logo
२०८१ बैशाख १३ बिहीवार



परिणाम ल्याउने गरी काम गर्न निर्देशन

मुख्य समाचार |


परिणाम ल्याउने गरी काम गर्न निर्देशन


भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक ५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गर्नुभएको छ । छलफलको क्रममा उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई थप प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले मु्ख्य सचिव शङ्करदास बैरागी, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग मङ्गलबार ब्रिफिङ लिनुभएको हो । सो अवसरमा प्रधानमन्त्री कार्यालयका आधा दर्जन महाशाखाका प्रमुखले
आ–आफ्नो महाशाखाको कामकारबाहीबारे जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले गोरखापत्रसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेका कामका बारेमा मु्ख्य सचिव, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग छलफल गरिएको बताउनुभयो ।
‘‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक गर्न थालिएको छ, यो मेरा लागि नयाँ ठाउँ हो’’, उहाँले भन्नुभयो, ‘‘कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई थप नयाँ उचाइमा पु¥याउने छु ।’’ उहाँले अगाडि भन्नुभयो, ‘‘म यहाँ कामलाई नयाँ गति दिन र सहजता प्रदान गर्न आएको छु ।’’
प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै उहाँले कामलाई अगाडि बढाउन कुनै किसिमको नीतिगत वा जनशक्तिमा समस्या भए त्यसलाई पहिचान गरेर अगाडि बढ्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘‘यदि नीतिगत वा जनशक्तिमा समस्या भए प्रधानमन्त्रीज्यूलाई जस्ताको त्यस्तै भन्नुपर्छ र समाधान खोज्नुपर्छ’’, उहाँले अगाडि भन्नुभयो । ‘‘तपाईंहरूले काम गर्ने कुरामा जे कुरा देख्नुभएको छ, जस्ताको त्यस्तै मलाई प्रस्तुत गर्नुपर्छ, ताकि समस्यालाई चिन्न सकौँ र समाधान गर्न सकौँ’’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?