logo
२०८१ बैशाख १३ बिहीवार



फेला प-यो ११ नम्बर सीमास्तम्भ

मुख्य समाचार |


फेला प-यो ११ नम्बर सीमास्तम्भ


राजन रावत

सिमकोट, असोज ९ गते । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो ।
चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित छैन । अहिले नाम्खा गाउँपालिका–६, लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले भवन बनाएको कुरा बाहिर आएपछि नेपाली टोली लाप्चा पुगेर फिर्ता आउँदा लिमीका अग्ला पाटनमा खोजी गर्ने क्रममा हराएको सीमास्तम्भ भेटाएको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा लाप्चाबाट सीधै सिमकोट आए पनि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली भने लिमीतर्फ लागेको थियो । सञ्चार सम्पर्कसमेत नहुने उक्त स्थानमा प्रजिअको टोलीले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीलाई हराएको भनिएको सीमास्तम्भ खोजी गर्न पठाएको थियो ।
टोलीले बुधबार बेलुका मात्र सो सीमास्तम्भ भेटाएको अध्यक्ष लामाले बताउनुभयो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको थियो । हिल्सा नाकाभन्दा झन्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । एघार नम्बर सीमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्र (लोलुङजोङ)मा भवनहरू बनाएको भनेर विवाद बाहिर आएको थियो । यद्यपि नेपाल सरकार र चीनले सो भवनहरू चिनियाँ भूमिमै बनाइएको स्पष्ट गरिसकेका छन् ।
हुम्ला जिल्लामा मात्रै १५ वटा सीमास्तम्भ छन् । स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पाँच वर्षअघि २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे खोजी गर्ने कार्यसूची राख्नुुभएको थियो । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो तर खोजी कार्य भने अगाडि बढेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?