logo
२०८० चैत्र १६ शुक्रवार



कर्णाली प्रदेशका पदाधिकारी र प्रम ओलीबीच भेट, छलफल सकारात्मक

मुख्य समाचार |


कर्णाली प्रदेशका पदाधिकारी र प्रम ओलीबीच भेट, छलफल सकारात्मक


लक्की चौधरी
काठमाडौं, कात्तिक १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा अनुपस्थित रहनुभयो ।
तीन दिन अघि काठमाडौं आइपुग्नुभएका पदाधिकारीहरुसँग व्यस्तताकाबीच प्रधानमन्त्री ओलीले आज शनिबार छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ देखि अध्यक्षसँग पदाधिकारीहरुको छलफल भएको हो” थापाले भन्नुभयो ।  छलफलको विस्तृत कुरा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटार बैठकमा अनुपस्थित रहनुभयो । कर्णालीका पदाधिकारीहरुसँग संयुक्तरुपमा छलफल गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई बैठकका लागि खवर गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।संयुक्त बैठकमा आफू सहभागी नहुने खवर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई पठाउनुभएको उहाँले जानकारी दिनुभयो ।
यसअघि कर्णालीका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल अध्यक्ष प्रचण्डले गरिसक्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पार्टीकै सांसदहरुले दर्ता गर्नुभएपछि दुई पक्षबीच विवाद चर्केको थियो । सोही विवाद समाधान गर्न अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाउनुभएको थियो । कर्णाली प्रदेशमा नेकपा सांसदहरु दुई खेमामा विभाजित छन् ।
सांसद यमलाल कँडेलले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको बताउनुभयो । प्रधानमन्त्रीसहित महासचिव विष्णुप्रसाद पौडेलसँग आज छलफल भएको उहाँले जानकारी दिनुभयो । पार्टीले गर्ने निर्णय सबैलाई मान्य हुने तर त्यो भन्दा अघि आफूहरुले धारणा राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । धारणा राख्नेक्रम नसकिएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले पनि पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्ने आग्रह गर्नुभएको बुझिएको छ ।
यसैबीच असोज मसान्त भित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुङ्गो लगाउने समयसीमा घर्केको छ । सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएपछि अन्तरपार्टी निर्देशिकामा असोज मसान्तभित्र एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने प्रतिवद्धता दुई अध्यक्षले गर्नुभएको थियो । गत भदौ २९ गते पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर पार्टी निर्देशन जारी गर्दै सो प्रतिवद्धता गरिएको थियो ।
अपानीमा भनिएको छ, “एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने । केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?