logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाले थुनेको निकास

विचार/दृष्टिकोण |


कोरोनाले थुनेको निकास


चेतनाथ कणेल ‘हरित’

असोज ११, सेप्टेम्बर २७ तारिखमा हामीले पनि ४१औँ विश्व पर्यटन दिवस मनायौँ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा सन् १९८० देखि संसारभर नै यो दिवस मनाउन थालिएको हो । यसपटकको नारा हो छ ः ‘पर्यटन र ग्रामीण विकास’ ।
यो नाराले बोकेको मर्म के हो र त्यसका लागि गर्नुपर्ने कर्म के हो ? बुझ्दा, नाराले घनिभूत बनाउने गर्छ ।
यसपटकको नाराले पर्यटनबाट ग्रामीण क्षेत्रको विकासमा पर्ने प्रभाव र अपनाउनुपर्ने रणनीतिक प्रयासका बारेमा चर्चा गर्न आह्वान ग¥यो । पर्यटन एक बहुआयामिक र चलायमान उद्योग भएकाले जुन देशमा पर्यटन फस्टाइरहेको हुन्छ, त्यहाँ पर्यटनले केवल सहरी र बजार क्षेत्रलाई मात्र ध्यान नदिएर, ग्रामीण र दूरदराजमा पनि पर्यटनको लाभ पुगेको हुनुपर्छ भन्ने मान्यता राख्छ । तर पनि पर्यटनबाट ग्रामीण क्षेत्रमा लाभ विस्तार गर्ने कुरा त्यति सहज छैन । पर्यटनमा लागेकाहरूका लागि जहिले पनि यो चुनौतीको विषय रहिआएको छ ।

पर्यटनको आधार ः ग्रामीण पूर्वाधार
पर्यटनबाट ग्रामीण क्षेत्रको विकास गर्ने मुख्य दुई तरिका छन् । पहिलो, जुन स्थानमा ग्रामीण पर्यटकीय गन्तव्य विकासको सम्भावना छ, त्यहाँ पर्यटकीय उपज (प्रोडक्ट÷डेस्टिनेसन) विकास गरिन्छ र त्यहाँ रहेका हरेक घरधुरीलाई पर्यटनसम्बद्ध क्रियाकलापमा सहभागी गराउने प्रयास गरिन्छ । त्यसो भयो भने स्थानीय पूर्वाधार विकासमा पनि पर्यटनले ठूलो मात्रामा सहयोग गरिरहेको हुन्छ । उदाहरणका लागि रसुवाको गत्लाङ गाउँ तथा तातोपानी क्षेत्रमा ‘टीआरपीएपी’ सञ्चालन भइरहँदा त्यहाँ बाटो सुधार, शौचालय निर्माण, खानेपानी व्यवस्थापन, नाली सुधार, सूचना प्रणाली विकास, अतिथि गृह निर्माण, सामूहिक भेलास्थल सुधार आदि जस्ता अनेक पूर्वाधार विकासका अवसर ग्रामीण बासिन्दाले प्राप्त गरे । अझ हरेक घरमा बौद्ध झन्डा राख्नका लागि रूखबिरुवाका पोल गाड्ने चलनलाई वातावरणमैत्री अभियानअन्तर्गत फलामे पोलबाट प्रतिस्थापन गर्ने कार्य, सुधारिएको चुलो निर्माण, फोहोरमैला व्यवस्थापनका लागि इन्सिनिरेटरको स्थापना आदि पनि पूर्वाधारकै रूपमा स्थापित र विकास भए ।
पर्यटनमा सरिक हुनेहरूका लागि अनेकखालका साक्षरता विकास कार्यक्रम, घरेलु सामग्री उत्पादन, सीप विकास तालिम, व्यवस्थापकीय सीप अभिवृद्धि कार्यशाला, पर्यटककेन्द्रित खाना पकाउने तथा सेवा सत्कार सीप, अतिथि स्वागत तथा व्यवस्थापन शैली, ‘बुक किपिङ’ आदि जस्ता दर्जनौँ प्रकारका ज्ञान तथा सीप पनि ती गाउँका बासिन्दाले लिने मौका पाए । यसरी प्रत्यक्ष रूपमा ग्रामीण पर्यटकीय गन्तव्य विकास गर्दा त्यस्ता ठाउँमा धेरै नै विकास निर्माण र सुधार भएको हुन्छ ।
दोस्रो कुरा, गन्तव्यवरिपरिका जनताको सहभागिता र विकासको कुरा हो । पर्यटन विकास पहलकर्ता वा सहजकर्ताले गन्तव्यमा मात्र नभएर, वरिपरि र दूरदराजका क्षेत्रका बासिन्दाका समस्या र अवसरहरू पनि हेरिदिनुपर्ने हुन्छ । दिगो पर्यटन विकास सिद्धान्तको मूल कडी पनि त्यो हो । तत्कालका लागि भौतिक पूर्वाधार ती ठाउँमा पु¥याउन नसके पनि चेतना, ज्ञान, सीप विकास गर्ने कार्यमा टेवा पु¥याउनुपर्ने हुन्छ । ती ठाउँबाट वस्तु उत्पादन गरी बिक्री हुने प्रबन्ध मिलाइदिनुपर्ने हुन्छ । सम्भव भएसम्म विशेष सीप प्रदान गरी रोजगारी अभिवृद्धिमा समेत सघाउ पु¥याउनुपर्छ । यस्ता रोगजारीमध्ये भरिया, गाइड, कुक, वेटर, फ्रन्ट अफिस, भाषा प्रशिक्षक आदि विशेष प्रचलनमा रहेका छन् । जस्तो कि सोलुखुम्बुको नाम्चे क्षेत्रमा कुक, वेटर, भरिया, गाइड आदि सेवा दिने धेरै व्यक्तिहरू खुम्बुबाहेकका पनि छन् । तिनमा अधिकांशतः सोलुको दक्षिणी भेगका छन् । नाम्चेमा कमाएको धनले सोलुको तल्लो भेगका धेरै जनताको रोजीरोटी चलेको स्थिति छ । ग्रामीण पर्यटन र रोजगारी अभिवृद्धिको राम्रो नमुना हामीले नाम्चेबाट पाउन सक्छौँ । यद्यपि, त्यो यथेष्ठ र अपेक्षित मात्रामा भने छैन ।
पर्यटनबाट ग्रामीण विकासको अपार सम्भावना छ । नाम्चे, फाप्लु, जुनबँेसी, लाङटाङ, क्यान्जिङ, स्याफ्रुबेँसी, धुन्चे, घलेगाउँ, सिरुबारी, बन्दीपुर, मनकामना, घान्द्रुक, चामे, जोमसोम, सौराहा, मेघौली, ठाकुरद्वारा आदि ठाउँहरूलाई पर्यटनकै कारणबाट नेपालमात्र नभएर, विश्वका मानिसले चिन्ने भएका छन् । ती ठाउँमा राम्रो पूर्वाधार विकास भएको छ । बस्ती सुन्दर बनाउने, वातावरण जोगाउने, टोल सफाइ, उद्यमशीलता अभिवृद्धि, चेतना र शिक्षामा पहुँच अभिवृद्धि, आय बढोत्तरी, लघु तथा मध्यमस्तरका पूर्वाधार निर्माणजस्ता कार्यमा ती गाउँहरू अहिले प्रसिद्ध बनेका छन्, समुन्नतिका उदाहरण पनि बनेका छन् । १०–११ वर्षअघि नै नाम्चे क्षेत्रमा भएको एक अध्ययनले नेपालको समग्र वार्षिक औसत आय करिब चार सय डलरमात्र हुँदा त्यहाँका बासिन्दाको औसत आय करिब १५ सय डलर रहेको कुरा प्रकाश पारेको थियो । यस्तो अध्ययन अरू गाउँ र जिल्लाको पनि गर्नु जरुरी छ ।
पर्यटन र ग्रामीण विकासको अन्तरसम्बन्ध केलाउन सहयोगी अर्को उदाहरण– पर्यटकीय चहलपहल बढ्न थालेसँगै लमजुङको घलेगाउँलाई ‘सार्कग्राम’का रूपमा विकास गर्ने सोच करिब एक दशकअघि आयो । अहिले ‘होमस्टे’का लागि नेपालकै नमुना केन्द्र बनेको छ त्यो । पर्यटनबाट स्थानीय रोजगारी बढ्छ, विकास निर्माण बढ्छ र गाउँको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्छ भन्ने अब नौलो रहेन । आजसम्म कम्तीमा एक सय त्यस्ता गाउँठाउँ विकास भइसकेको हुनुपर्ने थियो तर घोरिएर केलाउँदा पनि नमुनायोग्य २० ठाउँ छान्न गाह्रो छ । यसको मूल कारण हो– नेपालमा प्रणालीबद्ध ढङ्गले ‘पर्यटन र ग्रामीण विकास’का पहलको तुइनो राम्रोसँग जोडिन नसक्नु । दुवैको एकीकृत र दिगो विकास गर्ने ठोस सोच र योजना कार्यान्वयनमा तदारुकता र तादाम्य नआउनु ।

