logo
२०८१ बैशाख ४ मंगलवार



‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली

मुख्य समाचार |
पढ्नै पर्ने |


‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेका छौँ : प्रधानमन्त्री ओली
फाइल तस्बिर


दीपक श्रेष्ठ
काठमाडौँ, असोज ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतताका लागि तीनै तहका सरकारहरुको तालवद्ध र समन्वयात्मक प्रयास आवश्यक हुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले संविधानले कृषि तथा खाद्य सुरक्षासम्वन्धी विषय संघ, प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखेको चर्चा गर्नुहुँदै यस सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहहरुलाई हातेमालो गरी अघि बढ्न आह्वान गर्नुभयो ।
उहाँले ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिनुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व भएको चर्चा गर्नुभयो ।
उहाँले खाद्यसम्बन्धी हकलाई संविधानले मौलिक हकको रुपमा ब्यवस्था गरेकालले गरिवीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने ब्यावहारिक अभ्यास अघि बढाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राज्यले यस्ता प्रयास अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व हो । जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने म ठान्दछु ।”
उहाँले दिगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने तथा दिगो कृषि प्रणालीको प्रवर्धन गर्ने’ विषय समेटिएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको छ ।”
उहाँले चालु १५ औं योजनाले खाद्य उपलब्धताको सुनिश्चितता, आयआर्जनमा सुधार गरी खाद्य पहुँचमा वृद्धि र खाद्य सम्प्रभुता, दीगो खाद्य तथा पोषण सुरक्षा सहितको समाज निर्माण गर्ने सोच लिएको बताउनुभयो ।
उहाँले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको संकल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको बताउनुभयो ।
उहाँले १० बर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यावसायिकरणको योजना सहित कृषि पूर्वाधारमा ठूलो लगानीका साथ नेपाल सरकार क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।
उहाँले बाली लगाउनुपूर्व नै प्रमुख खाद्यान्न बालीहरुको न्यूनतम समर्थन मूल्य तोकी यसको बजारीकरण र कृषकको वचतलाई सुनिश्चित गर्ने नीति सरकारले लिएको बताउनुभयो ।
नेपालले विश्व खाद्य दिवसका लागि ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने नारा तय गरेको छ ।
उहाँले कोभिड–१९ ले सिमान्तकृत किसान समुदायमा ठूलो नकारात्मक प्रभाव पारेकाले नकारात्मक असरबाट कृषिक्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्वद्ध निकायलाई आह्वान गर्नुभयो ।
०००

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?