logo
२०८१ बैशाख ७ शुक्रवार



दशैं भत्ता फिर्ता लिन नेता रावलको संसद सचिवालयसँग आग्रह

राष्ट्रिय |


दशैं भत्ता फिर्ता लिन नेता रावलको संसद सचिवालयसँग आग्रह



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता तथा पूर्व गृहमन्त्री भीमबहादुर रावलले आफ्नो खातामा आएको दशैंभत्ता रकम फिर्ता लिन संघीय संसद सचिवालयलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत नेता रावलले आइतबार सो आग्रह गर्नुभएको हो ।

“देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैं भत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो” नेता रावलले सामाजिक सञ्जालमा लेख्नुभएको छ । यसका लागि निवेदन नै दिनु नपर्ने हो तर मेरो दशैंभत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गर्दछु, उहाँले भन्नुभएको छ ।

मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमा भत्ता बरावरको आफूले चेक काटेर दिने नेता रावलले प्रष्ट पार्नुभएको छ । त्यसरी पनि पैसा फिर्ता लिन कठिनाई भए आगामी पारिश्रमिकबाट त्यति रकम बरावरको पैसा कट्टा गरी लिन उहाँले आग्रह गर्नुभएको छ । यसैबीच आज संसद सचिवालयले आफ्नो कात्तिक महिनाको तलबबाट ६४,०७० रुपियाँ कट्टा भएको जानकारी गराएको पनि नेता रावलले जानकारी गराउनुभएको छ ।

सञ्चार माध्यममा सांसद तथा जनप्रतिनिधिले दशैंभत्ता लिएको समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भइरहेको छ । देश कोरोना संक्रमणको महामारीबाट गुज्रिरहेका बेला जनता पीडामा रहेकाले जनप्रतिनिधिहरु दशैंभत्ता लिएर रमाइलो गर्न उचित नभएको केही सांसदको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?