logo
२०८० चैत्र १५ बिहीवार



भारतीय सेनाध्यक्ष नरबणेको नियमित भ्रमणमात्र होः डा भट्टराई

राष्ट्रिय |


भारतीय सेनाध्यक्ष नरबणेको नियमित भ्रमणमात्र होः डा भट्टराई


लक्की चौधरी
काठमाडौं, कात्तिक १४ गते । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरबणेको नेपाल भ्रमणको विषयलाई लिएर सञ्चारमाध्यममा अनेक टिप्पणी भइरहँदा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले उहाँको नेपाल भ्रमण नियमित मात्र भएको बताउनुभएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा १९ गते बुधबारदेखि हुने तीन दिने नेपाल भ्रमणमा सेनाध्यक्ष नरबणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नुहुने डा. भट्टराईले बताउनुभयो । त्यस्तै, राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेको शिष्टाचार भेट हुने उहाँले जानकारी दिनुभयो ।

नेपालका प्रधान सेनापतिले भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने र भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने प्रचलनअनुसार नरवणेको नेपाल भ्रमण हुनलागेको बताउनुहुँदै डा. भट्टराईले भन्नुभयो, “यो परम्परागत नियमित कार्यक्रम मात्र हो, भ्रमणका क्रममा नरवणेले शिष्टाचार भेट गर्नुहुनेछ, त्योभन्दा बढी बुझ्नु हुँदैन ।”

नेपाल–भारतबीचको सम्बन्ध विस्तार र मित्रताका लागि दुवै देश सजग रहेकाले आफ्नो ठाउँबाट कुुटनीतिक संवाद र सहयोग जारी रहेको उहाँले बताउनुभयो । “सेनाध्यक्ष नरवणेको भ्रमणमा दुई देशबीच बार्ता हुने होइन, त्यसलाई त्यसरी बुझ्नु हुँदैन” उहाँले भन्नुभयो । छिमेकी मुलुकका सेनाध्यक्ष भ्रमणमा आउँदा कुटनीतिक मार्यादाअनुसार सम्मान र स्वागत गर्ने सबै देशको आफ्नो प्रक्रियाअनुसार भेटघाट हुने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोनमा भए पनि वार्ता र संवाद भइरहेकाले संवादहिनताको अवस्था नरहेको बताउनुहुँदै सल्लाहकार डा. भट्टराईले कोरोना संक्रमण अन्त्य भएपछि दुई देशको हितमा दुबै देशका पदाधिकारीबीच थप नियमित छलफल र संवाद हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (र) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीसँग कात्तिक ५ गते शिष्टाचार भेट गर्नुभएको थियो । त्यसको पनि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप