logo
२०८० चैत्र १५ बिहीवार



देशभर एक हजार १४७ जना कोरोनामुक्त

मुख्य समाचार |


देशभर एक हजार १४७ जना कोरोनामुक्त


गोरखापत्र समाचारदाता

काठमाडाँैं, असोज ११ गते । शनिबार नेपालमा थप एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार १९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०७ जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार एक हजार ३१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
शनिबार पुष्टि भएको सङ्क्रमणसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७१ हजार ८२१ पुगेको छ तर देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ३४१ मात्र रहेको छ, अन्यलाई निको भइसकेको छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभयो ।
कोरोनाबाट निको हुनेको सङ्ख्या ५३ हजार ३१३ पुगेको छ । देशभरका क्वारेन्टाइनमा छ हजार ३३१ जना र होम क्वारेन्टाइनमा १० हजार ५०८ जना सङ्क्रमित छन् । प्रवक्ता गौतमले काठमाडौँ उपत्यकामा थप ७२४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौँमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यकामा सङ्क्रमितको सङ्ख्या २० हजार ६९८ पुगेको छ ।

थप आठ जनाको मृत्यु
शनिबार नेपालमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४६७ पुगेको छ । सात जिल्लाका आठ जनाको मृत्यु भएको र मृत्यु हुने सबै पुरुष रहेको जनाइएको छ । सप्तरीमा ६३, काठमाडौंँमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल सङ्क्रमितमध्ये मृत्यु हुने शून्य दशमलव ६५ प्रतिशत छ ।
यसैगरी, देशभर हाल २६० जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार २३२ जना आईसीयू र २८ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
आईसीयू र भेन्टिलेटरमा रहने कोरोना सङ्क्रमितको सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ । बागमती प्रदेशमा मात्र १४१ जना आईसीयू र २६ जना सङ्क्रमित अस्पतालको भेन्टिलेटरमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?