०८१ बैशाख ७ शुक्रवार



खाद्यद्वारा धान खरिद सुरू

जुम्लाको मार्सी पनि किन्ने

अर्थ |


खाद्यद्वारा धान खरिद सुरू



सीता शर्मा

काठमाडौँ, कात्तिक १५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको धान खरिद सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा बर्दिया जिल्लाको राजापुरबाट मोटा धान खरिद सुरु गरेको हो । अघिल्ला वर्षहरूमा कात्तिकको पहिलो साताबाट नै धान खरिद गर्ने गरेकामा यस वर्ष दशैँले गर्दा एक साता ढिला गरी धान खरिद थालिएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो ।
सरकारले गत असार महिनामै तोकेको समर्थन मूल्यअनुरूप धान खरिद सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले यस वर्ष ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएकामा पहिलो चरणमा पश्चिमबाट सुरु गरेको छ ।
कम्पनीले मोटा धान बर्दिया, बाँके, पर्साबाट खरिद गर्नेछ भने मध्यम खालका धान सिरहा, कैलाली, कञ्चनपुर, रुपन्देही, दाङबाट किन्नेछ । यस्तै मसिनो धान मोरङ र झापाबाट खरिद गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी सुवेदीले कम्पनीले यो वर्ष पहिलोपटक जुम्लाको मार्सी धान पनि खरिद गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो ।
सरकारले गएको असार महिनामै धानको समर्थन मूल्य तोेकेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ७३५ रुपियाँ र मध्यम धानको दुई हजार ८८५ रुपियाँ तोकेको थियो । कृषि तथा पशुपक्षी मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त न्यूनतम समर्थन मूल्य प्रस्ताव गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ को तुलनामा प्रतिक्विन्टल दुई सय रुपियाँ बढी मूल्य तोकिएको छ । यसअघि मोटा धानको समर्थन मूल्य दुई हजार ५३१ रुपियाँ ८० पैसा र मध्यमको दुई हजार ६७३ रुपियाँ तोकिएको थियो । २०७७÷७८ को नीति तथा कार्यक्रममा किसानको लागतका आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्ध गरिने उल्लेख छ । सोही नीतिअनुसार बाली लगाउनुअघि नै मूल्य तोकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँले सरकारले धानको समर्थन मूल्य तोकेपछि किसानले बार्गेनिङ गर्नसक्ने बताउनुभयो । धानको मूल्य तोकेपछि आपूर्ति मन्त्रालयअन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्छ । कम्पनीले किसानबाट खरिद गरेको धान चामल बनाएर कर्णाली तथा दुर्गम जिल्लामा ढुवानी गर्दै आएको छ । कम्पनीले यस वर्ष धान खरिदका लागि एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपियाँ छुट्याएको छ । यस्तै कम्पनीले यो वर्ष २५ हजार मेट्रिक टन चामल खरिदका लागि करिब एक अर्ब २६ करोड ९२ लाख रुपियाँ छुट्याएको छ ।
कम्पनीका सूचना अधिकारी सुवेदीले उपभोक्तालाई राहत पुगोस् भनेर कम्पनीले यस वर्षदेखि कम्पनीले ठूलो परिणाममा धानलगायतका खाद्यवस्तुको कारोबार गर्न लागेको बताउनुभयो । उहाँले विगतका वर्षमा कम्पनी खाद्य संस्थान हुँदा केही सीमित मात्रै खाद्यान्नको कारोबार गर्दै आएकामा यो वर्षदेखि व्यापक र ठूलो परिणाममा खरिद गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
कम्पनीले यो वर्ष खाद्यान्न खरिदमा केन्द्रित हुनुको मुख्य कारण बजारमा मूल्य नियन्त्रण गर्दै आमउपभोक्तालाई खाद्यान्न राहत उपलब्ध गराउने रहेको पनि बताउनुभयो । कम्पनीले गत वर्षदेखि सार्क खाद्य सुरक्षा भण्डारणमा समेत खाद्यान्न मौज्दात गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?