logo
२०८० चैत्र १६ शुक्रवार



जलवायु परिवर्तन साझा चुनौती : प्रधानमन्त्री

मुख्य समाचार |


जलवायु परिवर्तन साझा चुनौती :  प्रधानमन्त्री


चाँदनी हमाल

काठमाडौँ, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा बिहीबार सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताउनुभयो ।
यस खतराले मानवता प्रकृतिविरुद्धको गलत दौडको पक्षमा उभिने अर्को खतरा बढेको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो । अरूको निस्क्रियताको भार नेपालजस्तो देशले बोक्नुपरेको उहाँले उल्लेख गर्नुभयो
प्रधानमन्त्री ओलीले नेपालको हिमनदीको महìव उच्च रहेको बताउनुभयो । “जसले नदीका विविध पात्रहरूलाई पोषण दिन्छ र समुद्री पारिस्थितिक प्रणालीलाई सफा गर्छ, प्राकृतिक जलवायु स्थिरताका रूपमा काम गर्छ, पहाड र समुद्रबीचको जैविक सम्बन्धलाई यसले दर्शाउँछ,” उहाँले भन्नुभयो ।
यस फोरमले विश्वव्यापी तापमानको वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न र यसको सही तथ्यलाई जलवायु परिवर्तनको दीर्घकालीन दिगो समाधानका लागि स्थापित गर्न गरेको पहलको प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो ।
उहाँले पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अर्को वर्ष कोप २६ सम्मेलनमा जलवायु कार्यसूचीलाई उच्च विश्वव्यापी राजनीतिक ‘एजेन्डा’ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वर्तमानमा जलवायु सङ्कट ज्वलन्त समस्या बनेको भन्दै ठूला प्रदूषणकर्ताले मौनता तोडेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कमजोर देशको अस्तित्वको सवाल रहेकाले हरेक वर्ष हुने तापमापन र यसको घटबढको अंशले महìव राख्ने प्रधानमन्त्रीले उल्लेख गर्नुुभयो ।
आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका मुलुकले जलवायु कार्ययोजना, जलवायु लगानी, सहज प्रविधिसँगै कार्यान्वयन, अनुकूलन कार्यक्रममा पहुँच पुग्नु जरुरी हुन्छ र त्यसका लागि अन्तर्राष्ट्रिय आवश्यक हुने उहाँले बताउनुभयो ।
यस वर्ष कोभिड–१९ को सङ्कटले मानव जीवन र अर्थ व्यवस्थालाई तहसनहस पारेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले यो महामारी हरित, दिगो स्वास्थ्य र अर्थ व्यवस्थाका लागि अवसर हुन सक्ने बताउनुभयो । कोभिड महामारीबाट सिकेको पाठले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अहिलेको महामारीजस्तै जरुरी र प्राथमिकतासँग मिल्दोजुल्दो जलवायु परिवर्तनको समस्या सामना गर्न उपयोगी हुनसक्ने उहाँले सुझाउनुभयो ।
अबको आवश्यकता जलवायु कार्ययोजनाका लागि एकजुट हुनु रहेकोले यसविरुद्ध राजनीति गर्न नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुुभयो । “आवश्यकता भनेको साझा योजना हो । दिगो समाधानको योजना हो । अब हराउने समय छैन । काम अब सुरु हुनैपर्छ किनभने जलवायु हाम्रो अस्तित्वको प्रश्न हो,” उहाँले थप्नुभयो । संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँं सत्रको संयोजनमा आयोजना गरिएको सो कार्यक्रम बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षतामा बसेको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?