logo
२०८१ बैशाख ७ शुक्रवार



वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी

मुख्य समाचार |


वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी


सीता शर्मा

काठमाडौँ, असोज २५ गते । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था गर्न प्रस्ताव गरेको जनाएको छ । योगदानकर्ताले यो सुविधा प्राप्त गर्न कुल दाबी रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्ने प्रस्ताव संशोधनमा गरिएको छ ।
कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले ७० वर्षपछि सरकारको स्वास्थ्य कार्यक्रममा विभिन्न छुटका योजना रहे पनि ६० देखि ७० वर्षसम्म बिरामी हुँदा कतै पनि स्वास्थ्य उपचारमा राहतका योजना नभएकाले कोषको योजनामा आकर्षित गर्न उक्त प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ६० वर्षदेखि ७० वर्षको बीचका निवृत्तिभरण पाइरहेका योगदानकर्ता बिरामी भएको अवस्थामा कोषले उपचार खर्च व्यहोर्ने भन्ने व्यवस्था मिलाउने तयारी गरेका छौँ, यसबाट धेरै योगदानकर्तालाई राहत हुन्छ ।
कोषको वृद्धावस्था उपचार सुविधा एवं मातृत्व सुरक्षा योजनाअन्तर्गत थप व्यवस्था तथा विदेशी श्रमिकको करार अवधिमा मृत्यु भए आश्रित परिवारलाई एकमुष्ठ सात लाख रुपियाँसम्म रकम प्रदान गर्ने प्रस्ताव गरिएको गरिएको छ । त्यस्तै वृद्धावस्था योजनाअन्तर्गत जम्मा गर्ने भनिएको २८.३३ प्रतिशत योगदान रकमबाट १० प्रतिशत कटाएर श्रमिकलाई उपदानलगायत सुविधा थप गर्ने गरी मस्यौदा तयार गरिएको छ ।
पहिलो योजनाअन्तर्गतकै मातृत्व सुरक्षासम्बन्धी योजनालाई समेत थप आकर्षक बनाउन महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत पारिश्रमिकको ३८ दिनको एकमुष्ठ तलबको ६० प्रतिशत रकम पारिश्रमिकका रूपमा सुत्केरीलाई दिने गरी प्रस्ताव गरिएको छ । यो सुविधा सुत्केरी स्वयम् योगदानकर्ता भएको हकमा रहेको छ । योगदानकर्ताकी श्रीमती सुत्केरी भएको हकमा भने शिशु स्याहार खर्चबापत एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम कोषले उपलब्ध गराउने व्यवस्था रहेको छ । श्रीमान्–श्रीमती नै कोषका योगदानकर्ता भएको हकमा एकतर्फबाट मात्रै यो सुविधा पाउने व्यवस्था रहेको छ ।

एकमुष्ठ सात लाख
कोषमा आबद्ध विदेशी श्रमिकहरूको हकमा यो योजनाअन्तर्गतको सुविधा उपलब्ध गराउन सम्बन्धित योगदानकर्ताको मुलुकसँग छुट्टै सम्झौता गर्नुपर्ने अवस्था भएका कारण विदेशी योगदानकर्ताको हकमा मृतकका परिवारलाई सात लाख एकमुष्ठ सात लाख रुपियाँ दिने प्रस्ताव गरिएको कोषले जनाएको छ ।
कोषका प्रवक्ता पन्थीले विदेशी श्रमिकका आश्रित परिवार तथा छोराछोरीलाई शैक्षिकवृत्ति उपलब्ध गराउने हकमा केही झन्झटिलो हुने हुँदा विदेशी योगदानकर्ताको मृत्यु भएको हकमा उसका आश्रित परिवारलाई एकमुष्ठ रकम उपलब्ध गराउने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

योगदान रकम घटाइँदै
कोषको चौथो योजनाअन्तर्गत रहेको वृद्ध अवस्था योजनाअन्तर्गत निवृत्तिभरण (पेन्सन) र अवकाश सुविधामा योगदानको १८ प्रतिशत र १० प्रतिशत उपदानमा दिने व्यवस्था गरेको छ । यो योजनामा योगदानकर्ताको कुल ३१ प्रतिशत योगदान रकममध्ये २८.३३ प्रतिशत रहने व्यवस्था छ तर यो रकम बढी भएको भन्दै धेरैको गुनासो आएकाले कोषले यो योजनाअन्तर्गतको योगदान रकम घटाउने तयारी गरेको छ ।
प्रवक्ता पन्थीले भन्नुभयो, यो योजनाका लागि २८.३३ प्रतिशत चाहिँदैन भन्ने हिसाबले त्यसलाई ब्रेकडाउन गरेर १८ प्रतिशत रकम यो योजनाका लागि र बाँकी १० प्रतिशत उपदान योजनामा राख्ने प्रस्ताव गरेका छौँ । यसअन्तर्गत रहेको रकमलाई जुनसुकै बेला अप्ठ्यारो पर्दा प्रयोग गर्न सकिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । योगदानकर्तालाई बीचमा निकाल्नुपर्ने अवस्था नआएमा ६० वर्ष पुगिसकेपछि उक्त रकम एकमुष्ठ रूपमा निकाल्न पाउने व्यवस्था गरिएको छ ।
उहाँले उक्त योजना नयाँ भएकाले योगदानकर्ताको गुनासो वा सुझावका आधारमा कार्यविधि संशोधनको तयारी गरिएको जानकारी दिनुभयो । उक्त कार्यविधि संशोधनका लागि मस्यौदा सामाजिक सुरक्षा कोषको बोर्डमा छलफल भई यसलाई अन्तिम रूप दिनका लागि बोर्डले उपसमिति गठन गरेर सबै टुङ्ग्याउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
कोषका अनुसार मस्यौदामा धेरैजसो काम गर्ने क्रममा योगदानकर्ताबाट आएका सुझावलाई समावेश गरिएकाले उपसमितिले नीतिगत र अन्तर्राष्ट्रिय अभ्याससमेत अध्ययन गरेर आउनेछ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध रहेका रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी कुल ३१ प्रतिशत रकम मासिक कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । कोषका अनुसार हाल कोषमा १२ हजार रोजगारदाता र एक लाख ७६ हजार योगदानकर्ता आबद्ध भएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?