रन्थनिएको पर्यटन
ग्रामीण क्षेत्रमा पर्यटकीय गन्तव्य विकास गर्ने र गाउँ क्षेत्रमा बसोवास गर्ने व्यक्तिहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी, सीप तथा आय अभिवृद्धिका क्रियाकलापमा बढीभन्दा बढी जोड्नुपर्ने आवश्यकतालाई यो वर्षको पर्यटन दिवसको नाराले पनि घच्घच्याएको छ । पहिलेभन्दा बढी सचेत होऔँ पनि भनेको छ । तर, समग्र विश्व यतिबेला कोरोना कहर (कोभिड–१९) बाट थलिएकाले सन् २०२० र २०२१ को मध्यसम्मको पर्यटन अनपेक्षित किसिमले खुम्चिने निश्चित छ । नेपालले पर्यटन क्षेत्रमा विगत छ महिनामा करिब ६० अर्बको क्षति बेहोरिसकेको प्रचार पनि भइसकेको छ । यो वर्ष ‘नेपाल भ्रमण वर्ष’का साथ २० लाख विदेशी पर्यटक भिœयाउने हाम्रो चाहना र अभियानमा अकस्मात् तुषारापात भएको छ ।
सन् २००१–२००२ तिर हाम्रो हालत यस्तै थियो । बिस्तारै तङ्ग्रिएर उकालो चढ्दै गर्दा सन् २०१५ को भुइँचालोले फेरि खस्कायो । अनि फेरि जाग्दै र उठ्दै ग¥यौँ । सन् २०१९ सम्ममा आइपुग्दा १२ लाख पर्यटक पु¥याउँदै थियौँ । यतिबेला भने नेपाली पर्यटनले फेरि करिब दुई दशक पछाडि फर्कनुपरेको छ । विकासका ढोकाहरूको निकास थुनिएको छ ।
अबको पर्यटन ‘नयाँ सामान्य पर्यटन’ (न्यु नर्मल टुरिजम), ‘कोरोनापश्चात्को पर्यटन’ (पोस्ट–कोभिड टुरिजम) आदि नामले चिनिनेछ । त्यो ‘नयाँ सामान्य’ र ‘पश्चात्’को अवस्था कुन गतिमा अघि बढ्ला भन्ने कुरा भने स्वयम् विश्व पर्यटन सङ्घले पनि ठोकुवा गरेर भन्न र सुहाउँदो प्रक्षेपण (प्रोजेक्सन) गर्न नसक्ने स्थिति छ । जे–जसरी आर्थिक क्रियाकलाप र पर्यटनको पुनरोत्थान होला, ग्रामीण बासिन्दाका चासो र सरोकार भने सम्बोधन गर्नैपर्ने हुन्छ । गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालका सन्दर्भमा पर्यटन नाराले अझ धेरै वकालत गरिरहेको छ । 
(लेखक पर्यटन विकासका शोधार्थी हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?